काठमाडौं । चिनियाँ राष्ट्रपति सीले नेपालीको जीवनस्तर उकास्नका लागि सन् २०२० देखि २०२२ सम्मका लागि ३.५ अर्ब आरएमबी (करिब साढे ५५ अर्ब रुपैयाँ) उपलब्ध गराइने जानकारी दिएका छन्।
नेपालमा कम्युनिष्ट पार्टीले शासन सम्हालेपछि गरेको विकासका लागि हार्दिक बधाई व्यक्त गर्दै चीनले शान्तिपूर्ण सह–अस्तित्वको सिद्धान्तका आधारमा सम्बन्ध स्थापना गरेको र सबैका लागि सबैसँग मिलेर सम्बन्ध बलियो बनाउने प्रयास गरेको बताए ।
उनले गरीबी निवारणका क्षेत्रमा चिनियाँ अनुभव सिक्न सकिने बताउँदै चीनमा यस्तो कार्य उद्देश्य अनुरुप भएको र ८० करोड मानिसलाई गरीबीबाट मुक्त गरिएको तथा सन् २०२० मा गरीबी पूर्ण उन्मूलन गर्ने लक्ष्य लिइएको जानकारी दिए ।
उनले हिमालपार रेलमार्ग निर्माण गर्न कठिन भए पनि यसको निर्माणका लागि काम गरिने स्पष्ट गरे। उनले चीनले रेल निर्माणका क्षेत्रमा विश्वमै अग्रणी भूमिका खेलेको बताउँदै यसमा चरणबद्ध रुपमा काम गर्न सकिने बताए।
उनले नेपालले जलवायु परिवर्तनबाट भोगेको समस्याबारे चीनले जानकारी पाएको र समस्या समाधान गर्न संयुक्त रुपमा काम गर्न सकिने बताउँदै हिमाली क्षेत्रका बासिन्दालाई सरलरुपमा पुनःस्थापना गरी उनीहरुको जीवनस्तर उकास्न सकिनाका साथै सगरमाथाको उचाइ मापन संयुक्त रुपमा गर्न सकिने उल्लेख गरे।
उनले नेपाल भ्रमण वर्ष प्रवद्र्धन गर्न अभिप्रेरणा प्रदान गर्ने, राजनीतिज्ञ, सांसद र आमसञ्चारमा आदानप्रदान गर्न सकिने तथा सांस्कृतिक आदानप्रदान गरिने जानकारी पनि दिए।
राष्ट्रपति सीले चीनको धेरै मुलुकसँग व्यापार असन्तुलन भएका स्थितिमा यसलाई समाधान गर्न सकिने विश्वास दिलाउँदै नेपालले प्रतिस्पर्धात्मक वस्तु निर्यात गर्न सक्ने बताए ।
उनले नेपाललाई अन्तरराष्ट्रिय व्यापार एक्सपोमा सहभागी हुन आग्रह गर्दैै चीनका व्यापारीलाई नेपालमा ठूला र गुणस्तरीय लगानी गर्न अभिप्रेरित गरिरहेको बताए ।
उनले संरक्षणवादको विपक्षमा मिलेर काम गर्न सकिने बताउँदै एशियाली आधारभूत संरचना लगानी बैँकबाट सहयोग लिन सकिने धारणा व्यक्त गरे । उनले विश्वविद्यालयका क्षेत्रमा पनि चीन सहयोग गर्न तथा सुविधा विस्तार गर्न तयार रहेको बताए।
सो अवसरमा चिनियाँ राष्ट्रपतिले आगन्तुक पुस्तिकामा हस्ताक्षर गरे । त्यस अवसरमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री, खानेपानी तथा सरसफाइमन्त्री तथा नेपाल र चीन सरकारका उच्चपदस्थ अधिकारीको उपस्थिति थियो ।
चिनियाँ राष्ट्रपति सी दुईदिने राजकीय भ्रमणका लागि शनिबार अपराह्न काठमाडौँ आएका हुन् ।रासस