नवलपरासी । नवलपरासीपूर्व विनयी त्रिवेणी गाउँपालिकामा सबस्टेशन निर्माणको प्रक्रिया सुरु भएको छ । उक्त गाउँपालिकाको वडानं २ मा निर्माण गरिने अरुण खोला दुम्किबास १३२ केभि सबस्टेशन आयोजनाको लागि जग्गा अधिग्रहणको काम सम्पन्न भएको आयोजना प्रमुख रञ्जननाथ गुरुङले बताए।
सबस्टेशन निर्माणका लागि आवश्यक ४ बिघा जमिनको मुआब्जा वितरणको काम सकिएको उल्लेख गर्दै उनले एसियाली विकास बैंकको सात मिलियन अमेरिकी डलर सहयोगमा दुई वर्षभित्र निर्माण गरिने हुने यस आयोजनाका लागि ठेकेदार कम्पनी छनोट गरी सम्झौताको काम अगाडि बढिसकेको जानकारी गराए ।
हाल बर्दघाटबाट ह्वाङ्सी सिमेन्ट उद्योगसम्म आएको १३२ केभी प्रसारण लाइनमा डबल सर्किटको सबस्टेशन निर्माण गरिनेछ । सबस्टेशन निर्माणपछि मध्यबिन्दु नगरपालिका र उक्त गाउँपालिकाका उपभोक्ताले भोग्नुपरेको भोल्टेजसम्बन्धी समस्या समाधान हुनेछ ।
हाल उक्त नगरपालिकाको गिरुवारी खोलापूर्व क्षेत्रमा प्रगतिनगर सबस्टेशन र पश्चिमतर्फ बर्दघाट सबस्टेशनमार्फत विद्युतीकरण हुँदै आएको छ । अब सबस्टेशन निर्माणपछि गिरुवारी खोला पश्चिमका साथै उक्त नगरपालिका र गाउँपालिकामा सोही स्टेशनबाट विद्युत प्रशारण हुनेछ । हाल यहाँका बासिन्दाले कम भोल्टेजका कारण समय समयमा विद्युत् अवरुद्ध हुने समस्या झेल्दै आएका छन् ।
सबस्टेशन निर्माणले स्थानीय उपभोक्ताले भोग्नुपरेको समस्या सामाधानसँगै स्थानीयस्तरमा लगानीको वातावरणसमेत तयार हुने गाउँपालिकाका अध्यक्ष घनश्याम गिरीले बताए। हाल यस गाउँपालिकामा उद्योग तथा व्यवसाय स्थापनाका लागि आउने व्यवसायीको सङ्ख्या उल्लेखनीय रहेको उनले जानकारी दिए ।
‘गाउँपालिकाभित्र सञ्चालित देशकै ठूलो सिमेन्ट उद्योगसहित यहाँ सञ्चालित अन्य उद्योग त यसै पनि लाभान्वित हुन्छन्,’अध्यक्ष गिरीले भने, ‘नयाँ व्यवसाय गर्न चहाने व्यवसायीलाई पनि आवश्यक पूर्वाधारको उपलब्धता भए लगानीमैत्री वातावरण अवश्य बन्छ ।’