लघुबीमाको लाइसेन्समा उच्च आकर्षण, ७ वटाको कोटामा ३१ आवेदन (नामसहित)

काठमाडौं । लघुबीमा कम्पनीको लाइसेन्समा उच्च आकर्षण देखिएको छ । बीमा समितिले ७ वटा जीवन र निर्जीवन लघुबीमा कम्पनीको लागि आवेदन खुलाए पनि ४ गुणा बढी आवेदन परेको छ ।

समितिका अनुसार बिहीबार आवेदन दिने अन्तिम दिनसम्म ३१ वटा कम्पनीले लघुबीमाको लाइसेन्सका लागि आवेदन दिएका छन् । १५ वटा जीवन र १६ निर्जीवन बीमा कम्पनीको लागि आवेदन परेको समितिले जनाएको छ ।

लाइसेन्सका लागि आवेदन दिने म्याद आज अपराह्न १२ बजेसम्म थियो । समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले आज १२ बजेसम्म ३१ कम्पनीले आवेदन दिएको जानकारी दिए । आवेदन दिने समय सकिएकाले अब थप कम्पनीले निवेदन दिन नपाउने उनले बताए ।

‘लघुबीमा लाइसेन्सका लागि आवेदन दिने समयसीमा आज १२ बजेसम्म थियो । सो अवधिसम्म ३१ वटा आवेदन परेको छ,’ उनले भने, ‘समयसीमा सकिएकाले अब थप आवेदन पर्दैन ।’

आवेदन दिएका कम्पनीमध्येबाट ७ वटाले लाइसेन्स पाउने उनले बताए । अब आवेदन दिएका कम्पनीहरूको विस्तृत अध्ययन गरी सोमध्ये ७ वटालाई इजाजत अनुमति दिइने उनको भनाइ छ ।

लाइसेन्स दिनका लागि अध्ययन गर्न समितिले जारी गरेको निर्देशिका अनुसार एक उपसमिति गठन गरिनेछ । उक्त उपसमितिले तोकिएका मापदण्ड पुरा गर्ने लघुबीमा कम्पनीलाई लाइसेन्स दिन समिति समक्ष सिफारिश गर्नेछ । जुन कम्पनीले सबैभन्दा धेरै अंक प्राप्त गर्छ सोही कम्पनीले लाइसेन्स पाउने पौडेलले बताए ।

समितिले भदौ १० गते लघुबीमा कम्पनी स्थापनाका लागि ३५ दिने सूचना निकालेर आवेदन माग गरेको थियो । बीमाको दायरा र पहूँच विस्तार गर्न भन्दै समितिले सातवटै प्रदेशमा जीवन र निजीवन लघुबीमा कम्पनी स्थापना गर्ने तयारी थालेको छ ।

सरकारले चालु आर्थिक वर्षको बजेट मार्फत लघुबीमा कम्पनी स्थापना गर्ने घोषणा गरेको छ । जसलाई कार्यान्वयन गर्न समितिले लघुबीमा निर्देशिका जारी गरेर लाइसेन्सका लागि आवेदन माग गरेको थियो ।

आर्थिक चलखेलको भरमा आफ्नै नीति विपरित समितिले लाइसेन्स वितरणको गरेको भन्दै चौतर्फी आलोचना भइरहेको थियो । यहीक्रममा कम्पनीहरू बीच लाइसेन्स लिन प्रतिस्पर्धा चलेको छ

समितिले लघुबीमा कम्पनीको स्थापनाका लागि ७५ करोड रुपैयाँ चुक्ता पूँजी तोकेको छ । गत चैतमा मात्र जीवन र निर्जीवन बीमा कम्पनीको संख्या घटाउन साढे दुई गुणाले चुक्ता पूँजी बढाउने निर्णय गरेको थियो ।

एकतिर पूँजी बढाएर बीमा कम्पनीलाई मर्जरका लागि दबाब र अर्कोतिर लाइसेन्स वितरणले समितिको दोहोरो चरित्र देखिएको भन्दै विज्ञहरूले आपत्ति जनाएका थिए । विदेशमा लघुबीमाकम्पनीको अभ्यास भएपनि नेपालमा भने ठूला बीमा कम्पनीहरले नै लघुबीमा व्यवसाय गदै आएका छन् ।

ती कम्पनीहरूले ५ प्रतिशत लघुबीमा अनिवार्य गर्नुपर्ने भए पनि सहर केन्द्रीत व्यवसायका कारण ग्रामीण क्षेत्रमा जानसकेका छैनन् । जसको विकल्पमा बीमा समितिले ३ जीवन र ४ निर्जीवन गरी लघुबीमा कम्पनीको अनुमति दिने निर्णय गरेको थियो ।

कम्पनीको संख्या अनुसार बजार नहुँदा सञ्चालनमै रहेका बीमा कम्पनीको व्यवसायमा पनि संकुचन आएको छ ।

लघुबीमा कम्पनी खोल्न समितिले गत वर्षदेखि नै आन्तरिक तयारी गरिरहेको थियो । उक्तक्रममा एकदर्जन कम्पनीहरूले लाइसेन्सका लागि आवेदन दिएका थिए । तर, समितिले नयाँ सूचना आह्वानसँगै पुराना आवेदन खारेज भएको जनाएको छ । नयाँ कम्पनीको स्थापनामा कार्यालय पनि उपत्यका बाहिर हुनुपर्ने मापदण्ड समितिले तोकेको छ ।

कुन–कुनले दिए आवेदन ?

समितिका अनुसार १५ वटा जीवन र १६ निर्जीवन बीमा कम्पनीको लागि आवेदन परेका छन् । नेको लाइट माइक्रो जनरल इन्स्योरेन्स, स्वदेशी लघु जीबन बीमा कम्पनी, जानकी जीवन लघुबीमा कम्पनी, नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी, गौर्दैन माइक्रो लाइफ इन्स्योरेन्स, कर्णाली माइक्रो इन्स्योरेन्स र एभरेस्ट माइक्रो इन्स्योरेन्स लिमिटेडले आवेदन दिएका छन् ।यसैगरी, एक्प्रेस माइक्रोइन्स्योरेन्स, ट्रष्ट माइक्रो इन्स्योरेन्स, माछापुच्छ्रे माइक्रो इन्स्योरेन्स, अल्फा माइक्रोइन्स्योरेन्स, उन्नती माइक्रोलाइफ इन्स्योरेन्स, उन्नती माइक्रोजनरल, लुम्बिनी लघु जीवन बीमा, मुक्तिनाथ जनरल, मुक्तिनाथ लाइफ, गरिमा माइक्रो लाइफले आवेदन दिएका छन् ।

यस्तै, गरिमा माइक्रो जनरल, सीजी लाइफ इन्स्योर माइक्रोइन्स्योरेन्स, सीजी इन्स्योरेन्स माइक्रो इन्स्योरेन्स, गण्डकी माइक्रो इन्स्योरेन्स, स्टार माइक्रो, प्रोटेक्टिभ माइक्रोलाइफ, क्रिष्ट माइक्रो लाइफ, लिबर्टी माइक्रो लाइफ, श्री शक्ति लघुवित्त जीवन बीमा कम्पनी, केयर माइक्रो जनरल, अभियान लघु बीमा, हिमशिखर जीवन लघु बीमा, सुरक्षा लघु जीवन बीमा र स्वर्गद्धारी लघु जीवन बीमा कम्पनीले आवेदन दिएका छन् ।

 

मलेखु-मुग्लिन सडक ४ लेनमा विस्तार गर्न पौने ५ अर्बमा ठेक्का, चुनावपछि काम सुरू हुने Read Previous

मलेखु-मुग्लिन सडक ४ लेनमा विस्तार गर्न पौने ५ अर्बमा ठेक्का, चुनावपछि काम सुरू हुने

दशैंलाई सेयर बजारको 'ग्रीन कार्पेट', यी हुन् धेरै मूल्य बढ्ने १० कम्पनी Read Next

दशैंलाई सेयर बजारको 'ग्रीन कार्पेट', यी हुन् धेरै मूल्य बढ्ने १० कम्पनी