काठमाडौैं । लगानीयोग्य रकम अभावको सामना गरिरहेका बैंकहरु बीच निक्षेप तान्ने प्रतिस्पर्धा चलेको छ । लामो समयदेखि कर्जा विस्तारको तुलनामा निक्षेप संकलन नभएपछि बैंकहरुले आकर्षक ब्याजदर सहित थरिथरीका बचत योजना सार्वजनिक गरिरहेका छन् ।
बैंक संञ्चालकहरुले ब्याजदर नबढाउने सिन्डीकेट तोडेसँगै वाणिज्य बैंकहरु बीच ब्याजदर वृद्धिको होड चलेको छ । ६ महिनादेखि स्थिर रहेको ब्याजदर असोजमा बैंकहरुले बढाएका छन् ।
यस अवधिमा निक्षेपको नयाँ ब्याजदर सहित ग्रहाकको ध्यान तान्न विभिन्न योजना ल्याएका छन् । गत आर्थिक वर्षको दोस्रो त्रैमासदेखि बैंक तथा वित्तीय संस्थाहरुले लगानीयोग्य रकमको संकट सामना गरिरहेका छन् ।
जसको कारण कर्जा विस्तार गर्न नपाउँदा व्यवसायमा गिरावट आउने विश्लेषण गर्न थालिएको छ । अघिल्लो महिनाको तुलनामा १० प्रतिशतभन्दा बढी ब्याज बढाउन नपाउने नेपाल राष्ट्र बैंकले व्यवस्था गरे पनि बैंकहरुले आफूखुसी निर्धारण गरिरहेका छन् ।
आधारदर नै दोहोरो अंकमा पुगेका बेला मद्दती निक्षेको ब्याजदर १५ प्रतिशतसम्म बैंकहरुले तोकेका छन् । सोही कारण कर्जाको ब्याजदर आकाशिएको भन्दै उद्योगी, व्यवसायीहरुले घटाउन माग गरिरहेका छन् ।
ब्याजदर बढाउँदैमा निक्षेप नबढ्ने र यसले लागत बढाएर अर्थतन्त्रमा थप असर पार्ने बैंकिङ क्षेत्रका जानकारहरु बताउँछन् । यसले एक ठाउँको निक्षेप अर्को बैंकमा लैजान मात्र प्रोत्साहन गरिरहेको उनीहरुको भनाइ छ ।
गत वर्षको पहिलो तीन महिनामा आक्रामक कर्जा विस्तारपछि वित्तीय प्रणालीमा निक्षेप बढ्न सकेको छैन् । आयात वृद्धि र रेमिट्यान्समा गिरावट, अनुत्पादक क्षेत्रमा लगानी, पूँजी पलायन जस्ता कारणहरुले निक्षेप नबढ्दा तरलता अभावमा प्रोत्साहन पुर्याएको छ ।
मंगलबारसम्म वाणिज्य बैंकहरुमा निक्षेप संकलन ४४ खर्ब ८८ अर्ब पुगेको छ भने कर्जा लगानी ४१ खर्ब ८४ अर्ब रुपैयाँ पुगेको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ । तरलता अभावको समस्या कम गर्न राष्ट्र बैंकले बेलाबेलामा विभिन्न नियामकिय सुविधा दिइरहेको छ ।
ग्लोबल आइएमई बैंकले चक्रवर्ती मुद्दती योजना ल्याएको छ । यस योजना अन्र्तगत बैंकले १९.१७ वर्षमा निक्षेपको १० गुणासम्म रकम पाउन सकिने जनाएको छ ।
जसमा मुद्दती निक्षेप दोब्बर,तेब्बर चौबर तथा ग्रहाकको चाहाना अनुसार खोल्न सकिने जनाएको छ । साथै, जम्मा भएको रकम मध्ये ९० प्रतिशतसम्म ऋण सुविधा लिन सकिने बताएको छ ।
नबिलले २ देखि १० गुणासम्म रकम फिर्ता पाउन सकिने नबिल ढुक्क मुद्दती खाता योजना ल्याएको छ । जसका ग्रहाकले व्यक्तिगत तर्फ २० वर्षसम्म निक्षेप राखे दश गुणा साढे ६ वर्षसम्म २ गुणा र रेमिट्यान्स तर्फ ६ महिनामा २ गुणा र साढे १९ वर्षमा बचतको १० गुणासम्म रकम पाउन सक्ने बैंकले जनाएको छ ।
यस बैंकले रेमिट्यान्स मुद्दती खातामा १३.१३ र बचतमा ७.१३ प्रतिशतसम्म ब्याजदर तोकेको छ ।
एनआईसी एसिया बैंकले विभिन्न प्रकारका सर्वश्रेष्ठ बचत खाता योजना ल्याएको छ । सर्वश्रेष्ठ रेमिट्यान्स मासिक निक्षेप खाताको ब्याजदर १३.१३३ प्रतिशत तोकेको छ ।
यस बैंकले व्यक्तिगत तथा संस्थागत मुद्दती निक्षेप रकममा आधारदरमा साढे ६ प्रतिशतसम्म प्रिमियम जोडेर ब्याजदर दिइरहेको जनाएको छ । जसअनुसार बैंकको संस्थागत मुद्दती निक्षेपको ब्याजदर १६ प्रतिशत भन्दामाथि पुग्ने देखिन्छ ।
बैंक अफ काठमाडूले बीओके मुद्दती योजना आकर्षक ब्याजदर सहितको अफर ल्याएको छ । बैंकले बचत खातामा ७.६५३, रिकरिङ बचत खातामा १२.१३३ प्रतिशतसम्म ब्याज दिने बताएको छ ।
प्रभु बैंकले प्रभु उन्नती मुद्दती बचत योजना ल्याएको छ । मेहेनतको कमाइमा उच्च ब्याजदर योजना अन्र्तगत १५.१३ प्रतिशत ब्याजदर दिने जनाएको छ । बैंकका अनुसार निक्षेप अवधि ३ महिना वा सोभन्दा बढी हुनुपर्ने र ९० प्रतिशतसम्म कर्जा लिनसकिने छ ।
यसैगरी, मेगा बैंकले मेगा म्याजीक मुद्दती योजना अन्र्तगत बचतकर्ताले दुई गुणादेखि ६ गुणासम्म रकम फिर्ता पाउन सक्ने जनाएको छ । दुई गुणा योजनामा व्यक्तिगत तर्फ ६ वर्ष ३ महिना २० दिन, रेमिट्यान्स तर्फ ५ वर्ष ९ महिना १३ दिन र संस्थागत तर्फ ७ वर्ष ८ महिना १२ दिनको अवधि तोकेको छ ।
हिमालयन बैंकले हिमाल बचत खाता, मुद्दती बचत योजना अन्र्तगत ग्रहाकलाई साढे ७ प्रतिशतदेखि १३.१३ प्रतिशतसम्म ब्याज दिने जनाएको छ । यस बैंकले व्यक्तिगत मुद्दती खातामा १२.१३ र हिमाल रेमिट् मुद्दती खातामा १३.१३ प्रतिशत ब्याजदर तोकेको छ ।
नेपाल इन्भेष्टमेन्ट बैंकले गज्जब छ मुद्दती खाता योजना अन्र्तगत बचतकर्ताको रकम २० वर्षमा ६ गुणा बढी हुने स्कीम ल्याएको छ । आफ्नै बचत खाता, लकर बचत खाता जस्ता योजनामा आधारदरमा ७.१३३ प्रतिशतसम्म प्रिमियम जोडेर ब्याज दिइरहेको बैंकले जनाएको छ ।
सिभिल बैंकले खुत्रुके खाता, सुपर वैदेशिक रोजगार खाता,तेब्बर मुद्दती खाता लगायत योजना ल्याएको छ । आधार दरमा प्रिमियम जोडेर आकर्षक ब्याजदर सहित मुद्दती निक्षेपका विभिन्न योजनाहरु यस बैंकले ल्याएको छ ।
कुमारी बैंकले श्रीवृद्धि मुद्दती योजना अन्र्तगत ५ देखि १०० गुणासम्म रकम पाउन सकिने जनाएको छ । यस बैंकले १० प्रतिशत आधारदरमा ९ प्रतिशतसम्म प्रिमियम जोडेर ब्याज तोकेको छ ।
सानिमा बैंकले छ गुणासम्म प्रतिफल प्राप्त गर्न सकिने सानिमा बम्पर धमाका मुद्दती योजना ल्याएको छ । ५.७९ वर्षमा रकम २ गुणा तथा १३.४५ वर्षमा ५ गुणासम्म पाउन सकिने बैंकको भनाइ छ । यस बैंकले साढे दशदेखि १३.५१ प्रतिशतसम्म ब्याजदर असोजका लागि तोकेको छ ।
प्राइम कमर्सियल बैंक, सिद्धार्थ बैंक, लक्ष्मी, कृषि विकास, नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक,सेन्चुरी कमर्सियल बैंक,सनराइज लगायत वाणिज्य बैंकहरुले निक्षेप तान्न विभिन्न योजना ल्याएर ग्रहाक आकर्षण गरिरहेका छन् ।