काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालको निजी क्षेत्रसँग सहकार्य गर्दै विदेशमा आर्जन गरेको ज्ञान, सीप र पूँजीलाई नेपाल भित्र्याउन गैर आवासीय नेपालीहरूलाई आग्रह गरेका छन्।
गैरआवासीय नेपाली संघको वार्षिक साधारणसभाको अवसरमा मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले नेपालमा लगानीको प्रचुर सम्भावना रहेको र यहाँ लगानीको प्रतिफल पनि अन्य देशमा भन्दा राम्रो रहेको बताए।
‘नेपालमा लगानीको वातावरण छ। पुराना र जटिल कानुनहरू परिवर्तन भएका छन्। अरु बाँकी कानुनहरू परिवर्तन हुँदैछन्। नेपालमा धेरै सम्भावना छन्। प्रतिफल पनि तपाईंले अन्य देशमा पाउने भन्दा राम्रो छ’, उनले भने।
गैरआवासीय नेपाली संघले एनआरएन कोष स्थापना गरी कलेक्टिभ रूपमा नेपालमा लगानी गर्न सुरू गरेको बताउँदै यसलाई थप प्रभावकारी रूपमा अगाडि बढाउन ढकालले आग्रह गरे।
नेपालमा आइपर्ने विभिन्न प्राकृतिक विपत्तिको समयमा गैरआवासीय नेपालीहरूले खेलेको भूमिकाको प्रसंशा गर्दै उनले गैरआवासीय नेपालीहरूले आर्जन गरेको ज्ञान, सीप र पूँजीलाई नेपालमा लगानी गर्न आग्रह गरे।
‘तपाईंहरूले आफू रहेका स्थानमा आर्जन गरेको ज्ञान, सीप र पूँजीलाई नेपालमा लगानी गर्नुहोस्, निजी क्षेत्र त्यसमा सहकार्य गर्न तयार छ’, वरिष्ठ उपाध्यक्ष ढकालले भने। उक्त अवसरमा उनले गैरआवसीय नेपालीहरूलाई लक्षित गरी विदेशमा रहेका नेपालीहरूलाई नेपाली बैंकमा विदेशी मुद्रामा खाता खोल्ने सुविधा सुरू भएको जानकारी गराए।
ढकालले विदेशी मुद्रामा खाता खोली नेपालमा देखा परेको विदेशी मुद्रा सञ्चितिको समस्या समाधानमा सहयोग गर्न गैरआवासीय नेपाली संघलाई आग्रह समेत गरे।