आयात खुलाको प्रभाव, भदौमा ११ अर्बले बढ्यो आयात

काठमाडौं । सरकारले विभिन्न वस्तुमा लगाएको प्रतिबन्ध हटाएसँगै आयात बढेको छ । चालु आर्थिक वर्षको साउनको तुलनामा भदौैमा ११ अर्ब बढीको वस्तु आयात भएको छ ।

भन्सार विभागले आइतबार सार्वजनिक गरेको तथ्यांक अनुसार भदौमा १ खर्ब ४१ अर्ब बराबरको विदेशी वस्तु आयात भएको छ । यो साउनको तुलनामा ११ अर्ब बढी हो । साउनमा १ खर्ब ३१ अर्ब रुपैयाँको वस्तु आयात भएको थियो ।

सरकारले विभिन्न ६ वस्तुमा लगाएको प्रतिबन्ध हटाउँदा र अन्य समयमाभन्दा चाडपर्वका लागि धेरै सामान ल्याउँदा आयात बढेको हो । सरकारले वैशाखदेखि विभिन्न १० वस्तु आयात प्रतिबन्ध लगाएकोमा गत महिनादेखि ६ वस्तुको आयात खुलाएको थियो ।

गत वर्षको तुलनामा भने चालु आवको दुई महिनामा वस्तु आयात १३.०१ प्रतिशतले घटेको छ । चालु आवको दुई महिनामा २ खर्ब ७३ अर्ब ५९ करोडको वस्तु आयात भएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा ४१ अर्बले कम हो । गत वर्ष भदौसम्म ३ खर्ब १४ अर्ब ५१ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको थियो ।

चालु आवमा निर्यातमा पनि ठूलो गिरावट आएको छ । गत वर्षको तुलनामा चालु आवमा वस्तु निर्यात ३४.८८ प्रतिशतले घटेको छ ।

यस वर्षको दुई महिनामा कुल २८ अर्ब ६८ करोडको वस्तु निर्यात भएको छ । जबकी गत वर्ष सोही अवधिमा ४४ अर्ब ३ करोडको वस्तु निर्यात भएको थियो ।

व्यापार घाटा ९.४५ प्रतिशतले कम

गत वर्षको तुलनामा चालु आवको दुई महिनामा व्यापार घाटा ९.४५ प्रतिशतले घटेको छ । विभागका अनुसार भदौसम्म कुल व्यापार घाटा २ खर्ब ४४ अर्ब रुपैयाँ रहेको छ । जबकी गत वर्षको सोही अवधिमा २ खर्ब ७० अर्ब रुपैयाँ व्यापार घाटा थियो ।

आधा अर्बको पेट्रोलियम पद्धार्थ आयात

चालु आवको दुई महिनामा आधा अर्ब बढीको पेट्रोलियम पद्धार्थ आयात भएको छ । विभागका अनुसार चालु आवको दुई महिनामा ५० अर्ब ८८ करोड रुपैयाँ बराबरको पेट्रोलियम पदार्थको आयातमा भएको छ । यो आयातित वस्तुमध्ये सबैभन्दा धेरै हो ।

त्यस्तै, दुई महिनामा फलाम र स्टीलको आयातमा २४ अर्ब ३५ करोड रुपैयाँ विदेशिएको छ । त्यसैगरी, दुई महिनामा विद्युतीय सामग्री १८ अर्ब २३ करोड, औषधिजन्य वस्तु आयात १० अर्ब १७ करोड, वनस्पति तेल र यससँग सम्बन्धी वस्तु १९ अर्ब ८ करोड रुपैयाँ बराबरको आयात भएको छ ।

थामिएन सेयर बजारको पहिरो, यी हुन् धेरै मूल्य घट्ने कम्पनी Read Previous

थामिएन सेयर बजारको पहिरो, यी हुन् धेरै मूल्य घट्ने कम्पनी

बिचौलियाकै कारण खसीबोकाको मूल्य ३० प्रतिशतसम्म बढ्ने Read Next

बिचौलियाकै कारण खसीबोकाको मूल्य ३० प्रतिशतसम्म बढ्ने