Advertisement Section

ब्याजदर घटाउन व्यवसायीको आन्दोलन : बाध्यता कि स्वार्थका लागि ?

Advertisement Section

काठमाडौं । ब्याजदर वृद्धिको विरुद्ध उद्योगी, व्यवसायी सडक प्रदर्शनमै उत्रिएका छन् । बैंकहरूले चर्को ब्याज असुलेर उद्योग व्यवसाय संकटमा परेको भन्दै आन्दोल गर्न थालेका हुन् ।व्यवसायीहरू कात्तिकदेखि लागू भएको चालु पूँजी कर्जा निर्देशिका खारेज, स्थिर ब्याजदर निर्धारण, प्रिमियम तथा स्प्रेडदर घटाउनु पर्ने लगायतका मागहरू राखेका छन् ।

गत असोजमा बैंकहरूले ब्याजदर बढाएपछि असन्तुष्ट उद्योगी व्यवसायीहरूले घटाउन माग गर्दै नेपाल राष्ट्र बैंक, अर्थमन्त्रालय लगायतका निकायहरूमा आफ्ना मागहरू राखेका थिए । तर, सम्बन्धित निकायमा बारम्बार ज्ञापन पत्र बुझाउँदा पनि सुनुवाइ नभएको भन्दै निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघले शुक्रबार काठमाडौंको माइतिघरमा प्रदर्शन गरेको छ ।

यसअघि, सुर्खेत, विराटनगर, वीरगञ्ज लगायतका क्षेत्रहरूमा विभिन्न रुपमा ब्याजदर वृद्धिको विरोध गरेका उद्योगीहरूले माग सम्बोधन नभए देशभर प्रदर्शनमा उत्रिने बताइरहेका छन् । उद्योगीहरूले आफ्ना माग सम्बोधन नभएसम्म आन्दोलन जारी रहने बताएका छन् ।

व्यवसायीले यसअघि पटकपटक अर्थमन्त्री जनार्दन शर्मालाई भेटेर ब्याजदरमा हस्तक्षेप गर्न गुहारे । अर्थमन्त्रीले पनि ठाडै हस्तक्षेप गर्न नमिल्ने भएपछि ब्याजदर सम्बन्धी अध्ययन गर्न एक समिति बनाए । त्यो समितिले ब्याजदरमा हस्तक्षेप गर्न नहुने, ब्याजदर निर्धारण गर्न बजारलाई नै स्वतन्त्र सुझाव दियो । र, अर्थमन्त्रीले कुनै हस्तक्षेप गरेनन् ।

खुला बजार अर्थतन्त्रमा माग र आपूूर्तिको सन्तुलन बजारले नै निर्धारण गर्छ । जब प्र्रणालीमा कर्जाको माग उच्च भएर तरलता अभाव हुन्छ त्यसपछि ब्याजदर स्वतः उकालो लाग्ने र तरलता बढी हुँदा ब्याजदर घट्ने बैंकरहरू बताउँछन् । तर, बैंकहरूले नियम विपरीत प्र्रिमियम बढाएर मनलाग्दी रकम अशुल्ने गरेका छन् ।

गत वर्ष बैंकहरूले ३ अर्ब रुपैयाँ बढी सम्झौता विपरीत ब्याज लिएको राष्ट्र बैंकको भनाइ छ । जुन रकम फिर्ता गर्न बैंकलाई निर्देशन दिइएको राष्ट्र बैंकका अधिकारीहरू बताउँछन् । यस्तै, कर्जाको जोखिमभार कम गर्न ल्याइएको चालु पूँजी कर्जा निर्देशिका पनि कार्यान्वयनमा आएको छ । सो निर्देशिका अनुसार उद्योगीहरूले बैंकबाट पाउने कर्जाको सीमा घटेको छ । जसको विरुद्धमा उनीहरू छन् ।

मूल्यवृद्धि नियन्त्रण र बाह्य दबाब कम गर्न भन्दै राष्ट्र बैंकले ब्याजदर वृद्धिको नीति लिएको छ । अहिले बैंकहरूले निक्षेपको ब्याजदर १५ प्रतिशतसम्म दिइरहेका छन भने कर्जाको ब्याजदर १८ प्रतिशत माथि पुगेको छ ।

उद्योग चल्न सक्ने अवस्था छैन, हाम्रो बाध्यता हो : उपाध्यक्ष श्रेष्ठ

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठ लागत वृद्धिले पूर्ण क्षमतामा चल्नसक्ने कुनै पनि उद्योग नभएको बताउँछन् । ‘उत्पादन घटेको छ । अहिले उद्योगधन्दा क्षमताको ६० प्रतिशतको हाराहारीमा चलेको अवस्था छ भने पूर्ण क्षमतामा कुनै पनि उद्योग चल्न सक्ने अवस्थामा छैनन,’ उनले भने, ‘माग पनि बढेको छैन । यो हाम्रो देशको बिडम्बना हो, धितो राखेर ऋण खोज्दा पाइँदैन त्यसमाथि ब्याजदर वृद्धिले हात उठाउनुपर्ने भइसकेको छ ।’

उत्पादनको लागत वृद्धिमा ब्याजदर वृद्धिको मात्र भूमिका भने छैन । अन्तर्राष्ट्रिय स्तरमा भइरहेको इन्धनको मूल्यवृद्धिले नेपालमा पनि पेट्रोलियम पदार्थको मूल्य बढ्दै गएको छ । जसको प्रभाव ढुुवानी र उत्पादन लागतमा पनि देखियो । यसले उद्यम व्यवसायलाई उत्पादन वृद्धिमा निरुत्साहित बनाएको छ ।

प्रतिकूलता अनुकूलताको खोजी

प्रतिकूल अवस्थामा उद्योगी व्यवसायीहरूले मात्रै अनुकूलता खोज्न नहुने राष्ट्र बैंकका अधिकारी र अर्थविद्हरू बताउँछन् । मूल्यवृद्धि नियन्त्रण र विनिमय संचिति जोगाउन मुस्किल भइरहेकोे अवस्थामा निजी क्षेत्रले पनि बुझ्नु पर्ने एक अर्थविद्ले बताए ।

‘नेपालको अर्थतन्त्रमा देखिएको नकारात्मक असर हाम्रो आन्तरिक कारणले मात्र होइन,रुस र युक्रेन युद्धले इन्धनको अभाव हुँदा विकसित देशहरूले पनि चर्को मूल्यवृद्धि सामना गरिरहेका छन्,’ उनी भन्छन्, ‘यस्तो प्रतिकूल अवस्थामा उद्योगीहरूले पनि केही समय धैर्य गरेर बस्न सक्नुपर्छ । सधैं नाफा मात्रै भन्ने त व्यवसायमा हुँदैन । उद्योगी, व्यवसायी सबैले यहाँ राजनीति गर्नुछ, सरकारले पनि उद्योग व्यवसाय बन्द गर भन्दैन होला ।’

बजेट र मौद्रिक नीति हेर्दा उत्पादनमुखी क्षेत्रमा लगानी बढाएर आत्मनिर्भर अर्थतन्त्र बनाउने तथा निजी क्षेत्रलाई सर्पोट गर्ने नीति नै सरकारले लिएको भन्दै व्यवसायीहरूले बुझ्नु पर्ने उनले बताए ।

ब्याजदर घटाउनुपर्ने भन्दै आन्दोलनमा उत्रिएका व्यवसायीको नियतमा पनि शंका रहेको नेपाल राष्ट्र बैंकका पदाधिकारीहरू नै बताउँछन् । ‘सधैं एउटै अवस्था हुने होइन । १ वर्षअघिसम्म कर्जाकै ब्याजदर एकल अंकमा थियो । त्यसबेला व्यवसायी चुपचाप थिए, राष्ट्र बैंकका एक् अधिकारीले भने, ‘अहिले अलिकति ब्याज बढ्ने बित्तिकै उहाँहरू आन्दोलनमा उत्रिनु भयो । व्यापारमा कहिलेकाहीँ घाटा पनि हुन सक्छ । तर, व्यवसायीमा घाटा खानै हुँदैन भन्ने मानसिकता देखिन्छ । सधैं नाफामात्र खोज्ने उहाँहरूको कस्तो नियत हो ?’

दोहोरो चरित्र

ब्याजदरका निम्ति आन्दोलनमै उत्रनुपर्ने अवस्थामा पुग्नुमा यहाँ नियामक निकाय नेपाल राष्ट्र बैंक र निजी क्षेत्र दुवै जिम्मेवारी छन् । गत वर्ष बैंकहरूले १ प्रतिशत ब्याज बढाउँदैमा ठाडो हस्तक्षेप गरेको राष्ट्र बैंक स्वयम्ले अहिले ब्याजदर बढाउने बाटाले खुलाइदिएको हो ।

अहिलेको ब्याजदर बजारको माग अनुसार नभई नेपाल राष्ट्र बैंकको कच्चा, अदूरदर्शी र मनपरीले बढेको हो । विशेष परिस्थितिमा देशको अर्थतन्त्र जोगाउन राष्ट्र बैंकले नीतिगत हस्तक्षेप गर्नुपर्ने हुन्छ । तर, राष्ट्र बैंकले व्यवहारिकता नहेरी अर्थशास्त्रीय सिद्धान्तका आधारमा मात्र ब्याजदर बढाउन भूमिका खेल्दा अहिलेको अवस्था सृजना भएको हो ।

अर्कोतर्फ, निजी क्षेत्रको दिमागमा पनि सधैं सस्तो ब्याजमा जत्ति पनि ऋण पाउनुपर्छ भन्ने छ । अहिले परिस्थिति अलिकति प्रतिकूल हुँदैमा आन्दोलनमा उत्रिउनुले त्यसको प्रतिबिम्वित गर्छ ।

नेपालको निजी क्षेत्रलाई सधैं नाफामुखी मात्रै बन्न खोज्ने आरोप लाग्दै आएको छ । व्यापार, व्यवसायमा अलिकति समस्या पर्यो कि आफ्नो स्वार्थका लागि आन्दोलनमा उत्रिहाल्छन् भन्ने आरोप लाग्दै आएको छ । चाहे ब्याजदर बढ्दा होस्, चाहे बैंकबाट ऋण नपाउँदा होस् उनीहरू आन्दोलनमा उत्रिहाल्छन् ।

रोचक त के छ भने अहिले ब्याजदर घटाउनुपर्नेभन्दै आन्दोलनमा उत्रिएका व्यवसायीको नेतृत्वमा रहेका व्यक्तिहरू आफै बैंक संचालक समेत छन् । एकातिर आफैं ब्याज बढाउने र अर्कोतर्फ घटाउनुपर्छ भनेर आन्दोलन गर्ने । यो व्यवसायीको द्धैध चरित्र हो । यसले निजी क्षेत्रको नेतृत्व र उनीहरूको चरित्र उदांगो बनाएको छ ।

 

 

कन्याममा संचालनमा आयो ‘स्काई वाक’ टावर, टिकटको मूल्य कति ? Read Previous

कन्याममा संचालनमा आयो ‘स्काई वाक’ टावर, टिकटको मूल्य कति ?

छिमेक लघुवित्तले कमायो ४ वाणिज्य बैंककोभन्दा धेरै नाफा, ईपीएस कति ? Read Next

छिमेक लघुवित्तले कमायो ४ वाणिज्य बैंककोभन्दा धेरै नाफा, ईपीएस कति ?