डलरको भाउले बनायो नयाँ कीर्तिमान, नेपाली रुपैयाँ इतिहासकै कमजोर

काठमाडौं । पछिल्लो समय लगातार उकालो लागेको अमेरिकी डलरको मूल्यले फेरि नयाँ कीर्तिमान बनाएको छ । मंगलबार अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च विन्दुमा पुग्दै नयाँ रेकर्ड बनाएको हो ।

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि सार्वजनिक गरेको विनिमयदर अनुसार १ अमेरिकी डलरको विनिमय दर १३० रुपैयाँ ९० पैसा (विक्री दर) तोकेको छ । यो हालसम्मकै उच्च हो । मंगलबारको लागि राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिददर १३० रुपैयाँ ३० पैसा तोकेको छ ।

विश्वबजारमा अमेरिकी डलरप्रतिको आकर्षण बढेसँगै लगातार मूल्य आकाशिएको हो । ।डलरको भाउ अझै माथि जाने संकेतहरु देखिएको छ।

अमेरिकी डलरको तुलनामा भारतीय रुपैयाँ कमजोर भएका कारण त्यसको प्रत्यक्ष असर नेपाली मुद्रामा परेको हो।नेरु र भारुबीच स्थिर विनिमय दर छ ।

डलरको भाउ बढेसँगै नेपाली अर्थतन्त्रमा सकारात्मक र नकारात्मक दुवै असर पर्नेछ । विदेशमा रहेका नेपाली कामदारहरुले रेमिट्यान्स डलरमा पठाउँछन् । डलरको भाउ बढ्दा रेमिट्यान्समा केही वृद्धि हुन्छ । त्यस्तै डलरको भाउ बढेसँगै पर्यटन क्षेत्र पनि राम्रो हुनेछ । नेपालमा आउने विदेशी पर्यटकले डलर बोकेर आउँछन् र खर्च गरेर जान्छन् ।

यस्तै, हस्तकला लगायत वस्तुको निर्यातबाट निकासीकर्ताको आम्दानी बढ्छ। यद्यपि, नेपालबाट निकासी न्यून मात्रमा हुने गरेको छ ।

डलरको भाउ बढ्दा नेपाललाई फाइदाभन्दा नोक्सानी धेरै हुने गर्छ । आयातमुखी अर्थतन्त्र भएकाले डलरको भाउ बढ्दा हरेक वस्तुको मूल्य आकाशिने छ । भारतसहित तेस्रो मुलुकबाट आयात हुने मोटर, मोबाइल फोन, इलेक्ट्रोनिक्सका सामान, लत्ताकपडा, औद्योगिक कच्चा पद्धार्थ लगायत सामान महँगो पर्ने छन्। साथै, सरकारले तिर्नुपर्ने ऋणको दायित्व बढ्ने छ ।

अब डलरको भाउ बढ्ने वा घट्ने भन्ने कच्चा तेलको मूल्यमा भर पर्ने विज्ञ बताउँछन् ।

सानिमा माई हाइड्रोपावरको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन Read Previous

सानिमा माई हाइड्रोपावरको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन

स्मार्ट फोन किन्दा शतप्रतिशत छुटदेखि कारसम्म पाइने, कुन किन्दा के पाइन्छ ? Read Next

स्मार्ट फोन किन्दा शतप्रतिशत छुटदेखि कारसम्म पाइने, कुन किन्दा के पाइन्छ ?