काठमाडौं । नेपालमा पूर्वाधार आयोजना समयमै सम्पन्न नहुने रोगबाट ग्रसित छन् । बजेट अभाव, ठेकेदारको चरम लापारबाही, मुआब्जा विवाद, दक्ष कामदार अभाव, स्थानीयको अवरोध लगायत कारणले विकास आयोजना दशकौंसम्म सम्पन्न हुन सकेका छैनन् ।
नगन्य मात्रमा साना पूर्वाधार आयोजना समयमै सम्पन्न भए पनि अधिकांश ठूला आयोजना वर्षौंदेखि निर्माणाधीन अवस्थामै रहेका छन् । झन् राष्ट्रिय गौरवका भनिएका ठूला पूर्वाधार आयोजनाको प्रगति निराशाजनक रहेको छ ।
कान्ति लोकपथ, मध्यपहाडी राजमार्ग, सिक्टा सिँचाइ लगायत राष्ट्रिय गौरवका अधिकांश आयोजनाको पटकपटक म्याद थप्दा समेत निर्माण पूरा हुन सकेका छैनन् । विकास आयोजना समयमै सम्पन्न नहुँदा लागत बढेर दोब्बर रतेब्बर पुगेको छ भने राज्यले प्रतिफल पाउन वर्षौं कुर्नुपरेकाे छ ।
राष्ट्रिय गौरवका अधिकांश आयोजना कछुवाको गतिमा अघि बढिरहेका बेला एउटा आयोजना भने आशा जगाएको छ । त्यो आयोजना हो नागढुंगा–नौबिसे सुरुङमार्ग ।
राष्ट्रिय गौरव आयोजना नागढुंगा-नौबिसे सुरुङमार्ग निर्माण तीव्र गतिमा अघि बढेको छ । हालसम्म सुरुङ खन्ने काम झन्डै दुई तिहाई सम्पन्न हुन लागेको हो । समग्रमा भने आयोजनाको ४४ प्रतिशत मात्र काम पूरा भएको छ ।
सुरुङ खन्ने काम ६५ प्रतिशत पूरा
नागढुंगा-नौबिसे सुरुङमार्ग आयोजनाका अनुसार असोज २५ गतेसम्म सुरुङ खन्ने काम ६५.३० प्रतिशत पूरा भएको छ । कुल ५ हजार ४९९ मिटरमध्ये हालसम्म ३ हजार ५९३.४० मिटर सुरुङ खन्ने काम पूरा भएको हो ।
आयोजनका प्रवक्ता रमेश कोइरालाका अनुसार हालसम्म मुख्य सुरुङ अन्तर्गत २ हजार ६८८ मिटर मुख्य मध्ये हालसम्म १ हजार ५९३.८० मिटर खनिसकिएको छ । आयोजनाको काठमाडौंतर्फ ७८३.४० मिटर र धादिङतर्फ ८१०.४० मिटर मुख्य टनेल खनिएको छ ।
त्यसैगरी, २ हजार ५५७ मिटर आपतकालीन (स्केप टनेल) सुरुङ खन्नुपर्नेम हालसम्म १ हजार ७९०.४० मिटर सुरुङ खनिसकिएको छ । काठमाडौंतर्फ ९६६.९० मिटर र धादिङतर्फ ८३२.५० मिटर सुरुङ खन्ने काम पूरा भएको उनले जानकारी दिए ।
त्यस्तै, धादिङतर्फ १२६ मिटर वर्किङ अडिट निर्माण भएको छ । हालसम्म ७४.२० मिटर क्रस प्यासेज निर्माण भएको छ । जसमा काठमाडौंतर्फ ३८.१ मिटर र धादिङतर्फ ३६.१मिटर निर्माण गरिएको छ ।
हालसम्म आयोजनाको समग्रमा ४४ प्रतिशत भौतिक प्रगति भएको आयोजनाले जनाएको छ । त्यस्तै, वित्तीयतर्फ ४७ प्रतिशत प्रगति भएको छ ।
आयोजना अन्तर्ग कुल ५ हजार ४९९ मिटर टनेल खन्नु पर्नेमा अझै १ हजार ९०५.६ मिटर सुरुङ खन्न बाँकी रहेको छ । सुरुङको हरेक ३०० मिटरमा मेन टनेल र स्केप टनेल जोड्ने क्रस प्यासेज बनाइएको छ । सुरुङमार्गभित्र हरेक ३०० मिटरमा ७ वटासम्म क्रस प्यासेज बनाइने छ ।
नेपालकै पहिलो सुरुङमार्गको रुपमा रहेको यस आयोजनाको काठमाडौंतिरको पोर्टल चन्द्रागिरी नगरपालिका–१ को टुटीपाखामा रहेको छ भने धादिङतिरको पोर्टल धुनिबेंसी नगरपालिकाको सिस्नेखोलामा छ । टनेलमा मुख्य दुई वटा लेन हुनेछ । बीचमा थप एउटा सानो साइड लेन छ । सवारी साधन बिग्रिए साइड लगाउन उक्त लेन प्रयोग हुनेछ ।
तोकिएकै समयमै पूरा नहुने
कोभिडकालमा समेत निरन्तर काम भए पनि आयोजना समयमै सकिनेमा भने आशंका रहेको छ । ठेक्का अवधि आगामी जेठसम्म रहे पनि सो समयभित्रै काम सम्पन्न गर्न मुस्किल रहेको आयोजनाले जनाएको छ ।
प्रवक्ता कोइरालाले सुरुङमार्गको सम्पूर्ण काम सक्न करिब १ वर्ष लाग्ने बताए । उनले सोचे जस्तो गतिमा सुरुङ मार्गको कामले गति लिन नसकेको बताए । ‘हामी ६ देखि १ वर्ष ढिला भइसकेका छाैं, समयमा सकाउन मुस्किल छ, सक्दो कोशिस गरिरहेका छौँ,’ कोइरालाले चाणक्य पोष्टसँग भने, ‘अबको १ वर्ष भित्रमा चाहिँ सम्पन्न हुन्छ ।’
उनका अनुसार हाल सुरुङमा दैनिक ५०० देखि ६०० जना जनशक्तिले काम गरिरहेका छन् । दैनिक ५ देखि ७ मिटर सुरुङ खन्ने काम भइरहेको उनले बताए ।
