एनआइसी एशिया बैंकको सीईओमा पुनः न्यौपाने नियुक्त

काठमाडौं । एनआइसी एशिया बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा पुनः रोशनकुमार न्यौपाने नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको कात्तिक १६ गते बसेको ५७३ औं बैंठकले न्यौपानेलाई पुनः सीईओमा नियुक्त गरेको हो ।

हाल बैंकको सीईओकोे रुपमा कार्यरत रहेका न्यौपानेलाई आगामी मंसिर १५ गतेदेखि लागू हुनेगरी थप ४ वर्षको अवधिको लागि पुर्ननियुक्त गर्ने निर्णय गरेको छ ।

सन् २००८ अप्रिलदेखि तत्कालिन बैैंक अफ एशिया नेपाल लिमिटेडमा २८ वर्षको उमेरमा आन्तरिक लेखा परीक्षण विभागको इन्चार्जको जिम्मेवारीबाट बैंकको सेवामा जोडिएका न्यौपाने प्रमुख जोखिम अधिकृत हुँदै सन् २०१८ मा सहायक प्रमुख कार्यकारी अधिकृत भएका थिए ।

सहायक प्रमुख कार्यकारी अधिकृत हुँदै निमित्त प्रमुख कार्यकारी अधिकृतको रुपमा बैंकको नेतृत्व सम्हालेपछिको छोटो अवधिमा नै बैंकले विविध सूचांकहरुमा उत्साहजनक व्यावसायिक उचाइ हासिल गरेपछि उनलाई २०७५ मंसिर १६ गतेदेखि लागू हुने गरी ४ वर्षको लागि प्रमुख सीईओमा नियुक्त गरेको थियो ।

३८ वर्षको उमेरमा नै नेपालको अग्रणी वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा नियुक्त भएपछि उनी मुलुकको सबैभन्दा ‘कान्छो सीईओ’ को रुपमा समेत चर्चित भए । रसुवास्थायी घर भई हाल काठमाडौं बुढानीलकण्ठ बस्ने ४२ वर्षीय न्यौपानेले उदाहरणीय क्षमता प्रदर्शन गर्दै आफ्नो करियरको छोटो अवधिमा नै अत्यन्त सफल प्रमुख कार्यकारी अधिकृतको रुपमा बैंकिङ्ग क्षेत्रमा उदयमान भएका हुन् ।

उनले बैंकको नेतृत्वदायी भूमिकामा आएपछि उदाहरणीय लगन, परिश्रम, दृढता, संकल्प, दक्षता र दृढ अठोट प्रदर्शन गर्दै गर्दा बैंक अधिकांश वित्तीय सूचकांकहरुमा पहिलो नम्बरमा पुगेको छ ।

सहायक प्रमुख कार्यकारी अधिकृतको रुपमा नियुक्त भएपछि उनको नेतृत्वमा बैंकलाई मध्यम स्तरको बैंकबाट उच्च स्थानको बैंकमा पुर्याउने गरी सन् २०१४ मा पञ्चवर्षीय एकीकृत रणनीतिक योजना ‘रणनीति २०२०’ (स्ट्राटेजी २०२०) तयार गरी बैंकले आव सन् २०१९/२० सम्ममा कर्जा, निक्षेप, सेवाग्राही संख्या, खुद मुनाफा, प्रतिशेयर आम्दानी, स्व–पूँजीमा प्रतिफल, शाखा सञ्जाल लगायतका अधिकांश वित्तीय तथा गैर वित्तीय परिसूचकहरुमा बैंकिङ्ग क्षेत्रकै उत्कृष्ट बन्न सफल भएको थियो ।

न्यौपानेले बैंकको नेतृत्व सम्हालेपछि आफ्नो प्रथम कार्यकाल पूर्णरुपमा सफल बनाउँदै बैंकले अधिकांश सूचकहरुमा अग्रणी स्थान हासिल गर्न सफल भएको छ । बैंकले चालु आव २०७९/८० को प्रथम त्रैमासमा खुद नाफा, ग्राहक संख्या, स्व–पूँजीमा प्रतिफल, प्रतिशेयर आम्दानी, शाखा कार्यालयहरु, एटीएम, विस्तारित काउन्टर लगायतका सूचकमा नम्बर एक स्थान हासिल गर्न सफल भएको छ ।

चालु आवको पहिलो त्रैमासमा खुद मुनाफातर्फ रू. १.७५ अर्ब आर्जन गर्दै सबैभन्दा धेरै खुद मुनाफा आर्जन गर्ने वाणिज्य बैंक बन्न सफल भएको छ । जुन मुनाफा वार्षिक विन्दुगत आधारमा ४९ प्रतिशतको वृद्धि हो । त्यसैगरी स्व–पूँजीमा प्रतिफल २६.५५ प्रतिशत र वार्षिक प्रतिसेयर आम्दानी रू. ५९.६२ आर्जन गर्न बैंक सफल भएको छ, जुन २६ वटै वाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी हो ।

चालु आ.व. २०७९/८० को प्रथम त्रैमाससम्ममा कर्जा व्यवसायतर्फ कुल कर्जा रकम रू.२७३.१० अर्ब र निक्षेपतर्फ कुल निक्षेप संकलन रू. ३०८.१८ अर्ब पुर्याउन सफल भएको छ ।

अमेरिका र स्वीट्जरल्याण्डसँग हवाई सम्झौता गर्न सैद्धान्तिक स्वीकृति Read Previous

अमेरिका र स्वीट्जरल्याण्डसँग हवाई सम्झौता गर्न सैद्धान्तिक स्वीकृति

युनिलिभरले घोषणा गर्‍यो ५ वर्ष यताकै धेरै लाभांश Read Next

युनिलिभरले घोषणा गर्‍यो ५ वर्ष यताकै धेरै लाभांश