अमेरिका र स्वीट्जरल्याण्डसँग हवाई सम्झौता गर्न सैद्धान्तिक स्वीकृति

काठमाडौं । नेपाल सरकारले अमेरिका र स्वीट्जरल्याण्ड दुईतर्फी हवाई उडान सम्झौता गर्न सैद्धान्तिक स्वीकृति दिएको छ ।

करिब तीन महिना अगाडि अमेरिका र स्वीट्जरल्यान्डबीच दुईपक्षीय सीधा उडान प्रक्रिया सुरु गर्ने प्रारम्भिक सम्झौता भएपछि सरकारले थप प्रक्रिया अघि बढाउन स्वीकृति दिएको हो ।

यसका लागि अमेरिकाको फेडरल एभिएसन एडमिनिस्ट्रेसनले दुईतर्फी उडान सम्झौताका लागि प्रारम्भिक पत्राचार गरेको बताइएको छ । मन्त्रिपरिषद्बाट स्वीकृति पाएसँगै यी दुई देशसँगको हवाई उडान सम्झौता प्रक्रिया सुरु गर्ने तयारी भइसकेको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए ।

उनका अनुसार अमेरिका र स्वीट्जरल्याण्डले दुईतर्फी सीधा उडान गर्न चासो देखाएसँगै पर्यटन मन्त्रालयले नागरिक उड्डयन प्राधिकरणसँगको समन्वयमा आवश्यक प्रक्रिया थाल्दै मन्त्रिपरिषद्मा प्रस्ताव लगेको थियो ।

यसअघि नेपाल वायुसेवा निगमले बोइङ दोहा ट्रान्जिट हुँदै नेपाल–स्वीट्जरल्याण्ड उडान गरेको थियो । यसैगरी सरकारले इन्डोनेसिया र रुवान्डासँगको प्रक्रिया पनि अगाडि बढाएको बताइएको छ । अफ्रिकी मुलुक रुवान्डाले परराष्ट्र मन्त्रालयमार्फत दुईपक्षीय उडान सम्झौताका लागि प्रस्ताव पेस गरेको प्राधिकरणले जनाएको छ ।

विश्व उड्डयन सुरक्षा मापदण्डअनुसार ७० प्रतिशतभन्दा बढी कायम भइसकेका कारण यी मुलुकतर्फ दुईतर्फी उडानका लागि कुनै असर नपर्ने प्राधिकरणको दाबी छ ।

यी मुलुकसँग दुईतर्फी हवाई सम्झौता भएसँगै नेपालका तर्फबाट नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्सले सीधा उडान गर्नसक्ने जनाइएको छ । हाल नेपालमा टर्किस, कतार एयरवेज, सिङ्गापुर, थाइलगायत विभिन्न अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले विभिन्न ट्रान्जिट हुँदै नेपाल–अमेरिका उडान सेवा दिँदै आएका छन् ।

नागरिक उड्डयन प्राधिकरणका अनुसार हाल नेपालले कुल ४० वटा मुलुकसँग दुईतर्फी सीधा उडानको सम्झौता गरिसकेको र ४० मध्ये २० वटा गन्तव्यमा नियमित व्यावसायिक उडान हुँदै आएको छ ।

नेपाल लाइफको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन Read Previous

नेपाल लाइफको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन

एनआइसी एशिया बैंकको सीईओमा पुनः न्यौपाने नियुक्त Read Next

एनआइसी एशिया बैंकको सीईओमा पुनः न्यौपाने नियुक्त