रास्वपाको ‘वाचापत्र’ : चितवनलाई आर्थिक राजधानी बनाउने, ३१ वर्षमा गरिबी उन्मूलन (पूर्णपाठसहित)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । पार्टी सभापति रवि लामिछानलेसहित नेताहरूले बिहीबार बिहान नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजित कार्यक्रममा ‘वाचापत्र’ सार्वजनिक गरेका हुन् ।

घोषणा पत्रमा आगामी ३० वर्ष अर्थात् वि.सं. २११० सम्ममा नेपालबाट गरिबी उन्मूलन गर्ने जनाएको छ । त्यस्तै आगामी वि.सं. २११० सम्म कुनै पनि नेपाली रोजगारीका लागि विदेश जान नपर्ने पनि रास्वपाले वाचा गरेको छ ।

नेपालको संविधानमा लिपिबद्ध ‘समाजवादप्रति प्रतिबद्धता’ लाई ध्यानमा राखेर वि.सं. २११० सम्म नेपालमा समाजवादको आधार तय गरिने पनि रास्वपाको प्रतिबद्धता छ । त्यस्तै नेपाल विश्वमै न्यून भ्रष्टाचार हुने मुलुकमा पर्ने वाचापत्रमा उल्लेख छ ।

त्यस्तै स्वतन्त्र पार्टीले पाँच वर्षभित्र वैदेशिक लगानीलाई कम्तीमा १५ गुणाले वृद्धि गर्ने प्रतिबद्धता जनाएको छ । ‘विश्व बैंक व्यवसायका लागि सहजता सूचकांकमा व्यापक सुधार गरी प्रत्यक्ष वैदेशिक लगानीलाई वर्गीकरण गरी, प्राथमिकताका क्षेत्रमा आउने वैदेशिक लगानीलाई एकद्वार प्रणाली अन्तर्गत ल्याइनेछ । पाँच वर्षभित्र वैदेशिक लगानीलाई कम्तीमा १५ गुणाले वृद्धि गरिनेछ,’ घोषणापत्रमा भनिएको छ ।

स्वतन्त्र पार्टीले ‘वडा एक व्यवसाय अनेक’ योजना पनि अघि सार्ने जनाएको छ । ‘वडा एक व्यवसाय अनेक योजना अन्तर्गत लघु, साना तथा मझौला व्यवसाय स्थापनामा सहजीकरणका लागि हरेक वडामा एकद्वार प्रणाली स्थापना गरिनेछ ।

यस्तो एकद्वार प्रणालीले ४८ घण्टाभित्र व्यवसाय निःशुल्क दर्ता गर्नेदेखि व्यवसायका विभिन्न आयाममा सहयोग गर्ने व्यवसाय कोरल्ने केन्द्रसँग व्यवसायीलाई प्रत्यक्ष जोड्नेछ । पहिलो चरणमा हरेक प्रदेशमा न्यूनतम दुईवटा व्यवसाय कोरल्ने केन्द्र स्थापना गरिनेछ,’ वाचापत्रमा भनिएको छ ।

यस्तै, पार्टीले चितवनलाई आर्थिक राजधानी बनाउने वाचा गरेको छ । पार्टी सभापति लामिछाने चितवन २ बाट उमेदवार उठेकाले चितवनलाई विशेष प्राथमिकतामा राखेको छ । ‘चितवनलाई नेपालको आर्थिक राजधानी बनाउन चाहिने कानुनी प्रावधान, लगानी, जनशक्ति,ऊर्जा आदि विभिन्न पक्षहरूलाई उच्च प्राथमिकता दिई काम गरिन्छ,’ वाचापत्रमा भनिएको छ ।

त्यस्तै, चितवनमा २५० मेगावाटको सैर्य ऊर्जा प्लान्ट स्थापना गरिने, हरित नारायणी करिडोर स्थापना तथा कर्पोरेट हेडक्वार्टर चितवन राख्ने संस्थालाई विशेष सहुलियत दिने रास्वपाले जनाएको छ ।

 

मनलाग्दी बढाएको ब्याज फिर्ता गर्न बैंकहरूलाई राष्ट्र बैंकको निर्देशन Read Previous

मनलाग्दी बढाएको ब्याज फिर्ता गर्न बैंकहरूलाई राष्ट्र बैंकको निर्देशन

नेप्सेमा दोहोरो अंकको करेक्शन, यी हुन् धेरै मूल्य घट्ने कम्पनी Read Next

नेप्सेमा दोहोरो अंकको करेक्शन, यी हुन् धेरै मूल्य घट्ने कम्पनी