डिजिटल मुद्रा ल्याउने तयारीमा जुट्यो राष्ट्र बैंक, अवधारणा प्रतिवेदन सार्वजनिक

काठमाडौं । नेपाल राष्ट्र बैंक डिजिटल करेन्सी (विद्युतीय मुद्रा) प्रचलनमा ल्याउने तयारीमा जुटेको छ । राष्ट्र बैंकले बिहीबार सेन्ट्रल बैंक डिजिटल करेन्सी (सीबीडीसी)अवधारणा प्रतिवेदन तयार पारेर सार्वजनिक सुझावका लागि सार्वजनिक गरेको हो ।

सार्वजनिक उक्त प्रतिवेदन पछि आउने टिप्पणी तथा सुझावहरू लिएर डिजिटल करेन्सीको लागि राष्ट्र बैंकले अध्ययन अघि बढाउने भएको छ । डिजिटल मुद्रा प्रचलनमा ल्याउनको लागि केही समयअघि राष्ट्र बैंकले अध्ययन समिति बनाएको थियो । उक्त समितिले गरेको अध्ययन अवधारणा प्रतिवेदन राष्ट्र बैंकले सार्वजनिक गरेको छ ।

वित्तीय सुशासन, स्थायीत्व र पहूँच वृद्धिमा जोड दिनुपर्ने, त्यसका लागि राष्ट्र बैंकले सम्भाव्यता अध्ययन, राष्ट्र बैंकको क्षमता वृद्धि गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ ।
राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत डिजिटल करेन्सी प्रचलनमा ल्याउनका लागि अध्ययन गरिने घोषणा गरेको थियो ।

जसअनुसार केन्द्रीय बैंकले डिजिटल करेन्सीको सम्भाव्यता, कानुनी र नियमन प्रक्रियाको अध्ययन गर्न अवधारणा प्रतिवेदन सार्वजनिक गरेर सार्वजनिक सुझावका लागि राखेको छ ।

राष्ट्र बैंकले अध्ययन गरिसकेपछि पनि डिजिटल करेन्सी सर्वसाधारणको प्रयोगमा आउन अझै २/३ वर्ष लाग्ने राष्ट्र बैंकका अधिकारीहरू बताउँछन् । पछिल्लो समय क्रिप्टोकरेन्सीको कारोबार बढ्दै गइरहेको अवस्थामा विभिन्न देशका केन्द्रीय बैंकहरूलाई डिजिटल करेन्सी प्रयोगमा ल्याउनुपर्ने दबाबका साथै चुनौती थपिएको छ ।

यद्यपि, क्रिप्टोकरेन्सी ब्ल्याकचेन प्रविधिबाट सञ्चालनमा आएको भर्चुअल करेन्सी हो । जसको कारोबार नेपालको कानुन अनुसार गैरकानुनी हो । यसलाई नियमन गर्ने कुनै पनि संयन्त्र छैन् । तर, केन्द्रीय बैंकले जारी गर्ने डिजिटल करेन्सी भने उसको नियमनमा रहन्छ । हाल संसारका एकदर्जन देशहरूले यस्तो करेन्सी प्रयोगमा ल्याइसकेका छन् ।

जसले आर्थिक कारोबारलाई क्यास लेस बनाएको छ । भारतीय रिजर्भ बैंकले पनि गत आर्थिक वर्षको मौद्रिक नीतिमार्फत डिजिटल करेन्सी कारोबारमा ल्याइसक्ने घोषणा गरेको छ । जसको तयारीका त्यहाँको रिजर्भ बैंक जुटेको छ ।

सन् २०२० मा विश्वका केन्द्रीय बैंकको छाता संगठन बैंक फर इन्टरनेशनल सेलटमेन्ट्स (बीआईएस)ले केन्द्रीय बैंकहरूलाई डिजिटल करेन्सीको प्रयोग अघि बढाउन सुझाव दिएसँगै संसारभर एकसय बढी देशहरूले अध्ययन गरिरहेका छन् ।

 

दशैंको बिदामा पनि निगमका यी १३ डिपो खुल्ने, पेट्रोलपम्प बन्द नहुने Read Previous

दशैंको बिदामा पनि निगमका यी १३ डिपो खुल्ने, पेट्रोलपम्प बन्द नहुने

कुमारी बैंकको लाभांश घोषणा, अघिल्लो वर्षकोभन्दा बढ्यो Read Next

कुमारी बैंकको लाभांश घोषणा, अघिल्लो वर्षकोभन्दा बढ्यो