सुन्दर यातायातले माघ भित्रै विद्युतीय गाडी एसेम्बल गर्ने, २५ स्थानमा चार्जिङ स्टेसन बनाउँदै

काठमाडौं । सुन्दर यातायातले आगामी माघभित्रै नेपालमै विद्युतीय गाडी एसेम्बल गर्ने भएको छ । माघ भित्रै नेपालमै एसेम्बल भएर बनेको नेपाली लोगो सहितको विद्युतीय गाडी काठमाडौं उपत्यकामा गुडाउने तयारी भइरहेको सुन्दर यातायातका सञ्चालक भेषबहादुर थापाले जानकारी दिए ।

उनले रुपन्देहीको सैनाबैना नगरपालिका वडा नम्बर ८ मा नेपाल सरकारले उपलब्ध गराएको २३ बिघा जमिनमा विद्युतीय सवारी साधन एसेम्बल प्लान्ट बनाउन लागेको बताए । उक्त प्लान्ट निर्माणका लागि पहिलो चरणको डीपीआर निर्माणको काम समेत पूरा भइसकेको बताए ।

प्लान्टबाट वार्षिक रूपमा १ हजार गाडी एसेम्बल गर्न सके पनि सुरूवातमा ५० वटा गाडी एसेम्बल गरिने योजना रहेको छ । नेपालकै लोगो राखेर काठमाडौंको सडकमा चाँडै विद्युतीय बस गुडाउने लक्ष्य सहित काम भइरहेको उनले बताए ।

‘जग्गा सरकारले उपलब्ध गराई सकेको छ, डीपीआरको पहिलो चरणको काम पनि भइसक्यो, अब एसेम्बल गरेर उत्पादन गरी गुडाउने तयारी हो,’ थापाले चाणक्य पोष्टसँग भने ‘हामी सुन्दर ग्रुप अन्तर्गत आफैं पाटपुर्जा आयात गरेर त्यहाँ एसेम्बल गरेर गाडी बनाउने छाैं ।’

उक्त प्लान्ट निर्माणका लागि १ अर्ब रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । उनले दशैँतिहार सकिएको ३ महिना भित्र यानी माघ महिनाभित्र प्लान्टबाट उत्पादन भएको गाडी काठमाडौंमा परीक्षणको रूपमा गुडाइने बताए ।

उनका अनुसार उक्त गाडीमा नेपालकै लोगो राखिने छ । प्लान्ट निर्माण पछि नेपालमा आएर एसेम्बल हुने गाडी निर्यात सम्मको योजना रहेको उनले जानकारी दिए ।

२५ स्थानमा चार्जिङ स्टेसन बनाउने

सुन्दर यातायात देशका प्रमुख सहरमा चार्जिङ स्टेसन स्थापना गर्ने भएको छ । सुन्दरले आगामी आर्थिक वर्षभित्र २५ ठाउँमा चार्जिङ स्टेसन बनाउने थापाले बताए ।

उनका अनुसार बुटवल कालिका नगरमा आधुनिक चार्जिङ स्टेसन अन्तिम चरणमा रहेको छ । ढल्केबरमा पनि आधुनिक चार्जिङ स्टेसन निर्माण सुरू भएको उनले जानकारी दिए ।उपत्यकामा धुम्बाराही, सितापाइला, भत्तपुरको राधेराधेमा चार्जिङ स्टेसन निर्माण कार्य अघि बढाइएको उनले बताए ।

चार्जिङ स्टेसन राख्न काठमाडौंमा महंगो

चार्जिङ स्टेसन निर्माण काठमाडौंभन्दा उपत्यका बाहिर सस्तो पर्ने गरेको थापा बताउँछन् । उनका अनुसार काठमाडौंमा जग्गाको मूल्य महंगो भएका कारण एउटा चार्जिङ स्टेसन राख्न १ करोड हाराहारी खर्च लाग्ने गर्छ ।

उपत्यका बाहिर ७० देखि ८० लाख रुपैयाँ खर्चमा चार्जिङ स्टेसन राख्न सकिने उनले बताए । उनका अनुसार ढल्केबर र बुटवलमा ७०/८० लाखमा चार्जिङ स्टेसन राख्ने काम सुरू गर्न लागिएको छ ।

पेट्रोलियम स्कुटर विद्युतीयमा कन्भर्ट गर्दै  

सुन्दर यातायातले पेट्रोलबाट चल्ने स्कुटरलाई विद्युतीय करणको काम समेत सुरू गरेको छ । एउटा स्कुटरलाई विद्युतमा कन्भर्ट गर्न ७० हजार रुपैयाँ लाग्ने उनले बताए ।

७० हजार रुपैयाँको कन्भर्ट गरेको स्कुटरबाट ३ महिनामा पैसा असुल हुने उनले बताए । यो पेट्रोलबाट गुड्ने स्कुटरभन्दा निकै सस्तो पर्न जाने उनले बताए । पेट्रोलबाट चल्ने स्कुटरको तुलनमा विद्युतीयकरण भएको स्कुटरले धेरै पैसा बचाउने उनले बताए ।

‘स्कुटर कन्र्भट गरेर चलाउँदा ३ महिनामा तपाईको लगानी उठ्छ । किन भने दिनको ६० किलोमिटर गुड्दा दिनको ३ लिटर तेल चाहिन्छ । १६५ रुपैयाँ लिटरले ६०० हाराहारी खर्च हुन्छ तर, विद्युतमा कन्भर्ट गरेपछि ३३ रुपैयाँ पनि खर्च हुन्न । २७० रुपैयाँ त्यसै बचत भयो,’ थापाले भने । उनले बचत भएको रकमबाट ३ वर्षमा ब्याट्री फेर्न पुनः प्रयोग गर्न सकिने बताए ।

 

नेप्सेमा दोहोरो अंकको कमब्याक, यी हुन् धेरै मूल्य बढ्ने १० कम्पनी Read Previous

नेप्सेमा दोहोरो अंकको कमब्याक, यी हुन् धेरै मूल्य बढ्ने १० कम्पनी

पर्यटकीय रुटको हेलिकप्टर चार्टर्ड भाडा बढ्यो, कहाँको कति पुग्यो ? Read Next

पर्यटकीय रुटको हेलिकप्टर चार्टर्ड भाडा बढ्यो, कहाँको कति पुग्यो ?