मलेखु-मुग्लिन सडक ४ लेनमा विस्तार गर्न पौने ५ अर्बमा ठेक्का, चुनावपछि काम सुरू हुने

काठमाडौं । नागढुंगा-मुग्लिन सडक विस्तारका लागि ठेक्का लगाइएको छ । यस सडकखण्ड अन्तर्गत तेस्रोखण्ड (मलेखु–मुग्लिन) सडक विस्तारका लागि ठेक्का लगाइएको हो ।

४० किलोमिटर लामो यस खण्डको सडक विस्तारका लागि शर्मा–जेडआईसीजी जोइन्ट भेन्चरले ४ अर्ब ८० करोड रुपैयाँमा सडक विस्तारको ठेक्का पाएको सडक विभागले जनाएको छ ।

नागढुंगा–मुग्लिन सडक विस्तार आयोजनाले मलेखुबाट मुग्लिनसम्मको खण्ड विस्तारका लागि साढे ६ अर्ब रुपैयाँ हाराहारी खर्च लाग्ने अनुमान गरेको थियो ।

नेपालको सावजनिक खरिद ऐनअनुसार सबैभन्दा कम अंकको आर्थिक प्रस्ताव पेस गर्ने निर्माण व्यवसायीलाई ठेक्का दिने व्यवस्था छ । जस अनुरुप उक्त जेभी निर्माण कम्पनीले १ अर्ब ५० करोड रुपैयाँ कम आर्थिक प्रस्ताव गरेकाले ठेक्का पाएको हो ।

विकास सहायता कार्यान्वंयन महाशाखाका उपमहानिर्देशक रामहरी पोखरेलका अनुसार आयोजनामा निर्माणको काम चुनाव पछि मात्र सुरू हुनेछ । उनले दुई वटा खण्डमा निर्माण सुरू भइसकेको भन्दै यस खण्डमा भने चुनावपछि मात्र निर्माण सुरू गरिने बताए ।

कात्तिकसम्म यस खण्डको सम्झौता गरी निर्माणको लागि हस्तान्तरण गरिनेछ । निर्माण कम्पनीले ३ वर्षभित्र यस खण्डको विस्तारको काम सक्नुपर्ने छ । यसैगरी निर्माण सम्पन्न भएको ५ वर्षसम्म सडक मर्मतसंभारको काम निर्माण कम्पनी आफैले गर्नुपर्नेछ ।

यसका लागि आह्वान गरिएको ठेक्कामा ३५ वटा कम्पनीहरु प्राविधिक रूपमा छनोट भएका थिए । प्राविधिक प्रक्रियाको मूल्यांकन जेठ ५ गते सकिएको थियो ।

नाढुंगा–मुग्लिन सडक विस्तार आयोजनामा पहिलो खण्ड नागढुंगा–नौबिसेसम्म र दोस्रो खण्ड नौबिसे–मलेखुसम्मका लागि परामर्शदाता र ठेकेदार कम्पनीका लागि अफिस निर्माण गर्ने काम भइसकेको छ ।

यो आयोजना विश्व बैंकको १९ अर्ब ऋण सहयोगमा निर्माण हुन लागेको हो । नागढुंगा–नौबिसे खण्ड १२.२६ किलोमिटरको ठेक्का १ अर्ब ३१ करोड ८४ लाख रुपैयाँमा एमएस जियाङसु–सगुन जेभीले पाएको छ ।

नौबिसे–मलेखु खण्ड ४३.५४२ किलोमिटरको ठेक्का शर्मा–लामा–जेडआइसीजी जेभीले पाएको छ । उक्त कम्पनीले ५ अर्ब ३३ करोड १९ लाखमा उक्त ठेक्का पाएको हो ।

नागढुंगा–नौबिसे खण्ड ३ लेनको हुने छ । बस्ती तथा बजार भएका स्थानमा सडक ४ लेनको हुने छ । सडक विस्तारका क्रममा सर्भिस लेन निर्माण गरिने छ ।

नागढुंगा–मुग्लिन खण्डमा २१ वटा ४/४ लेनको पुल निर्माण गरिनेछ । आयोजना अन्त्र्गत १० वटा आकासे पुल पनि निर्माण गरिने छ ।

 

लुम्बिनीमा बिजुली बस संचालनमा, यस्तो छ रुट Read Previous

लुम्बिनीमा बिजुली बस संचालनमा, यस्तो छ रुट

लघुबीमाको लाइसेन्समा उच्च आकर्षण, ७ वटाको कोटामा ३१ आवेदन (नामसहित) Read Next

लघुबीमाको लाइसेन्समा उच्च आकर्षण, ७ वटाको कोटामा ३१ आवेदन (नामसहित)