काठमाडौं। नेपाल स्टक एक्स्चेन्ज (नेप्से)ले दुई लघुवित्तको सेयर कारोबार रोक्का गरेको छ ।
एकआपसमा मर्जरमा जाने सम्झौता गरेसँगै साना किसान विकास लघुवित्त वित्तीय संस्था र आरएमडीसी लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार रोक्का भएको हो ।
थोक (होलसेल) कर्जा प्रदायक दुई लघुवित्त संस्थाहरु बीच शुक्रबार एकआपसमा मर्जरमा जाने सम्झौता गरेको थिए ।
सम्झौतापत्रमा साना किसानका अध्यक्ष खेमबहादुर पाठक, मर्जर उपसमितिका संयोजक उमेश लम्साल, आरएमडीसीका अध्यक्ष सुजाता जोशी र संयुक्त मर्जर समिति संयोजक भीमप्रसाद तिम्सिनाले हस्ताक्षर गरे ।
मर्जरपछि साना किसान आरएमडीसी लघुवित्त वित्तीय संस्थाको नामबाट कारोबार गर्ने सहमति भएको छ । दुई संस्थाबीच १००:८७ सेयर अनुपातमा मर्जर हुने सहमति भएको छ । मर्जरपछि आरएमडीसी लघुवित्तको १०० कित्ता सेयर ८७ कित्ता कायम हुनेछ ।
मर्जरपछि एकीकृत लघुवित्तको पूजी कोष ७ अर्बभन्दा बढी हुनेछ । हाल साना किसानको चुक्ता पूँजी १ अर्ब ५६ करोड र आरएमडीसीको १ अर्ब २४ करोड रुपैयाँ छ ।
मर्जरपछि हुने अन्तरिम सञ्चालक समितिमा खेमबहादुर पाठक अध्यक्ष, डा. शिवरामप्रसाद कोइराला प्रमुख कार्यकारी अधिकृत र ज्योतिचन्द्र ओझा नायब प्रमुख कार्यकारी अधिकृत पदमा रहने सहमति भएको छ। दुवै संस्थाका संस्थापक समूहबाट २/२ जना, सर्वसाधारण समूहबाट १/१ जना र १ जना स्वतन्त्र सञ्चालक रहने व्यवस्था मिलाइएको छ।