बिचौलियाकै कारण खसीबोकाको मूल्य ३० प्रतिशतसम्म बढ्ने

काठमाडौं । दशैँमा खसीबोकाको कारोबार धेरै हुने गर्छ ।अन्य समयकोभन्दा दशैंमा मासुको खपत धेरै हुने भएकाले खसीबोकाको किनबेच पनि बढ्ने भएको हो ।

नेपालमै उत्पादन हुने खसीबोकाले करिब दुईतिहाई मात्र माग धान्ने गरेको व्यवसायीहरू बताउँछन् । बाँकी नपुग खसीबोका भारतीय बजारबाट आउने गरेको छ ।

चौपाया व्यावसायी संघका अध्यक्ष दीपक थापा नेपाली उत्पादनले ६५ प्रतिशत हाराहारीको माग पूरा गर्ने र अन्य भारतबाट मगाउनु पर्ने अवस्था रहेको बताउँछन् । मुलुक कुखुरामा आत्मनिर्भर भए पनि खसी, बोका, राँगा, बंगुरमा आत्मनिर्भर हुन नसकेको उनको भनाइ छ ।

उनले भारतसँग खुल्ला सीमानाका कारण चोरी बाटोबाट खसीबोका ल्याउने गरेको बताए । भारतीय व्यापारीले अवैध बाटोबाट खुसीबोका भित्र्याउने गरेको बताए ।

उनले व्यपारी र सरकारी कर्मचारीको मिलेमतोमै अवैधबाटो हुँदै खसीबोका भित्रिने गरेको बताए । ‘भारतीय खसी सिधै आउन दिन्छ तर, नेपाली खसीबोका ल्याउँदा चेकिङमा दुःख दिने प्रवृत्ति छ,’ थापाले चाणक्य पोष्टसँग भने ‘भारतीय बोर्डरबाट चोरी निकासी गरी ल्याइका खसीबोका नेपाल भित्र्याएपछि सरकारी छाप लागेर बजारमा आउने गरेको छ । तर, अनुगमन छैन ।’

बिचौलियाकै कारण महँगिदै भाउ

उनले बिचौलियाका कारण हरेक वर्ष दशैंमा खसीबोकाको मूल्य बढ्ने गरेको बताउँछन् । ‘नेपाली खसीबोकाले मात्र बजारको माग धान्न सक्ने अवस्था छैन । यस्तोमा भारतबाट अवैध रुपमा ल्याएका खसीबोका गोदाममा लुकाएर राख्छन् । अनि बजारमा पर्याप्त खसीबोका नभएपछि बिचौलियाहरूले भाउ बढाउने र आफूले ल्याएका खसीबोका बेच्ने गरेका छन्,’ उनले भने ।

यस वर्ष पनि बिचौलियाले २० देखि ३० प्रतिशतसम्म भाउ बढाउन सक्ने सम्भावना रहेको उनले बताए । हाल बजारमा लोकल खसीको मूल्य ६३० देखि ६८० रुपैयाँ रहेको उनले जानकारी दिए । यस मूल्यमा २० देखि ३० प्रतिशतले मूल्य वृद्धि हुन सक्ने उनले बताए ।

उनले दशैँका लागि खसीबोका असोज १३ गतेबाट खसीबोका आउन थाल्ने बताए । सोह्रश्राद्ध सकिएपछि खसीबोका ल्याइने उनले बताए । उनले हाल दैनिक २००/३०० खसीबोका काठमाडौं भित्रिरहेको जानकारी दिए ।

उनले दाङ, राधापुर, डोटी, ओखलढुंगा, इलामबाट आएका खसीबोकाको मूल्य ६८० रुपैयाँ प्रतिकेजी पर्न गएको बताए । यस्तै बैतडी र भारतबाट आएका खसीबोकाको मूल्य ७२० रुपैयाँ प्रतिकेजी पर्ने गरेको उनले बताए ।

यसवर्ष तिब्बतबाट च्यांग्रा नआउने भएकाले भाउ केही महँगिन सक्ने व्यवसायीहरू बताउँछन् । अहिले नै मूल्य एकीन नभए पनि च्यांग्राको भाउ प्रतिकेजी १५०० देखि २ हजार रुपैयाँ हाराहारी हुने उनको भनाइ छ ।

काठमाडौंमा ६० हजार खसीबोका चाहिने

काठमाडौंमा दशैँमा मात्र ५० देखि ६० हजारका हाराहारीमा खसीबोका तथा च्याङग्रा आवश्यक पर्ने पशु सेवा विभागका सूचना अधिकारी चन्द्र ढकाल बताउँछन् ।

पशु सेवा विभागको तथ्यांक अनुसार सामान्य तया काठमाडौंमा दैनिक १ हजार देखि १२ सय खसीबोका तथा च्याङग्रा खपत हँुदै आएको छ । देशको ७५३ तहमै खसी, बोका उत्पादन हुँदै आएको छ । देशभर खसीबोका तथा च्याङग्रा गरेर १ करोड ३८ लाख वर्षेनी उत्पादन हुने गरेको उनले बताए । उक्त तथ्यांक अनुसार आवश्यक खपतको माग पूरा गर्न सक्ने उत्पादन रहेको उनले बताए ।

‘हामीसँग पर्याप्त खसीबोका, च्याङ्ग्रा उत्पादन हुन्छ, भारतबाट पनि आउँछ तर, हेल्थ सर्टिफिकेट लिएर आएका लाई मात्र ल्याउन दिएका छौं,’ ढकालले चाणक्य पोष्टसँग भने ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले पशुपन्छी जन्य वस्तु आयातमा स्वास्थ्य परीक्षण र भेटनरी जाँच बिनाका जिउँदा तथा मरेका पशुपन्छी आयात गर्न नपाउने व्यवस्था गरेको छ । भारतबाट आयात हुने पशुपन्छी (खसीबोका, बाख्रा, राँगाभैंसी, भेडा, बंगुर, माछा तयारी कच्चा मासुलगायत)का सामग्री अवैध आयातमा कडाइ भएसँगै नेपालमा भारतबाट पशुपन्छी आयातमा कम भएको छ ।

गत आर्थिक वर्षमा ४५ करोड ६० लाख रुपैयाँ बराबरको खसीबोका तथा भेडा च्याङग्रा आयात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ । सो मूल्यमा ५१ हजार खसीबोका तथा च्याङग्रा/भेडा आयात भएको थियो ।

दशैँमा बजारमा आउने हरेक खसीबोका, च्याङग्राहरूको भेट्नेरी परीक्षण गराएर मात्र ल्याइने ढकालले बताए । उनले त्यसका लागि हरेक पालिकामा भेटनरी डाक्टरको व्यवस्था गरिएको बताए ।

 

आयात खुलाको प्रभाव, भदौमा ११ अर्बले बढ्यो आयात Read Previous

आयात खुलाको प्रभाव, भदौमा ११ अर्बले बढ्यो आयात

११ वटा भन्सारबाट निर्यात शून्य, विराटनगरबाट सबैभन्दा धेरै Read Next

११ वटा भन्सारबाट निर्यात शून्य, विराटनगरबाट सबैभन्दा धेरै