काठमाडौं । पछिल्लो ६ महिना यता विश्व बजारमा पेट्रोलियम पद्धार्थको मूल्यमा तीव्र उतरचढाव आइरहेको छ । गत फेब्रुअरीमा रुस–युक्रेन युद्ध सुरु भएसँगै प्रतिब्यारेल १३९ डलर पुगेको कच्चा तेलको मूल गत महिना प्रतिब्यारेल ८० डलरसम्म झरेको थियो ।
गत सातादेखि भने पेट्रोलियम पद्धार्थको मूल्य फेरि उकालो लागेको छ । तेल उत्पादक देशहरूको समूह ओपेकले दैनिक २० लाख ब्यारेल उत्पादन कटौती गर्ने घोषणा गरेसँगै उकालो लाग्न थालेको छ ।
अहिले पनि विश्वको तेस्रो तेल निर्याता देश रुसमाथि अमेरिका र पश्चिमी मुलुकहरूले आर्थिक नाकाबन्दी र तेल आयातमा प्रतिबन्ध कायमै हुँदा तेलको मूल्यमा उतरचढाव आइरहेको छ ।
पेट्रोलियम पदार्थको मूल्य बढ्दा विश्वभर महँगी बढ्दो क्रममा छ । ढुवानी लागत बढ्दा कच्चा पदार्थदेखि अधिकांश उपभोग्य वस्तुको मूल्य बढेको छ । जसले समग्र अर्थतन्त्रमा नै नकारात्मक असर पारिरहेको छ ।
पेट्रोलियम पदार्थ अत्यावश्यक उपभोग्य वस्तु हो । यसको उत्पादन नहुने देशले अन्यदेशबाट आयात गर्दै आएका छन् । विश्वभर इन्धनको मूल्य फरक फरक रहेको छ । उत्पादन लागत, ढुवानी, प्रशोधन खर्चका आधारमा यसको मूल्य ठाउँ अनुसार फरक हुने गरेको छ ।
पेट्रोलियम पदार्थ उत्पादन गर्ने देशहरूमा इन्धनको मूल्य तुलनात्मक रूपमा सस्तो रहेको छ भने उत्पादन नहुने नेपाल जस्ता मुलुकमा उच्च रहेको छ । तेस्रो मुलुकसँग किनएको तेलमा पनि सरकारले उच्च कर लगाउने हुनाले नेपालमा पनि तुलनात्मक रूपमा इन्धनको मूल्य उच्च छ ।
ठूलो मात्रामा उत्पादन गर्ने खाडी मुलुकहरू, रसिया लगायत देशमा तुलनात्मक रूपमा पेट्रोलियम पदार्थ सस्तो रहेको छ भने नेपाल, युरोपेली लगायत मुलुकमा महँगो रहेको छ ।
कुन देशमा कति पर्छ ?
विश्वका केही देशमा पेट्रोलको भाउ पानीभन्दा पनि सस्ता रहेको छ । नेपालमा सरकारले बोतलको पानी प्रतिलिटर १६ रुपैयाँ तोकेको छ । जबकी विश्वका ३ देशमा पेट्रोलको मूल्य सोभन्दा कम रहेको छ ।
ग्लोबल पेट्रोल प्राइस डटकमका अुसार विश्वमा सबैभन्दा सस्तो पेट्रोल पाइने देश हो भेनेजुयला । बिहीबारको तथ्यांक अनुसार भेनेजुयलामा प्रतिलिटर पेट्रोल ०.०१६ डलर अर्थात् नेपाली २.०८८ रुपैयाँ रहेको छ ।

भेनेजुयलापछि लिबिया सबैभन्दा सस्तोमा पेट्रोल पाइने दोस्रो देश हो । यहाँ प्रतिलिटर ०.०३ डलर अर्थात् नेपाली ३.९२ रुपैयाँ रहेको छ ।
यस्तै, इरानमा प्रतिलिटर ०.०५३ डलर अर्थात् ७.०२६ रुपैयाँ, अल्जेरियामा प्रतिलिटर ०.३२८ डलर अर्थात् ४३.१७ रुपैयाँ, कुवेत ०.३३८ अर्थात् ४४.५८ रुपैयाँ, रसियामा ०.७९८ डलर १०५.१८ रुपैयाँ प्रतिलिटर पेट्रोलको मूल्य रहेको छ ।
यस्तै, विश्वको सबैभन्दा ठूलो तेल उत्पादक साउदी अरेबियामा ०.६२ डलर अर्थात् ८१.६५ रुपैयाँ, दोस्रो ठूलो उत्पादक अमेरिकामा १.०५६ डलर अर्थात् १३९.५७ रुपैयाँ छ ।
विश्वमा पेट्रोलको सबैभन्दा महंगो मूल्य हंङकङमा रहेको छ । यसदेशमा प्रतिलिटर पेट्रोल २.९४ डलर अर्थात् ३८७.४७ रुपैयाँ मूल्य रहेको छ । यसैगरी आइसल्याण्डमा २.२३ डलर अर्थात् २९२.७६ रुपैयाँ, नर्वेमा २.२२ डलर अर्थात २८९.१४ रुपैयाँ प्रतिलिटर पेट्रोलको मूल्य पर्छ ।
आजका दिन विश्व बजारमा पेट्रोलको औसत मूल्य प्रतिलिटर १.४७ अमेरिकी डलर (१९४.५ नेपाली) रुपैयाँ)अमेरिकी डलर प्रतिलिटर छ ।