काठमाडौं । माछापुच्छ्रे बैंकको २१ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । होटल पोखरा ग्राण्डमा असोज २४ गते शुक्रबार सम्पन्न भएको उक्त साधारण सभाले आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट सञ्चालक समितिले प्रस्ताव गरेको १६ प्रतिशत लाभांश पारित गरेको छ।
बैंकले शेयरधनीलाई ५ प्रतिशत बोनस र कर प्रयोजनको लागिसहित ११ प्रतिशत नगद गरी १६ प्रतिशत लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको हो।
यस्तै साधारण सभाले उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु एक आपसमा गाभ्न/गाभिने सम्बन्धि कार्यको लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने निर्णय पनि गरेको छ। यस्तै बैंकको आर्थिक वर्ष २०७५/०७६ को वार्षिक प्रतिवेदन पारित समेत गरेको छ ।
गत आर्थिक वर्षमा बैंकले १ अर्ब ६९ करोड ७० लाख रुपैयाँ खुद नाफा गरेर प्रतिशेयर आम्दानी २१ रुपैयाँ ७ पैसा कायम गरेको थियो। बैंकको चुक्ता पूँजी ८ अर्ब ५ करोड रुपैयाँ तथा साधारण जगेडा कोषमा २ अर्ब ४५ करोड रुपैयाँ सञ्चित छ ।
बैंकले देशभरका १४० वटा शाखाहरु र १३० शाखारहित बैकिङ्ग सेवा गरि जम्मा २७० स्थानबाट बैंकिङ्ग सेवा प्रदान गर्दै आइहेको छ। बैंकको १६२ वटा एटीएमहरु सञ्चालनमा छन् ।