काठमाडौं । चालु आर्थिक वर्षको पहिलो दुई महिना (साउन भदौ)मा २ खर्ब ७३ अर्ब ५९ करोडको वस्तु आयात भएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा ४१ अर्बले कम हो । गत वर्ष भदौसम्म ३ खर्ब १४ अर्ब ५१ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको थियो ।
चालु आवमा निर्यातमा पनि ठूलो गिरावट आएको छ । गत वर्षको तुलनामा चालु आवमा वस्तु निर्यात ३४.८८ प्रतिशतले घटेको छ ।
यस वर्षको दुई महिनामा कुल २८ अर्ब ६८ करोडको वस्तु निर्यात भएको छ । जबकी गत वर्ष सोही अवधिमा ४४ अर्ब ३ करोडको वस्तु निर्यात भएको थियो ।
चालु आवमा २६ वटै भन्सार कार्यालयबाट आयात भए पनि निर्यात भने १५ वटा बाट मात्रै भएको छ । दुई महिनाको अवधिमा ११ वटा भन्सार कार्यालयबाट निर्यात शून्य रहेको भन्सार विभागले जनाएको छ ।
विभागका अनुसार तातोपानी भन्सार, रसुवागढी भन्सार, भद्रपुर भन्सार कार्यालय, गौर भन्सार कार्यालय, जनकपुर भन्सार कार्यालय, महेशपुर भन्सार, राजविराज भन्सार, सतिभन्सार, सिरहा भन्सार, सुनसरी भन्सार, ठाडी भन्सारबाट निर्यात शून्य रहेको छ ।
सबैभन्दा धेरै वस्तु निर्यात विराटनगर भन्सारबाट भएको छ। दुई महिनामा कुल ४४ अर्बको निर्यातमा विराटनगर भन्सारबाट मात्रै ८ अर्ब ८७ करोड रुपैयाँबराबरको भएको हो।
त्यस्तै दोस्रोमा वीरगन्ज भन्सारबाट ७ अर्ब ४७ करोड रुपैयाँ बराबरको भएको हो। तेस्रोमा त्रिभुवन एरपोर्ट भन्सार कार्यालय हुँदै निर्यात भएको देखिएको छ। जसबाट ६ अर्ब ७० करोड रुपैयाँको भएको देखिएको छ।