काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को सेयर मूल्य इतिहासकै सस्तो भएको छ । डेढ वर्ष यता लगातार ओरालो लागेको निफ्राको सेयर मूल्य हालसम्मकै सस्तो भएको हो ।
आइतबार (१२ बजेसम्म) निफ्राको सेयर मूल्य ६.६७ प्रतिशतले घटेर प्रतिकित्ता १८६ रुपैयाँमा आएको छ । यो निफ्राको अधिकतम मूल्यभन्दा झन्डै ४ गुणा सस्तो हो ।
२०७७ फागुन ११ गते निफ्राको सेयर मूल्य इतिहासकै सर्वाधिक प्रतिकित्ता ७२६ रुपैयाँ पुगेको थियो । त्यसयता लगातार घट्न थालेको निफ्राको सेयर मूल्य कारोबारमा आय यताकै सस्तो भएको हो ।
२०७७ फागुन २ गतेदेखि निफ्राको सेयर दोस्रो बजारमा कारोबारमा आएको थियो । प्रतिकित्ता ३४० रुपैयाँमा पहिलो कारोबार भएको निफ्राको सेयर मूल्य ७२६ रुपैयाँ पुगेर अहिले १८६ रुपैयाँमा आइपुगेको छ ।
चुक्ता पूँजीका आधारमा नेप्सेमा सूचीकृत कम्पनीमध्ये दोस्रो ठूलो कम्पनी रहेको निफ्राको सेयरमा पछिल्लो समय लगानीकर्ताको खासै आकर्षण देखिँदैन ।
चुक्ता पूँजी धेरै र सो अनुसार व्यापार, व्यवसाय विस्तार गर्न नसक्दा निफ्राले नाफामा उल्लेख् वृद्धि गर्न सकेको छैन् । पूँजी अनुपातमा नाफा बढाउन नसक्नु, सेयर संख्या धेरै भएकाले बजारमा सेयर फालफाल हुनु, सेयरधनीलाई न्यून मात्रमा लाभांश दिनु लगायत कारणले यसको सेयर मूल्यमा लगातार गिरावट आएको हो ।
पहिलो वर्ष (आव २०७७/७८)मा सेयरधनीलाई ८.४२ प्रतिशत लाभांश दिएको निफ्राले दोस्रो वर्षमा लाभांश आधाले घटाएको छ । गत आव २०७८/७९ को मुनाफाबाट निफ्राले जम्मा ४.२१ प्रतिशत लाभांश घोषणा गरेको छ ।
ठूलो संख्या सेयर भएकाले स्वार्थ समूहले यसको यसर मूल्यमा चलखेल समेत गर्न सकेका छैनन् । कारोबार खुल्ने बित्तिकै चलखेल गरी ७२६ रुपैयाँ पुर्याएको निफ्राको सेयर मूल्य त्यसयता लगातार घट्दो क्रममा छ ।