उत्पादन बढ्दा घट्यो तरकारी र फलफूलको आयात

"बिचौलियाको रजगजले किसान र उपभोक्ता मारमा"

काठमाडौं । तरकारी र फलफूलको आयात घटेको छ । खपतमा कमी नआए पनि स्वदेशमै उत्पादन बढ्दा तरकारी र फलफूलको आयात घटेको हो ।

चालु आवको पहिलो दुई महिना (साउन भदौ)मा ७ अर्ब ५३ करोड रुपैयाँको तरकारी र फलफूल आयात भएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा १ अर्ब २८ करोडले कम हो । गत वर्षको भदौसम्म ८ अर्ब ८१ करोडको तरकारी र फलफूल आयात भएको थियो ।

चालु आवको दुई महिनामा ५ अर्ब ६ करोड ९४ लाख रुपैयाँ बराबरको तरकारी आयात भएको छ । सो मूल्यमा १५ करोड ५२ लाख केजी तरकारी आयात भएको हो । गत वर्षको सोही अवधिमा ६ अर्ब ८ करोड ५४ लाख रुपैयाँ बराबरको तरकारी आयात भएको थियो ।

त्यसैगरी, चालु आवको भदौसम्म २ अर्ब ४७ करोड रुपैयाँ बराबरको फलफूल आयात भएको छ । सो मूल्यमा ४ करोड ४३ लाख केजी फलफूल आयात भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा २ अर्ब ७३ करोड ३९ लाख रुपैयाँ बराबरको फलफूल आयात भएको थियो ।

गत आर्थिक वर्ष २०७८/७९ मा ३३ अर्बको तरकारी र १७ अर्ब ४६ करोड रुपैयाँ बराबरको फलफूल आयात भएको थियो । व्यवसायिक रुपमा तरकारी खेती गर्ने कृषको संख्या बढ्नु, कौसीखेती फस्टाउँदै जाँदा तरकारी आयातमा गिरावट आएको जानकारहरू बताउँछन् । स्वदेशमा उत्पादन बढेसँगै आयात पनि घट्न थालेको उनीहरूको भनाइ छ ।

राष्ट्रिय कृषक समूह महासंघका अध्यक्ष नवराज बस्नेत तरकारी र फलफूलको उत्पादन बढ्दै गएको बताउँछन् । ‘पछिल्लो समय व्यवसायिक तरकारी र फलफूल खेती गर्ने कृषको संख्या बढ्दै गएको छ । यसले क्रमशः उत्पादनमा वृद्धि हुँदै गएको छ ।’

अध्यक्ष बस्नेतका अनुसार पछिल्लो समय फलफूलको उत्पादन बढेको छ । उनले स्याउ, केरा लगायत फलफूलको उत्पादन केही प्रतिशतले बढेको बताए ।

बिचौलियाको रजगजले कृषकलाई छैन लाभ

तरकारी उत्पादन यो पटक वृद्धि भए पनि बजारीकरण हुन नसक्दा कृषकले लाभ पाउन नसकेको अध्यक्ष बस्नेत बताउँछन् । ‘पछिल्लो समय व्यवसायिक खेती गर्नेको संख्या बढ्दै छ । कृषि फार्महरू धेरै विकास भएका छन्,’ उनले चाणक्य पोष्टसँग भने, ‘जसले उत्पादन बढाएको छ । तर, बजारीकरणको समस्या र बिचौलियाका कारण कृषकले लाभ हात पार्न सकेका छैनन् ।’

गुणस्तरी सडक पूर्वाधार र चिस्यान केन्द्रको अभावमा बर्खायामले कृषकले कृषकले उत्पादन गरेको तरकारी खेर जाने गरेको उनले बताए । ‘ कृषकले गाउँमा तरकारी फलाउँछन् । सडकका कारण बजारमा ल्याउन सकिँदैन । स्टोर गरेर राख्न चिस्यान केन्द्र छैन,’ उनले भने ।

सडक पुगेको ठाउँमा पनि बिचौलियाका कारण कृषकले मेहनत अनुसारको लाभ हात पार्न नसक्ने अवस्था रहेको उनले बताए । ‘कृषकले सिधै बजारमा ल्याएर बेच्न सक्ने अवस्था छैन । तरकारी उठाउन कृषकको खेतमै बिचौलियाहरू जाने गरेका छन् । उनीहरूले कृषकलाई आधा पनि भाउ दिँदैनन्,’ उनले भने ।

चितवनका तरकारी व्यवसायी अनुग्राहा मल्टीप्रपोज फामका सञ्चालक अमृत सुब्बा तरकारी उत्पादन जति वृद्धि भए पनि बीचौलियाका कारण किसानले नाफा कमाउन नसक्ने बताउँछन् ।

उनले किसानले ३० रुपैयाँमा बेच्ने गोलभेँडा बजारमा उपभोक्तासम्म पुग्दा ७० रुपैयाँदेखि १०० रुपैयाँ पर्न जाँदा किसानले त्यस बीचको कुनै नाफा नलिई बिचौलिया र व्यवसायीले नाफा लिने गरेको बताए ।

‘नेपालमा तरकारी मात्र खेती गरेर खान्छु भन्न गाह्रो छ, हामीले बेचेको मूल्यमा व्यवसायीले ३५ रुपैयाँ नाफा खाएर उपभोक्तालाई बेच्छ, यस्तै हो भने खेती गरेर जिवन आर्जन गर्न सकिँदैन,’ सुब्बाले चाणक्य पोष्टसँग भने ।

केराको उत्पादन बढ्ने

यस वर्ष केराको उत्पादन बढे पनि अमिलो खालका फलफूलहरूमा किरा लागेकाले उत्पादनमा कमी आउने महासंघका अध्यक्ष बस्नेत बताउँछन् ।

चितवनस्थित बनाना क्याफेका सञ्चालक यज्ञप्रसाद सुवेदी यो पटक विगतको तुलनामा केराको उत्पादन धेरै भएको बताउँछन् । चितवनमा मात्र डेढ अर्ब रुपैयाँ बराबरको केराको कारोबार हुने गरेको छ । किसनका खेतमा उत्पादन भएका केराहरू बजारसम्म पुग्न नसक्दा खेतबारीमै कुहिनु परेको उनले बताए ।

२० वर्षदेखि केरा उत्पादन गर्दै आएका सुवेदीले यो पटक केरामा किसानले कुनै मुनाफा कमाउन नसकेको बताए । ‘मैले उत्पादन गरेको केरा बजारसम्म लग्न नपाएर खेतबारीमै कुहियो, कति बाँदरले खाए,’ उनले चाणक्य पोष्टसँग भने ।

७० बिगाहा जमिनमा उनले प्रति बिगाहा २ हजार बोटका दरले १ लाख ४० हजार बोट केरा रोपेका थिए । चितवनका किसानहरूले केरा खेतीबाट १५ देखि २० प्रतिशत नाफा कमाउने गरेका थिए । तर, यो पटक वर्षाका कारण बजारसम्म पुग्न मुस्किल परेको उनले बताए ।
चितवनमा मात्र ४ हजार बिगा क्षेत्रफलमा केराको व्यवसायिक खेती गरिन्छ । सरकारले वर्षेनी आफै केराको विरुवा बाँड्ने भए पनि त्यसको बजारीकरणको कुनै वास्ता नगर्दा किसान मारमा पर्न गएका छन् ।

नेपालमा भारतबाट ५० प्रतिशत केरा आयात हुने गरेको छ । सरकारले फलफूल उत्पादनलाई बजारीकरण गर्न आफै किन्नु पर्ने अथवा भारतको आयात रोके मात्र नेपालमा उत्पादिन फलफूलले बजार पाउने उनले बताए ।‘भारतबाट मात्र ५० प्रतिशत केरा आयात हुन्छ, हामीले उनीहरूसँग कम्पिटिसन गर्न सक्दैनौँ, कि आयात बन्द गर्नु पर्यो कि सरकार आफैले हाम्रो लागत मूल्य तिरेर किन्नु पर्यो नत्र हामी घाटामा छाँै,’ सुवेदीले भने ।

 

नेपाल एयरलाइन्सको अन्तर्राष्ट्रिय उडानको टिकट अब अनलाइनबाटै Read Previous

नेपाल एयरलाइन्सको अन्तर्राष्ट्रिय उडानको टिकट अब अनलाइनबाटै

हिमाल दोलखाको हकप्रद प्रक्रिया अघि बढ्यो, विक्री प्रबन्धक नियुक्त Read Next

हिमाल दोलखाको हकप्रद प्रक्रिया अघि बढ्यो, विक्री प्रबन्धक नियुक्त