काठमाडौं । वायुसेवा प्रदायकहरुले काठमाडौंबाट पर्यटकीय रुटमा गरिने हेलिकप्टर चार्टर्डको भाडा बढाएका छन् ।
वायुसेवा सञ्चालक संघ, नेपालले यही असोज १५ (१ अक्टोबर २०२२)देखि लागू हुने गरी पर्यटकीय गन्तव्यको हेलिकप्टर चार्टर्ड भाडा बढाएका हुन् ।
हवाई इन्धनको मूल्य तथा अमेरिकी डलरको एक्स्चेन्ज रेटमा भएको वृद्धिलाई मध्येनजर गर्दै नयाँ भाडादर निर्धारण गरिएको संघले जनाएको छ ।
डलरमा भाडादर बढाए पनि संघले नेपाली भाडादरमा भने परिवर्तन गरेको छैन । पर्यटकीय गन्तव्यमा हुने चार्टर्ड उडानको डलर फेयरमा भने वृद्धि भएको छ ।
नयाँ भाडादर अनुसार काठमाडौं–लुक्ला–काठमाडौं रुटको भाडा ३ हजार डलर पुगेको छ । यसअघि यसरुटको भाडा २४ सय डलर थियो ।
त्यसैगरी, काठमाडौं–सगरमाथा बेस क्याम्प–काठमाडौं भाडादर ३४ सय डलरबाट ४ हजार डलर पुगेको छ । यो ३ यात्रुका लागि हो । ५ यात्रुको भाडा ४५ सय डलर पुगेको छ । यसअघि ५ यात्रुको ३७ सय डलर रहेको छ ।
यस्तै, काठमाडौंबाट हुने माउण्टेन फ्लाइटको भाडा ३ यात्रुको भाडादर ३४ सय डलरबाट ४ हजार डलर र ५ यात्रुको ३७ सय डलरबाट ४५ सय डलर पुगेको छ ।
लुक्लाबाट एभरेष्ट बेस क्याम्पको भाडा अब ३ यात्रुको १५ सय डलर पुगेको छ । यसअघि यो रुटको भाडा १२ सय डलर रहेको थियो ।