Advertisement Section

कन्याममा संचालनमा आयो ‘स्काई वाक’ टावर, टिकटको मूल्य कति ?

Advertisement Section

इलाम । प्रदेश नं १ को पर्यटकीय नगरी इलामको सूर्योदय नगरपालिका–७ कन्याममा ‘स्काई वाक’का लागि टावर निर्माण गरिएको छ ।

नयाँ साहसिक पर्यटकीय खेल एवं गन्तव्यको विकास भइरहेको समयमा नेपालमा पहिलोपटक स्काई वाक सुरु भएको बताइएको छ । डेढ वर्षमा निर्माण सकेर कात्तिक १८ गतेदेखि पर्यटकका लागि स्काई टावर खुला गरिएको छ ।

उक्त टावरको शुक्रबार नगरप्रमुख रणबहादुर राईले उद्घाटन गरे । १२ जना महिलाको चार करोड लगानीमा बनेको टावर उद्घाटन गर्दै नगरप्रमुख राईले पर्यटन प्रवद्र्धनका लागि निजी क्षेत्रसँग नगरपालिकाले सहकार्य गर्दै जाने बताए । स्काई टावर तीन स्टेपमा बनेको छ ।

दुईवटा स्टेप चढेर माथि पुगेपछि त्यहाँ पारदर्शी सिसा जडान गरिएको छ । सिसामा उभिँदा आकाशमै उभिएजस्तो महसुस हुने साइट म्यानेजर अर्जुन चौधरीले जानकारी दिए।

टावरबाट पूर्वी नेपालका १६ जिल्ला, कन्याम वरिपरि चिया बगान, हिमाल, रमणीय डाँडाकाँडा, कञ्चनजङ्घा हिमालदेखि दार्जिलिङ सिलिगुढीसम्मका रमाइला दृश्य, सूर्योदय र सूर्यास्त दुवै देख्न सकिनेछ । टावरसँगै स्काई रेस्टुरेन्ट पनि सञ्चालन हुनेछ । दोस्रो चरणमा ‘स्विङ’ पनि तयार हुने परियोजनाका प्रबन्ध निर्देशक सञ्जीव रोकायाले बताए ।

स्काई वाक गर्ने पर्यटकले रु ५०० को टिकट लिनुपर्ने छ । साथै भिडियो खिच्ने, ड्रोनबाट फोटो, भिडियो खिच्ने, सांस्कृतिक पहिरन लगाएर पनि फोटो खिच्न पाइनेछ । टावरमा एकपटक २२ जनासम्म चढ्न सक्ने क्षमता भए पनि आठजनासम्म चढाइनेछ ।

स्काई वाक गर्ने पर्यटकको सुरक्षाका लागि स्विच कभर, चढेका व्यक्तिको सङ्ख्या रेकर्ड राखिने र सुरक्षा गार्ड पनि हुनेछन् । वन्डर्स नेपालको प्राविधिक सहयोगमा बनेको स्काई वाक टावरको परिकल्पना पनि वन्डर्स नेपालले नै गरेको परियोजनाका प्रबन्ध निर्देशक रोकायाले जानकारी दिए । विशेषगरी स्थानीय महिलालाई रोजगारी उपलब्ध गराउने र पर्यटन क्षेत्रमा नयाँ प्रयोग गर्ने उद्देश्यले यो परियोजना विकास गरिएको हो ।

सेफ स्टिल प्रालि, जाल्पादेवी इन्फ्राटेक, वाइटह्याट कन्स्ट्रक्सन र डिजाइन रिपलले स्काई टावर बनाउनका लागि प्राविधिक सहयोग गरेको हो । स्काई वाक टावरको सञ्चालन पनि महिलाले नै गर्नेछन् र त्यहाँ अधिकांश कर्मचारी महिला नै राखिने गरी तालिम दिइसकिएको जनाइएको छ ।

Advertisement Section
अरुण खोला दुम्किबास १३२ केभी सबस्टेशन निर्माण प्रक्रिया सुरू Read Previous

अरुण खोला दुम्किबास १३२ केभी सबस्टेशन निर्माण प्रक्रिया सुरू

ब्याजदर घटाउन व्यवसायीको आन्दोलन : बाध्यता कि स्वार्थका लागि ? Read Next

ब्याजदर घटाउन व्यवसायीको आन्दोलन : बाध्यता कि स्वार्थका लागि ?