काठमाडौं । नेपाल राष्ट्र बैंकले ऋणीसँग नियम विपरित प्रिमियम लिने बैंकहरूलाई रकम फिर्ता गर्न निर्देशन दिएको छ । ऋणीहरूले गरेको उजुरीका आधारमा राष्ट्र बैंकले बढी प्रिमियम असुल्ने बैंकहरूलाई फिर्ता गर्न भनेको हो ।
बैंकहरुले ऋणीबाट कर्जा सम्झौता विपरित प्रिमियम बढाएर ब्याज लिएको पाइएपछि राष्ट्र बैंकले यसअघिनै अनुसन्धान गरिरहेको बताएको थियो । गत आर्थिक वर्षमा बैंकहरुले आफू खुसी बढाएको प्रिमियम रकम साढे ३ अर्ब रुपैयाँ रहेको राष्ट्र बैंकका अधिकारीहरु बताउँछन् । बैंकले असुलेको अतिरिक्त उक्त ब्याज मध्ये तत्काल २ अर्ब रकम फिर्ता गर्न बैंकहरुलाई लिखित निर्देशन दिइएको राष्ट्र बैंक स्रोतले जनाएको छ ।
बैंंकहरुले ऋणीसँग कर्जा सम्झौता गरेपछि औषत आधारदरमा आएको परिवर्तनका आधारमा मात्र ब्याज बढाउन पाउछन् । तर, सम्झौता विपरित कर्जाको प्रिमियम बढाएर चर्को ब्याज लिएको पाइएपछि राष्ट्र बैंकले फिर्ता गर्ननिर्देशन निर्देशन दिएको छ ।
बैकहरुले कर्जा लगानी गर्दा कति प्रिमियम लिन पाउने भन्ने व्यवस्था गरेको छैन् । यद्यपी, बैंकहरुले आधारदरमा ७/८ प्रतिशतसम्म प्रिमियम लिदैआएका छन् । तर, स्वीकृति भएको कर्जामा भने बैंकले प्रिमियम बढाउन नपाउने व्यवस्था छ ।
गत वर्षदेखि तरलता समस्या भोग्दै आएका बैंकहरुले उल्लेख्य कर्जा बढाउन नसकेपनि ब्याज वृद्धिले नाफा बढाएका छन् । पछिल्लो समय ब्याजदर उकालो लाग्नेक्रम बढेको छ । उद्योगी, व्यवसायीहरु ब्याजदर वृद्धिको आलोचना गर्दा बैंकहरुले भने ऋणीलाई थाहै नदिई प्रिमियम बढाएर चर्को ब्याज असुल्ने गरेको नियमकीय अनुसन्धानले नै देखाएको छ ।