काठमाडौं । सेयर बजारले आफ्नो ओरालो यात्रा जारी राखेको छ । गत साता १४२ अंकले घटेको नेप्से यस साताको पहिलो कारोबार दिनमै दोहोरो अंकले घटेको छ ।
आइतबार नेप्से परिसूचक २३.८३ अंकले घटेर १८१५.१३ बिन्दुमा आइपुगेको छ । यसदिन २२८ कम्पनीको १ अर्ब ७ करोड २४ लाख ८० हजार ९७ रुपैयाँ बराबरको ४० लाख १४ हजार ४१९ कित्ता सेयर किनबेच भएको छ ।
आज कारोबारमा आएका १३ वटै उपसमूहको परिसूचक राताम्मे भएको छ । इन्भेष्टमेन्ट समूह सबैभन्दा धेरै २.८२ प्रतिशतले घटेको छ । त्यस्तै, फाइनान्स, हाइड्रोपावर समूह पनि २ प्रतिशतभन्दा धेरैले घटेको छ ।
आज लक्ष्मी बैंकको सर्वाधिक सर्वाधिक कारोबार भएको छ । यसको २६ करोड बढीको सेयर किनबेच भएको छ ।
आइतबार तेह्रथुम पावरका सेयरधनीले सबैभ्न्दा धेरै ७.९० प्रतिशत गुमाएका छन् । त्यसैगरी, कुमारी धनवृद्धि योजना ७, सामुदायिक लघुवित्त ६.६५, निफ्रा ६.४१, बुद्धभूमि नेपाल, अरुण भ्याली, ग्रीनलाइफ हाइड्रोपावर, मन्दकिनी हाइड्रोपावर, मल्टिपर्पस फाइनान्स र खानीखोला हाइड्रोपावरको सेयर मूल्य ५ प्रतिशतभन्दा धेरै घटेको छ ।
घट्दो बजारमा आज अभियान लघुवित्तको सेयर मूल्यमा भने पोजेटिभ सर्किट लागेको छ । यसका सेयरधनीले ठ्याक्कै १० प्रतिशत कमाएका छन् ।