काठमाडौं । भदौमा वाणिज्य बैंकहरूको निक्षेप संकलनमा सुधार आएको छ । चरम तरलता अभाव झेलिरहेका वाणिज्य बैंकहरूले भदौमा ५२ अर्ब निक्षेप बढाउन सफल भएका हुन् ।
नेपाल बैंकर्स संघका अनुसार साउन अन्तिमसम्ममा ४४ खर्ब ३३ अर्ब रुपैयाँ रहेको बैंकहरूको निक्षेप भदौमा ४४ खर्ब ८५ अर्ब रुपैयाँ पुगेको छ । भदौमा २६ वटा वाणिज्य बैंकहरू मध्ये २० बैंकको निक्षेप बढेको छ भने ६ वटाको निक्षेप घटेको छ ।
भदौमा सानिमा, सेन्चुरी, एनसीसी, सिभिल, प्रभु र सिद्धार्थ बैंकको निक्षेप घटेको । जसमा सबैभन्दा धेरै सानिमा बैंकको ३ अर्ब ४० करोड रुपैयाँ घटेको छ ।
भदौमा सबैभन्दा धेरै निक्षेप संकलन सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले गरेको छ । यस बैंकले भदौमा १५ अर्ब ४५ करोड निक्षेप बढाउन सफल भएको छ ।
निक्षेप संकलनमा सुधार आएसँगै बैंकहरूके कर्जा लगानीमा पनि विस्तारै सुधार आउन थालेको छ । साउनमा जम्मा १ अर्ब ६९ करोड रुपैयाँ मात्र कर्जा लगानी गरेका बैंकहरूले भदौमा १३ अर्ब ७५ करोड रुपैयाँ कर्जा विस्तार गरेका छन् ।

साउन मसान्तसम्म कुल ४१ अर्ब ७७ अर्ब रुपैयाँ रहेको वाणिज्य बैंकहरूको कर्जा भदौ मसान्तमा ४१ खर्ब ९० अर्ब रुपैयाँ पुगेको छ ।
भदौमा १७ बैंकले कर्जा लगानी बढाउन सफल भएका छन् भने ९ बैंकको घटेको छ । भदौमा प्राइम कमर्शियल, सिभिल, लक्ष्मी, बैंक अफ काठमाडौं, नेपाल, कुमारी, एनसीसी, सेन्चुरी र राष्ट्रिय वाणिज्य बैंकको कर्जा लगानी घटेको छ ।
भदौमा सबैभन्दा धेरै कर्जा लगानी एनआइसी एशियाले गरेको छ । एनआइसीले ५ अर्ब ७३ करोड कर्जा विस्तार गरेको छ । त्यस्तै, भदौमा सेन्चुरी कर्मशियलको कर्जा सबैभन्दा धेरै ५ अर्ब ५६ करोडले घटेको छ ।
निक्षेपमा सुधार आएसँगै बैंक्हरूको सीडी अनुपातमा पनि सुधार आएको छ । साउन मसान्तसम्म बैंकहरूको औसत सीडी रेसियो ८८.०७ प्रतिशत रहेको थियो भने भदौमा ८८ प्रतिशभन्दा कम छ ।