रसुवागढी नाकाबाट धमाधम आउन थाल्यो सामान, ३ दिनमै भित्रिए ५६ कन्टेनर

रसुवा । रसुवागढी नाकाबाट चिनियाँ सामग्री आयात हुन थालेपश्चात सीमा क्षेत्रको चहलपहल बढ्न थालेको छ ।

केरूङ क्षेत्रमा कोभिड सङ्क्रमण बढेको जनाउँदै चिनियाँ पक्षले गत साउन २१ देखि आफ्नो सीमानाका बन्द गराएको थियो । आयात पुनः सञ्चालन भएसँगै सुनसान रहेको रसुवागढी क्षेत्रमा सवारी चालक तथा सामान पल्टी गर्ने कामदारको बाक्लो उपस्थितिले चहलपहल बढाएको हो ।

गत भदौ ३० बाट आयात पुनः सुरु भएपश्चात तीन दिनको अन्तरालमा ५६ चिनियाँ मालवाहक कन्टेनरले रसुवागढीस्थित नेपाली भू–भागमा मालसामान ल्याइरहेको सीमा सुरक्षाकर्मीले बताएका छन् । गत बिहीबार १४, शुक्रबार तथा शनिबार २१–२१ चिनियाँ कन्टेनरले रसुवागढीमा मालसामान ल्याएका बताइएको छ ।

सामान आयातमा विगतको अभिलेख हेर्दा दैनिक १४ कन्टेनरमात्र पठाइरहेको चिनियाँ भन्सारले पछिल्लो समय २१ कन्टनेरबाट सामान उपलब्ध गराएको जनाइएको छ । यसबाट उपभोक्ताको माग आपूर्तिमा सहज भएको तथा पालो कुरेर बेरोजगार बसिरहेका यहाँका सयौँ सवारी चालकलाई थप रोजगारी मिलेको छ ।

बडादशैँलाई केन्द्रित गरी नेपाली व्यवसायीले आयात गराएको सामग्रीमध्ये दुई कन्टेनर दाँतेओखर र ४६ कन्टेनर तयारी पोशाक रहेको प्रहरीले जनाएको छ । यस्तै अन्य सात कन्टेनरमा भने नेपालमा सञ्चालित विभिन्न जलविद्युत् आयोजनाका सामग्री रहेको भन्सार अधिकारीले जनाएका छन् ।

व्यापारीलाई परेको मर्का समाधान गरी रोकिएर बसेको सामग्री कूटनैतिक पहलबाट दशैँअगावै आयात गर्न सहजीकरण गरिदिने परराष्ट्रमन्त्रीलगायत सबै अधिकारीमा व्यापारीका तर्फबाट धन्यवाद ज्ञापन गरिएको व्यवसायी धर्म पौडेलले जानकारी दिए ।

नेपाल भित्रिएका सामान ढुवानीका लागि सयौँ कन्टेनर रसुवागढी तथा टिमुरे क्षेत्र पुगिसकेको र चिनियाँ एक कन्टेनर सामग्रीले नेपाली दुई कन्टेनरलाई वजन पुग्ने सीमा प्रहरीले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी नवराज जैसीले चीनबाट आयात भएका सामग्री पासाङल्हामु मार्ग अवरूद्व भएपछि सबै कन्टेनरलाई स्याफ्रु, मैलुङतर्फबाट काठमाडौँ पठाइएको बताए ।

भारी वर्षाका कारण मैलुङ खण्डको जीर्ण राजमार्गलाई गल्छी, त्रिशूली, रसुवागढी सडक सुधार आयोजनाको रेखदेख गरिरहेको छ । अर्कोतर्फ समस्या पर्दा २१६ मेगावाट अपरत्रिशूली वान जलविद्युत् आयोजनाको समेत सहयोग मिल्ने भएका कारण मालवाहक कन्टेनर डिब्बा मैलुङतर्फबाट काठमाडौँ पठाइएकोे छ ।

गत साउन २४ गते रातिको वर्षाले क्षतिग्रस्त रसुवाको बनुवा घुम्ती खण्डको पासाङल्हामु मार्ग भने छिटो छरितो पुनःनिर्माण भइरहेको डिभिजन सडक कार्यालय नुवाकोटले जनाएको छ । ग्याबियन जाली भर्ने काम ८५ प्रतिशत पूरा भएको प्राविधिकले जानकारी दिएका छन् । सडक सतहमा माटो भर्ने, रोलरले माटो थिच्ने र ढुङ्गा सोलिङ गर्ने प्रक्रिया अगाडि बढेको बताइएको छ ।

बनुवा घुम्तीको पासाङल्हामु मार्ग बन्द भएपश्चात् उत्तरी रसुवाको विकास निर्माणका कार्य ठप्प हुनुका साथै उपकरण ढुवानी गर्न नपाउँदा निर्माणाधीन १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनासमेत प्रभावित भएको बताइएको छ ।

दुई लघुवित्तको सेयर कारोबार रोक्का Read Previous

दुई लघुवित्तको सेयर कारोबार रोक्का

घरजग्गा कारोबार आधा घट्यो, यी हुन् धेरै किनबेच भएका ठाउँ Read Next

घरजग्गा कारोबार आधा घट्यो, यी हुन् धेरै किनबेच भएका ठाउँ