काठमाडौं । फ्लोरिकल्चर एशोसिएसन नेपालले गोदावरी फूलको १५ औं प्रतियोगितात्मक प्रदर्शनी २०७९ गर्ने भएको छ । ‘रोपेर फूल गोदावरी, सजाऔँ घर आँगन वरिपरी’ भन्ने नाराका साथ कार्तिक ३ देखि ६ गतेसम्म जावलाखेलको खेल मैदानमा हुने भएको हो ।
मेलाका संयोजक सिताराम पन्तले फूलको सहज उपलब्धता गराउन तथा गोदावरी फूलको व्यवसायीक प्रबद्र्धन गर्ने उद्देश्यका साथ प्रदर्शनी आयोजना गर्न लागिएको बताए । तिहार तथा छठ पर्वलाई लक्षित गरी गोदावरी फूलको प्रदर्शनीको आयोजना गर्न लागेको उनले जानकारी दिए ।
प्रदर्शनीमा व्यवसायिक स्टल ४९ प्रतियोगितात्मक स्टल २ र सूचनामूलक ४ गरि जम्मा ५५ वटा प्रदर्शनी कक्षहरू रहने पन्तले जानकारी दिए ।
हरेक वर्ष तिहारमा २० लाख सयपत्री, मखमली ३ लाख र गोदावरीको २५ हजारसम्मको मालाहरू खपत हुने गरेको फ्लोरिकल्चर एशोसिएसन नेपालका अध्यक्ष मीनबहादुर तामाङले बताए ।
नेपाल ९० देखि ९१ प्रतिशत फूलमा आत्मनिर्भर भएको तामाङले बताए । उनका अनुसार विश्व महामारीको रुपमा फैलिएको कोभिड १९ का कारणले फूल उत्पादन घटेको थियो । तर अहिले १० देखि २० प्रतिशत फूलको माग बढ्नुका साथै उत्पादन पनि बढेको छ ।
‘नेपालमा विशेषगरी फूलहरू तिहार र प्रेम सप्ताहामा बढी माग रहेको छ । बाँकी महिनाहरूमा त्यति धेरै माग नभएकाले र हाम्रो बजार सानो भएकाले उत्पादकहरू घाटामा जाने सम्भावना बढी छ ,’ तामाङले भने ।
नेपालमा फूल उत्पादनमा प्रयोग हुने मल, बीउ र औजारहरू भारतबाट आयात हुन्छ । यस्तो अवस्थामा उत्पादन भएको फूलले भारतले उत्पादन गरेको फूलसँग प्रतिस्पर्धा गर्न नसक्ने उनले बताए ।उनले सरकारसँग बारम्बार आयात कर बढाउन आग्रह गर्दा समेत त्यो सम्बोधन नभएको बताए ।
गोदावरी फूलको प्रतिस्पर्धात्मक प्रदर्शनी समेत रहेकोले गोदावरी फूलको विविध विधामा प्रतिस्पर्धा गराई पुरस्कृत गरिने भएको छ । प्रदर्शनीमा सहभागी नर्सरी र फर्महरूले उत्पादन गरेको गोदावरी फूलको ५ वटा प्रजातीमा प्रतिस्पर्धा गराईने छ ।
प्रतिस्पर्धा हुने गोदावरीको प्रजातीहरूमा १० मिनियचर, २० स्पाईडर, ३० रिफ्लेक्स, ४० ईन्कर्भ र ५० गोदावरीको कट फ्लावर प्रजाती छन् । मेलामा सहभागी भएको नर्सरी व्यवसायीहरूलाई उत्साह थप्नका लागि उत्कृष्ट स्टलतर्फ पनि प्रतिस्पर्धा गराईने जनाइएको छ ।
पुष्प व्यवसायका क्षेत्रमा भए गरेका नयाँ नयाँ प्रविधि र उपलब्धि सहितका जानकारी पनि मेला स्थलमा नै स्थलबाटै प्रदान गरिने एसोसिएशनले जनाएको छ । यस वर्षको गोदावरी फूलको प्रदर्शनीमा ३७ हजार भन्दा बढीले प्रत्यक्ष अवलोकन गर्ने साथै ८० लाख सम्मको व्यवसायिक कारोबार हुने अपेक्षा गरिएको छ ।
नेपालमा वि.सं. २०११ बाट सामान्य स्तरमा सुरु भएको पुष्प व्यवसाय, शहरीकरणको विकास तथा विस्तारसंगै सातै प्रदेशका मुख्य शहरहरू लगायतका अन्य क्षेत्रमा समेत फैलदो अवस्थामा रहेको छ । हाल ४८ जिल्लामा लगभग १७८ हेक्टर क्षेत्रफलमा पुष्प व्यवसाय गरिरहेका छन । ७३२ भन्दा बढि पुष्प व्यवसायीहरू संलग्न रहेको यस व्यवसायमा ६.५ अर्व भन्दा बढिको लगानी रहेको छ ।
कोभिड महामारका कारण विगत २ वर्षदेखि कोभिड–१९ महामारीका कारण पुष्प व्यवसाय समस्याग्रष्ट अवस्थामा रहेकोमा २०७८/८९ मा कोभिड–१९ को असर केहि कम देखिएकोले समग्र व्यवसायीक तथा आर्थिक क्षेत्रहरू केहि चलायमान र सुधारउन्मुख हुदा पुष्पको बजारीकरणको क्षेत्रमा पनि सुधार आएको एसोशिएसनले जनाएको छ । यद्यपी कोभिड सुरु हुनु पूर्वको पुष्पको वार्षिक कारोबारको अवस्थामा अझै पनी पुग्न सकेको अवस्था नभएको बताइन्छ ।
आव २०७७/७८ मा वर्षै भरी कोभिड–१९ को कहर रहेका कारण भएको निषेधाज्ञाले गर्दा व्यवसायीक कारोबारमा कमी आई १ अर्ब ६३ करोड रुपैयाँको मात्र कारोबार भएको थियो । तर बजारिकरणमा सुधार आई अघिल्लो वर्षको वार्षिक कारोबार तुलानामा करिब ३० प्रतिशतले वृद्धि भई २ अर्ब ३० करोड रुपैयाँको हाराहारीमा कारोबार भएको अध्यक्ष तामाङले बताए ।
आव २०७८/७९ मा पुष्प तथा पुष्पजन्य वस्तुको निर्यात तर्फ ९८ लाख ६० हजार र आयात तर्फ ३६ करोड ५ लाख ३५ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।
पुष्प व्यवसायमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा ४३ हजार ५०० भन्दा बढी जनशक्तिहरू रोजगार/आश्रीत रहेकोमा कोभिड–१९ कारण १० प्रतिशत भन्दा बढिले रोजगारी गुमाई हाल ३९ हजार १०० को हाराहारीमा रोजगार रहेको एसोसिएशनको तथ्यांकमा उल्लेख छ ।