काठमाडौं । काठमाडौं महानगरपालिकाले संघ र प्रदेशमा दर्ता भएका व्यवसाय ३० दिन भित्र महानगरपालिकामा दर्ता गर्न अनुरोध गरेको छ ।
मंगलबार सूचना जारी गर्दै महानगर क्षेत्रभित्र संचालन भएका व्यापार व्यवसाय महानगरपालिकामा पनि दर्ता गरेर मात्र सञ्चालन गर्न आग्रह गरेको हो ।
अनुगमनको क्रममा दर्ता नगरी व्यवसाय गरेको पाइएमा व्यवसाय बन्द गरी जरिवाना गरिने चेतावनी समेत दिएको छ ।
‘काठमाडौँ महानगरपालिका क्षेत्रभित्र व्यापार व्यवसाय सञ्चालन गर्ने कतिपय व्यवसायीहरू (संघीय सरकार र प्रदेश सरकारबाट इजाजत लिएका व्यवसायहरू समेत) ले महानगरपालिकामा व्यवसाय दर्ता नगरी व्यवसाय सञ्चालन गर्दै आएको पाइएको हुँदा यस सूचना प्रकाशित भएको मितिले ३० दिनभित्र आफ्नो नजिकको वडा कार्यालयमा गई अनिवार्य रूपमा व्यवसाय दर्ता गर्नुहुन अनुरोध छ,’ महानगरपालिकाले जारी गरेको सूचनामा भनिएको छ ।
