काठमाडौं । दशैं नजिकिएसँगै हवाई भाडा आकाशिएको छ । इन्धनको मूल्य वृद्धि र यात्रुको चाप बढेसँगै एयरलाइन्स कम्पनीहरुले हवाई भाडा बढेको छ ।
एयरलाइन्स कम्पनीहरुले हरेक गन्तव्यको न्यूनतम र अधिकतम भाडा निर्धारण गरेका छन् । न्यूनतम भाडादरमा टिकटै पाइने अवस्था छैन भने यात्रुहरुले अधिकतम मूल्यमै टिकट काट्नु पर्ने बाध्यता छ ।
अझै दशैंको बेलाको टिकट अधिकतम मूल्यमा समेत पाइने अवस्था छैन । दशैंका दिनहरुको अधिकांश टिकट सोल्ड आउट भइसकेको छ ।
अनलाइन मार्फत एयरलाइन्स कम्पनीको टिकट सहजै काट्न सकिने भएकाले कतिपय स्थानको अग्रिम टिकट बुकिङ सकिएको कम्पनीहरुले जनाएका छन् । यात्रुको चापले सामान्य शुल्कका टिकट नपाउने भएका छन् ।
काठमाडौंबाट सबैभन्दा टाढाको आन्तरिक धनगढीको हवाई भाडा प्रतिव्यक्ति १७ हजार रुपैयाँसम्म पुगेको छ । यतिबेला अन्तर्राष्ट्रिय गन्तव्य भारतको नयाँ दिल्ली–काठमाडौंको हवाई भाडा १५ हजारको हाराहारीमा मात्र रहेको छ । यस आन्तरिक रुटको भाडा ८ हजारसम्म कायम गरिएको भएपनि एयरलाइन्स कम्पनीहरुले यात्रुको चाप अनुसार उडान गर्न नसक्दा भाडा महंगो भएको छ ।
सामान्य अवस्थामा (अकुपेन्सी ६० देखि ७० प्रतिशत हुँदा) एयरलाइन्स कम्पनीहरुले ७ हजार भाडामै धनगढी लग्ने गरेको भए पनि अहिले दोब्बर बढीले बढेर १७ हजारसम्म पुगेको छ । जसको कारण दशैंमा घरजाने टाढाका यात्रुहरुलाई महंगी समस्या भएको छ ।
कमजोर सडक पूर्वाधार र असहज सडक यात्राका कारण हवाई यात्रा मानिसको रोजाइमा पर्ने गरेको छ । तर, भाडा महंगो भएपछि काठमाडौंबाट दिल्ली हुँदै धनगढीको यात्रामा निस्किन सस्तो पर्ने भन्दै यस क्षेत्रका मानिसहरुले सामाजिक संञ्जालमा ब्यंग्य गर्न थालिएका छन् ।
यात्रुहरुको आवतजावत बढेसँगै कम्पनीहरुलाई पनि व्यापार गर्न भ्याइनभ्याई भएको छ । हाल दैनिक आन्तरिक उडान मार्फत आवतजावत गर्ने यात्रुहरुको संख्या १२ हजारसम्म पुग्ने गरेको विमानस्थल कार्यालयले जनाएको छ । सुर्खेत, तुम्लिङटार, लगायतका गन्व्यको अग्रिम टिकट बुकिङ सकिएको हवाई कम्पनीले जनाएका छन् ।
कुन गन्तव्यको कति छ भाडा ?
आन्तरिक गन्तव्य काठमाडौंदेखि धनगढीको न्यूनतम हवाई भाडा ९ हजार ५०० पुगेको छ । यो समाचार तयार पार्दासम्म सो गन्तव्यको अधिकतम् भाडा शुल्क १७ हजार २५ रुपैयाँ पुगेको छ ।
काठमाडौंदेखि विराटनगरसम्मको न्यूनतम भाडा शुल्क ८ हजार र अधिकतम १० हजार रुपैयाँ पुगेको छ । आइतबार भद्रपुरको न्यूनतम ७ हजार र अधिकतम १२ हजार ९५५ रुपैयाँ कायम छ ।
यसैगरी, जनकपुरको ५ हजारदेखि ५८६०,भरतपुर ५ हजार, नेपालगन्ज ८७४० देखि १३९८० रुपैयाँसम्म पुगेको छ । पोखराको प्रतिव्यक्ति ४ हजारदेखि ७ हजार रपैयाँसम्म पुगेको छ भने भैरहवाको ६७७५ देखि ८६७५ रुपैयाँ प्रतिव्यक्ति भाडा कायम रहेको छ ।