काठमाडौं । सेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ । दशैंअघिको अन्तिम कारोबार दिन आज नेप्से दोहोरो अंकले बढेको हो ।
सूचकसँगै कारोबार रकममा पनि सुधार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम १५ करोडले बढेर ६३ करोड पुगेको छ ।
बिहीबार नेप्से परिसूचक १६.२९ अंकले बढेर १८५३.७६ बिन्दुमा पुगेको छ । यसदिन २२३ कम्पनीको ६३ करोड २४ लाख ७ हजार ६२८ रुपैयाँ बराबरको १७ लाख ९१ हजार ४८० कित्ता सेयर किनबेच भएको छ ।
आज कारोबारमा आएका १३ वटा उपसमूहमध्ये जीवन बीमा बाहेक अरु सबै उपसमूहको परिसूचक बढेको छ । माइक्रोफाइनान्स समूहको परिसूचक सबैभन्दा धेरै १.६५ प्रतिशतले बढेको छ ।
आज नेपाल इन्स्योरेन्सको प्रमोटर सेयर सर्वाधिक कारोबार भएको छ । यसको पौने ५ करोड बढीको सेयर किनबेच भएको छ । त्यस्तै, नबिल बैंक पौने ३ करोड र नेपाल टेलिकम साढे २ करोड बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।
बिहीबार अभियान लघुवित्तको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यसका सेयरधनीले करिब १० प्रतिशत कमाएका छन् ।
त्यसैगरी, गुराँग लघुवित्त ५.७६, समिट लघुवित्त ५.४०, नबिल ब्यालेन्स फण्ड–३, ५.१७, जनउत्थान लघुवित्त ५.१३, सिटिजन्स बैंक ४.७७, समता घरेलु लघुवित्त ४, नेपाल ल्युब आय ३.९९, बिन्भ्यवासिन हाइड्रोपावर, नेरुडे लघुवित्त र गुह्येश्वरी मर्चेन्टको सेयर मूल्य साढे ३ प्रतिशतले बढेको छ ।