काठमाडौं । बैंकले थेग्नै नसक्ने गरी ब्याजदर बढाएको भन्दै उद्योगी, व्यवसायी सडक आन्दोलनमा उत्रिएका छन् । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्षहरु दिनेश श्रेष्ठ, अन्जन श्रेष्ठ लगायतको अगुवाइमा व्यवसायीहरु आज माइतघरमा प्रदर्शन गरेका हुन् ।
महासंघ अन्तर्गतका अन्य संघ, संगठनहरु पनि आन्दोलनमा सहभागी छन् । कोरोनाले शिथिल व्यवसाय तंग्रिँदै गरेको अवस्थामा बैंकहरुले मनलाग्दी ब्याज बढाएर व्यवसाय नै ठप्प पार्नुपर्ने अवस्था आएको भन्दै उनीहरु आन्दोलनमा उत्रिएका हुन् ।
महासंघका साथै अन्य व्यवसायिक संगठनको नेतृत्वले नेपाल राष्ट्र बैंकका गभर्नर, अर्थमन्त्री लगायत सरोकारवालालाई भेटेर ब्याजदर घटाउन माग गरे पनि त्यसको सुनुवाइ नभएको भन्दै उनीहरु सडकमा उत्रिएका हुन् ।
यसअघि व्यवसायीहरुले पूर्वको विराटनगर, इटहरी लगायत स्थानबाट ब्याजदर विरुद्धमा आन्दोलन थालेका थिए । सोही आन्दोलनको अहिले काठमाडौंमा चर्किन थालेको हो ।
नेपाल राष्ट्र बैंकले चालु आवको मौद्रिक नीतिमार्फत नीतिगत बैंकदरहरु परिवर्तन गर्दै ब्याजदर बढाउन प्रोत्साहन गरेको थियो । राष्ट्र बैंकको व्यवस्था अनुसार बैंकहरुले असोजदेखि निक्षेपको ब्याजदर बढाएका थिए । हाल निक्षेपकै ब्याजदर १५ प्रतिशतसम्म पुगेको छ भने कर्जाको ब्याजदर १८ प्रतिशत नाघेको छ ।
अर्थतन्त्रमा आन्तरिक र बाह्य कारणले असर पारिरहेकाले तरलता व्यवस्थापनमा समस्या, ब्याजदरमा स्थायित्व, बाह्य क्षेत्र व्यवस्थापन र मूल्य स्थिरताका लागि राष्ट्र बैंकले पहल गर्नुपर्ने उद्योगी व्यवसायीको माग छ ।
त्यस्तै चालू पूँजी निर्देशिकामा भएको संशोधन कार्यान्वयन गर्न नहुने, कर्जाको साँवाब्याज भुक्तानीका लागि थप समय पाउनुपर्ने, कर्जा(निक्षेप अनुपात (सीडी रेसियो) संशोधनबारे विस्तृत अध्ययन गर्नुपर्ने, पूँजीगत खर्च बढाउन पहल गर्नुपर्ने, स्थानीय तहको निक्षेपलाई शतप्रतिशत गणना गर्न पाउनुपर्ने लगायतमा माग उद्योगी व्यवसायीले राख्दै आएका छन् ।