काठमाडौं । वाणिज्य बैंकहरूले कात्तिकमा निक्षेपको ब्याजदर नबढाउने भएका छन् । बैंकहरूले असोजकै ब्याजदर कायम राख्दै कात्तिकका लागि ब्याजदर सार्वजनिक गरेका हुन् ।
गत साता बसेको नेपाल बैंकर्स संघको बैठकले कात्तिकमा निक्षेपको ब्याजदर नबढाउने निर्णय गरेको थियो । सोही अनुसार बैंकहरूले कात्तिकमा पुरानै ब्याजदरलाई निरन्तरता दिने भएका छन् । ब्याजदर बढाउँदैमा निक्षेपमा सुधार नआउने संघको निष्कर्ष छ ।
फागुनदेखि स्थिर रहेको निक्षेपको ब्याजदर बैंकहरूले ६ महिनापछि असोजमा बढाएका थिए । बैंकहरूले असोजमा मुद्दती निक्षेपको ब्याजदर बढाएर १२.१३३ प्रतिशत तोकेका थिए । अब कात्तिकमा पनि सोही ब्याजदर लागू हुनेछ । बैंकहरूले फागुनदेखि भदौसम्ममुद्दती निक्षेपमा ११.०३ प्रतिशत ब्याजदर दिँदै आएका थिए ।
यस्तै, बैंकहरूले कात्तिकका लागि संस्थागत निक्षेपको ब्याजदर असोजकै १०.१३ प्रतिशत कायम राखेका छन् । रेमिट्यान्स निक्षेपको ब्याजदर पनि १३.१३ प्रतिशत नै कायम राखेका छन् । प्रभु बैंकले असोजमा ३ महिना वा सोभन्दा बढी अवधिको ‘प्रभु उन्नति मुद्दति’ मा १५.१३ प्रतिशतसम्म ब्यादर दिएको थियो ।
नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत नै नीतिगत बैंकदर बढाउँदै बैंकहरूलाई ब्याजदर बढाउन प्रोत्साहन गरेको थियो । राष्ट्र बैंकले उक्साए पनि साउन र भदौमा ब्याज नबढाएका बैंकहरूले असोजमा भने निक्षेपको ब्याज बढाएका थिए । ब्याजदर बढाउँदैमा निक्षेप नथपिएपछि बैंकहरू फेरि ब्याजदर नबढाउने पक्षमा पुगेका हुन् ।
असोजमा निक्षेपको ब्याज बढेसँगै बैंकहरूको लागत बढेकाले आधारदर (बेसरेट) महँगिदा कर्जाको ब्याज भने बढेकाे छ ।बैंकहरूले सार्वजनिक गरेको ब्याजदर अनुसार कर्जाको ब्याजदर १२ देखि १७ प्रतिशतसम्म रहेको छ । बैंकहरूले आधारदरमा ७ प्रतिशतसम्म प्रिमियम जोडेर कर्जाको ब्याजदर निर्धारण गरेका छन् ।
कुन बैंकले कति दिन्छन् ब्याज ?
एनएमबी बैंकले व्यक्तिगत अवधि निक्षेपमा १२.१३ प्रतिशत, संस्थागत सावधि निक्षेप १०.१३ प्रतिशत, सामान्य बचतमा ९.१३ प्रतिशत (अधिकतम) ब्याज दिने भएको छ ।
यसैगरी, सिभिल, प्राइम कमर्शियल बैंक, सिद्धार्थ, सानिमा व्यक्तिगत अवधि निक्षेप १२.१३ प्रतिशत, संस्थागत अवधि निक्षेप १०.१३ प्रतिशत, बचत ९.१३ प्रतिशत (अधिकतम) ब्याज दिने भएको छ ।
यस्तै, नबिल बैंकले व्यक्तिगत अवधि निक्षेपमा १२.१३ प्रतिशत, संस्थागत अवधि निक्षेपमा १०.१३ प्रतिशत र बचतमा १०.१३ प्रतिशत (अधिकतम) ब्याज दिने भएको छ ।
सेन्चुरी, एनसीसी, नेपाल एसबीआई, लक्ष्मी, नेपाल इन्भेष्टमेन्ट, राष्ट्रिय वाणिज्य बैंक, सनराइज, स्ट्यान्डर्ड चार्टर्ड, माछापुच्छ्रे, हिमालयन, ग्लोबल आइएमई बैंक र नेपाल बैंकले व्यक्तिगत अवधि निक्षेप १२.१३ प्रतिशत, संस्थागत अवधि निक्षेप १०.१३ प्रतिशत र बचतमा ७.१३ प्रतिशत (अधिकतम) ब्याजदर दिने भएका छन् ।
यस्तै, प्रभु बैंकले व्यक्तिगत साविक निक्षेप १२.१३ प्रतिशत, संस्थागत अवधि निक्षेप १०.१३ प्रतिशत, सामान्य बचत १०.१३ (अधिकतम), प्रभु उन्नति मुद्दती एफडीमा १२.०३ प्रतिशत पुर्याएको छ ।
यस्तै, मेगा बैंकले व्यक्तिगत अवधि निक्षेपमा १२.१३ प्रतिशत, संस्थागत अवधि निक्षेपमा १०.१३ प्रतिशत, मेगा मातृभूमि बचत खाता १०.१३ प्रतिशत र सामान्य बचतमा ७.६३ प्रतिशत ब्याजदर दिने भएको छ ।