काठमाडौं । नेपाल दुईपाङ्ग्रे सवारीसाधन उत्पादनको युगमा प्रवेश गरेको छ । नेपालमा आधिकारिक रूपमा मोटरसाइकल आयात भएर विक्री सुरू भएको करिब ६० वर्षपछि उत्पादनको माहोल सृजना भएको हो ।
विशेषतः सरकारले मोटरसाइकल आयातमा प्रतिबन्ध लगाएसँगै नेपालमै उत्पादनको ढोका खुलेको हो । यसअघि बजाज र टीभीएसले मात्रै नेपालमा दुई पाङ्ग्रे सवारीसाधन एसेम्बल गर्दै आएका थिए । सरकारले १५० सीसी माथिका तयारी मोटरसाइकल आयातमा प्रतिबन्ध लगाउँदा एसेम्बल गर्न ल्याउने कुनै पनि क्षमताका साधनमा प्रतिबन्ध लगाएको छैन । त्यसैले अधिकांश कम्पनीलाई एसेम्बल यूनिट स्थापना गर्न बाध्य पारेको हो ।
यामाहा मोटरसाइकलको लागि नेपालको आधिकारिक विक्रेता कम्पनी एमडब्ल्यू इन्टरप्राइजेजले नवलपरासीको रामग्राममा प्लान्ट स्थापनाको काम अन्तिम चरणमा पुर्याएको छ । कम्पनी स्रोतका अनुसार सन् २०२३ को पहिलो क्वाटरबाट मोटरसाइकल तथा स्कुटर एसेम्बल सुरू हुनेछ ।
कम्पनीले जनवरीदेखि परीक्षण उत्पादन थाल्ने जानकारी दिएको छ । नेपालमा एसेम्बल गरिएका साधन लामो परीक्षणपछि मात्रै बजारमा पठाउने कम्पनीको भनाइ छ ।
त्यस्तै, हिरो मोटरसाइकलको नेपालका लागि आधिकारिक विक्रेता नेपाल जनरल मार्केटिङ (एनजीएम) हिरोले बाराको परवानीपुरमा प्लान्ट निर्माण गरिरहेको छ । ज्योति ग्रुप अन्तर्गतको यो कम्पनीले प्लान्ट निर्माणको ५० प्रतिशतभन्दा माथि काम सकेको जनाएको छ ।
प्लान्ट स्थापनाको काम ५० प्रतिशतभन्दा माथि पुगेको र छिट्टै नै हिरोका सबै मोटरसाइकल नेपालमै एसेम्बल गर्ने योजना रहेको कम्पनी स्रोतको भनाइ छ ।
त्यस्तै, नेपाली बजारमा सुजुकी मोटरसाइकलको विक्रेता कम्पनी भीजी सुजुकीले पनि वीरगंजमा एसेम्बल प्लान्ट बनाइरहेको छ । अहिले तीव्र गतिमा काम अगाडि बढेको र सन् २०२३ को अन्तिमसम्ममा सबै मोडल नेपाल एसेम्बल गर्न सकिने कम्पनीको भनाइ छ ।
सरकारले नेपालमा नै मोटरसाइकल उत्पादन गर्नेलाई अन्तःशुल्कमा २५ प्रतिशत छुट र भन्सारमा एक तहको फरक बनाएको कारण सबैले नेपालमै एसेम्बलको तयारी गरेका हुन् ।
नेपालमै धेरै दुईपाङ्ग्रे सवारीसाधन विक्री गर्ने होन्डाको आधिकारिक विक्रेता स्याकार ट्रेडिङले पनि नवलपरासीमा नै एसेम्बल यूनिट स्थापनाको काम अगाडि बढाएको छ । बिग बाइक मात्रै विक्री गर्दै आएको रोयल इनफिल्डको आधिकारिक विक्रेता अल्फा अटोमोटिभ्सले पनि एसेम्बल प्लान्ट स्थापनाको काम अगाडि बढाएको छ ।
हुलास अटो क्राफ्टले विगत ७ वर्षदेखि एसेम्बेल गर्दै आएको छ भने टीभीएसले गत वर्षदेखि नेपालमा नै एसेम्बल सुरू गरेको हो ।
सहायक उद्योगको सम्भावना बढ्दै
विगत ७ वर्षदेखि एसेम्बल उद्योग चलाउँदै आएका हुलास अटो क्राफ्टका प्रबन्ध निर्देशक शेखर गोल्छा अब अन्य उद्योग खुल्ने सम्भावना बढेको बताउँछन् । उनी भन्छन्, ‘पहिला सबै कुरा बाहिरबाट ल्याउनु पर्ने अवस्था थियो । अव सबैले नेपालमा एसेम्बल सुरू गर्ने भएपछि अन्तर्राष्ट्रिय उत्पादकको आँखा पनि नेपालमा पर्छ । र, चाँडै अन्य उद्योग खुल्छन् ।’
गोल्छाको भनाइ अनुसार अब नेपालमा टायर, वायर, प्लाष्टीकमा पार्टस्, मेटल पार्टस्, एयर फिल्टर, लाइट, सिट जस्ता वस्तु उत्पादन गर्ने उद्योगहरू खुल्नेछन् ।