काठमाडौं । असोज महिनामा वाणिज्य बैंकहरूको निक्षेप संकलनमा सुधार आएको छ । चरम तरलता अभाव झेलिरहेका वाणिज्य बैंकहरूले असोजमा ६१ अर्ब ६४ करोड निक्षेप बढाउन सफल भएका हुन् ।
नेपाल बैंकर्स संघका अनुसार भदौ मसान्तमा ४४ खर्ब ८५ अर्ब रुपैयाँ रहेको बैंकहरूको निक्षेप असोज मसान्त आइपुग्दा बढेर ४५ खर्ब ८५ अर्ब रुपैयाँ पुगेको छ ।
असोजमा २६ वटा वाणिज्य बैंकहरू मध्ये २१ बैंकको निक्षेप बढेको छ भने ५ वटाको मात्र निक्षेप घटेको छ । असोजमा एनआइशी एशिया, एनएमबी, कुमारी, एभरेष्ट रसराइज बैंकको निक्षेप घटेको । जसमा सबैभन्दा धेरै सनराइजको बैंकको २ अर्ब ८६ करोड रुपैयाँ घटेको छ ।
असोजमा सबैभन्दा धेरै निक्षेप संकलन नबिल बैंकले गरेको छ । यस बैंकले नबिलले ७ अर्ब ९७ करोड निक्षेप बढाउन सफल भएको छ । असोजमा निक्षेप संकलनमा नेपाल इन्भेष्टमेन्ट बैंक पनि आक्रमक भएको छ । यसले पनि ७ अर्ब २० करोड निक्षेप संकलन गरेको छ ।
निक्षेप संकलनमा सुधार आएसँगै बैंकहरूकाे कर्जा लगानीमा पनि सुधार आउन थालेको छ । भदौमा जम्मा १३ अर्ब ७५ करोड रुपैयाँ कर्जा विस्तार गरेका बैंकहरूले असोजमा ३० अर्ब ४ करोड कर्जा लगानी गरेका छन् । साउनमा१ अर्ब ६९ करोड रुपैयाँ मात्र कर्जा लगानी गरेका थिए ।
भदौ मसान्तसम्म कुल ४१ अर्ब ९० अर्ब रुपैयाँ रहेको वाणिज्य बैंकहरूको कर्जा भदौ मसान्तमा ४२ खर्ब २० अर्ब रुपैयाँ पुगेको छ । असोजमा २० बैंकले कर्जा लगानी बढाउन सफल भएका छन् भने ६ बैंकको घटेको छ ।
असोजमा सबैभन्दा धेरै कर्जा लगानी नेपाल इन्भेष्टमेन्ट बैंकले गरेको छ । इन्भेष्टमेन्टले ३ अर्ब ७९ करोड कर्जा विस्तार गरेको छ । त्यस्तै, असोजमा लक्ष्मी बैंकको कर्जा सबैभन्दा धेरै ९७ करोडले घटेको छ ।