काठमाडौं । तिहारमा २५ लाख फूलका माला माग हुने भएको छ । त्यसमा १८ लाख माला सयपत्री र बाँकी गोदावरी र मखमलीका फूलहरुको माला माग हुने गरेको फ्लोरिकल्चर एसोसिएसन (फ्यान) का अध्यक्ष कुमार कसजुले जानकारी दिए ।
यो तिहारा साढे १३ लाख फूल माला कारोबार गरिने अनुमान गरिएको छ । १५ लाख फूल नेपालमै उत्पादन हुने गर्छन् भने अन्य २ लाख फूलका माला आयात हुने गरेको उनले बताए ।
आज एक पत्रकार सम्मेलनमा बोल्दै उनले नेपालमा फूलमा आत्म निर्भरता बढ्दै गएको तर, त्यसमा सरकारले कुनै सहयोग नगरेको बताए ।
यस्तै यो पटक सयपत्री फूलको माला ६० देखि १ सय रुपैयाँसम्म पर्ने अनुमान गरिएको छ । गत वर्ष २२ लाख माला कारोबार भएको कसजुले जानकारी दिए ।
उनले प्रत्येक वर्ष ५ प्रतिशतको दरले आयात दर प्रतिस्थापन हुँदै गएको जानकारी दिए । नेपालमा प्रत्येक दिन २० हजार मालाको माग रहेको छ ।
कात्तिक १ गतेदेखि गोदावरी फूल मेला हुने
फ्यानले कात्तिक १ गतेदेखि ४ गतेसम्म जावलाखेलमा १३ औँ गोदावरी फूल प्रतियोगितात्मक प्रदर्शनी गर्ने भएको छ ।
सधैं सरकारको सहयोगमा प्रदर्शनी गर्दै आएको फ्यानले यो पटक प्रदेश र केन्द्रिय कुनै पनि सरकारको सहयोग बिना नै प्रदर्शनी गर्न लागेको हो ।
‘रोपेर फूल गोदावरी, सजाऔँ घर आँगन वरिपरी’ भन्ने नाराका साथ सो कार्यक्रमलाई सफल पार्न लागिएको हो । जावलाखेलको खेलकुद मैदानमा हुन लागेको सो प्रदर्शनी मेलामा व्यवसायीक स्टल ४४, सूचनामूलक ४ र गोदावरी फूलको प्रतिशपर्धात्मक प्रदर्शनी स्टल सति ४९ वटा प्रदर्शनी कक्ष रहने छन् ।
मेलामा १६ वटा नयाँ प्रजातीका गोदावरी फूल प्रदर्शनी गरिने छ । नेपालभर ४३ जिल्लामा पुष्प खेती विस्तार भइसकेको छ । हाल लगभग १ सय ५७ हेक्टर क्षेत्रफलमा पुष्प व्यवसायीक खेती भइरहेको फ्यानको दाबी रहेको छ ।
मेलामा ३५ हजार भन्दा बढिले प्रत्यक्ष अवलोकन गर्ने र ५० लाखको व्यवसायीक कारोबार हुने अनुमान गरिएको छ । २० लाख लगानीमा आयोजना हुन लागेको मेलामा प्रवेशका लागि टिकटको व्यवस्था गरिएको छ । प्रवेश शुल्क सर्वसाधनलाई ५० र विद्यार्थीलाई ३० रुपैयाँ व्यवस्था गरिएको छ ।
गत आवमा २० करोड ९२ लाख रुपैयाँ बराबरको पुष्प आयात भएको थियो र ४६ लाख रुपैयाँ बराबर पुष्प निर्यात भएको फ्यानले जानकारी दिएको छ ।