काठमाडौं । कुमारी बैंक लिमिटेडले गत वर्षको नाफाबाट घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न साधारण सभा डाकेको छ ।
बैंकले कात्तिक २१ गते २२ औं वार्षिक साधारण सभा बोलाएको हो । सभा बैंकको नक्साल कार्यालय, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।
नेपाल क्रेडिट एण्ड कमर्श बैंकसँगै मर्जर प्रक्रियामा रहेको कुमारीले सभामा गत वर्षको नाफाबाट घोषणा गरेको १२.५० प्रतिशत नगद लाभांश पारित गर्ने प्रस्ताव मुख्य एजेन्डाको रुपमा लैजाने भएको छ ।
त्यसैगरी, मर्जर तथा एक्वीजिसन गर्न सञ्चालक समितिबाट गठित मर्जर समिति तथा सोले गरेको कार्य अनुमोदन गर्ने, मर्जर तथा एक्वीजिसन सम्बन्धी अन्य कार्य गर्न सञ्चालक समितिलाई आवश्यक सम्पूर्ण अख्तियारी दिने, आर्थिक वर्ष २०७८/७९ को वासलात, नाफा–नोक्सान हिसाब लगायतका प्रस्तावहरु लैजाने भएको छ ।
साधारण सभा प्रयोजनका लागि बैंकले कात्तिक १४ गते बुकक्लोज तोकेको छ । यद्यपि, मर्जर प्रक्रियामा रहेकाले हाल बैंकको सेयर कारोबार रोक्का छ । मर्जर सम्झौता अघि अर्थात् असोज १० गतेसम्म नेप्सेमा कारोबार भइ कायम रहेका सेयरधनीले प्रस्तावित लाभांश र सभामा भाग लिन पाउने छन् ।