भायानेट कम्युनिकेसनले आइपीओ ल्याउँदै

काठमाडौं । इन्टरनेट तथा टीभी सेवा प्रदायक कम्पनी भायानेट कम्युनिकेशन लिमिटेडले निकट भविष्यमै प्राथमिक साधरण सेयर (आइपीओ) जारी गर्ने भएको छ ।

आइपीओ जारी गर्नका लागि कम्पनीले साविकको भायानेट कम्युनिकेशन प्रालि नाम परिवर्तन गरेर भायानेट कम्युनिकेसन लिमिटेड बनाएको छ ।

सन् १९९९ मा निजी इन्टरनेट सेवा प्रदायकको रूपमा स्थापित भायानेट देशको सञ्चार तथा प्रविधि क्षेत्रमा आफ्नो इनोभेटिभ प्रयासहरूको लागि परिचित छ।

सन् २०११ मा भायानेटले पहिलो चोटी फाइबर टू द होम भनेर चिनिने फाइबर अप्टिक्स इन्टरनेटको सुरुवात गरेर नेपाललाई इन्टरनेटको नयाँ युगमा प्रवेश गर्न मद्दत गर्यो। सुस्त गतिको इन्टरनेटबाट आजित ग्राहकहरूका लागि कम्पनीले डेडीकेटेड र द्रुत गतिको इन्टरनेट प्रदान गरेर व्यक्ति तथा संस्थाहरूका लागि विभिन्न अवसरहरू खोलेको थियो।

त्यस्तै, सन् २०१६ मा कम्पनीले नेपालमै पहिलो आइपीटीभी सेवाहरू मध्ये एक ल्याएर आफ्नो इनोभेटिभ कम्पनीको परिचयलाई थप सुदृढ बनायो। आईपीटीभी सेवाको सुरुवातले मुख्यतया केबल टेलिभिजनको प्रभुत्व रहेको समयमा ग्राहकलाई आधुनिक र उत्कृष्ट विकल्प प्रदान गर्‍यो।

भायाटीभीले पज एन्ड प्ले, भिडियो अन डिमान्ड, क्याच(अप टीभी जस्ता सुविधा तथा सेवाहरू मार्फत नेपाली टेलीभिजनका ग्राहकहरूको मन जित्न सफल भयो। कम्पनीले नेपालमा रहेका आफ्ना सबै ग्राहकहरूलाई सर्वोत्तम मूल्यमा उत्कृष्ट डिजिटल अनुभव प्रदान गर्न आफ्ना सेवाहरूलाई निरन्तर रूपमा अपग्रेड गर्दै आएको छ।

उपत्यका र सहर क्षेत्रमा बलियो रुपमा स्थापित भई सकेको कम्पनी अहिले देशैभर आफ्नो सेवा विस्तारको चरणमा छ। भायानेट आजको दिनमा देशका ३० सहरमा विस्तारित भइसकेको छ। आगामी दिनहरूमा कम्पनीले अझ धेरै सहर तथा गाउँमा आफ्नो सेवा विस्तार गरी धेरै भन्दा धेरै ग्राहकहरूलाई सेवा प्रदान गर्ने विश्वास लिएको छ।

नेपालमा अग्रणी इन्टरनेट र आइपीटीभी सेवा प्रदायकको रूपमा कम्पनीले व्यक्तिगत र व्यावसायिक उपयोगका लागि विभिन्न डिजिटल सेवाहरू प्रदान गर्दै आएको छ।

कम्पनीको हालको नाम परिवर्तन, सार्वजनिक जाने तयारी र कम्पनीको द्रुत विस्तारले कम्पनीको लामो र ग्राहकप्रति समर्पित प्रयासहरूलाई देखाउँछ। बैंकिङ र वित्त क्षेत्र बाहिर सार्वजनिक रूपमा कारोबार गर्ने कम्पनीहरूको अभाव रहेको बजारमा यो समाचार लगानी कर्ताको लागि आकर्षक बन्न सक्छ। संचारको पूर्वाधार रहेको क्षेत्रमा आफ्नो नाम बनाएको भायानेट फाइदामा चलिरहेको कम्पनीको हो।

यसको लामो र उल्लेखनीय इतिहास, विकासको वर्तमान चरण र यसको इनोभेसन प्रतिको निरन्तर विश्वास र लगानी सकारात्मक र सबल पक्ष हुन।

मोटरसाइकल आयातको ६ दशकपछि 'उत्पादन युग'मा प्रवेश गर्दै नेपाल Read Previous

मोटरसाइकल आयातको ६ दशकपछि 'उत्पादन युग'मा प्रवेश गर्दै नेपाल

मनलाग्दी बढाएको ब्याज फिर्ता गर्न बैंकहरूलाई राष्ट्र बैंकको निर्देशन Read Next

मनलाग्दी बढाएको ब्याज फिर्ता गर्न बैंकहरूलाई राष्ट्र बैंकको निर्देशन