महिला उद्यमी हस्तकला मेला सुरू

काठमाडौं । ‘महिला उद्यमी हस्तकला मेला २०७९’ आजदेखि काठमाडौंको वसन्तपुरमा सुरू भएको छ । कात्तिक १८ गतेदेखि २० गतेसम्म सञ्चालन हुने उक्त मेलाको उद्घाटन वाग्गमती प्रदेश उद्योग तथा वाणिज्यमन्त्री मिलनबाबु श्रेष्ठले गरेका थिए ।

४० वटा बढी स्टलसहित वाग्मती प्रदेशका १३ जिल्लाका उत्पादन गरिएका महिला हस्तकलाहरूलाई यस मेलामा समावेश गरिएको छ ।

मन्त्री श्रेष्ठले हस्तकलाबाटै विदेशी रकम भित्राउन सक्ने र नेपालको अर्थतन्त्रमा योगदान धेरै पुर्याउन सक्ने भन्दै हस्तकला सीप सिकाउनका लागि मन्त्रालयले आफ्नो तर्फबाट सहयोग पुर्याउने बताए । हस्तकलाको निर्यातलाई बढाउँदै जान र देशमै दक्ष सीप भएका जनशक्ति बढाउन समेत प्रदेश मन्त्रालयले योजनाहरू ल्याउने उनले बताए ।

‘१० हजार दक्ष जनशक्ति उत्पादन गर्ने गरी बजेट निकालेका छाैं, वाग्मती प्रदेशको १३ जिल्लालाई हस्तकलामा जनशक्ति बढाउँदै लैजान र यसको निर्यात बढाउन सके हामीले विश्व बजारमा आफ्नो वस्तु पठाएर डलर भित्र्याउन सक्छौं,’ मन्त्री श्रेष्ठले भने ‘हाम्रो अहिले घटिरहेको अर्थतन्त्र बढाउन यसले टेवा पुर्याउने छ ।’

हस्तकला महासंघका अध्यक्ष प्रचण्ड शाक्यले हस्तकलाका सीपमूलक कार्यक्रमहरू वाग्मती प्रदेशको १३ जिल्लामा पुर्याउनका लागि सरकारसँग सहयोगको अपेक्षा रहेको बताएका थिए । उनले यो वर्ष मात्र १२ अर्बको हस्तकला निर्यात भएको बताए । हस्तकला क्षेत्रमा ८ लाख बढि व्यक्तिले रोजगार पाएको उनले जानकारी दिए ।

यस महिला उद्यमी हस्तकला मेलामा महिलाहरूद्धारा उत्पादित रेसा, पस्मिना, ऊनी, सुती, काष्ट लगायतका वस्तुबाट बनेका हस्तकलाहरू प्रदर्शनीमा राखिएको छ ।

यस्तै हस्तकला महासंघले मंसिर २३ गतेदेखि २८ गतेसम्मका लागि हायत होटलमा हस्तकला प्रदर्शनी गर्ने तयारी गरेको छ ।

 

मंसिर १ देखि लाइसेन्सको अनलाइन आवेदन अनिश्चितकालीन बन्द Read Previous

मंसिर १ देखि लाइसेन्सको अनलाइन आवेदन अनिश्चितकालीन बन्द

अरुण खोला दुम्किबास १३२ केभी सबस्टेशन निर्माण प्रक्रिया सुरू Read Next

अरुण खोला दुम्किबास १३२ केभी सबस्टेशन निर्माण प्रक्रिया सुरू