काठमाडौं । अमेरिकी डलर संचितिमा गिरावट आएको छ । पछिल्लो एक महिनाको अवधिमा राष्ट्रिय ढुकुटीबाट १२ करोड डलर घटेको छ ।
नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो महिना (साउन)को तथ्यांक अनुसार असारको तुलनामा डलर संचिति १२ करोडले घटेको हो ।
२०७९ असार मसान्तसम्म ९ अर्ब ५४ करोड डलर संचिति रहेकोमा साउन मसान्त आइपुग्दा १.२ प्रतिशतले कमी आई ९ अर्ब ४२ करोड कायम भएको राष्ट्र बैंकले जनाएको छ ।
यस्तै, कुल विदेशी मुद्रा संचितिमा पनि गिरावट आएको छ । २०७९ असार मसान्तमा रु.१२१५ अर्ब ८० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति रहेकोमा १.५ प्रतिशतले कमी आई २०७९ साउन मसान्तमा रु.११९७ अर्ब ८५ करोड कायम भएको छ ।
कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७९ असार मसान्तमारु.१०५६ अर्ब ३९ करोड रहेकोमा २०७९ साउन मसान्तमा ०.७ प्रतिशतले कमी आई रु.१०४९ अर्ब ११ करोड कायम भएको छ ।
बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७९ असार मसान्तमा रु.१५९ अर्ब ४१ करोड रहेकोमा २०७९ साउन मसान्तमा ६.७ प्रतिशतले कमी आई रु.१४८ अर्ब ७४ करोड कायम भएको छ । २०७९ साउन मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.९ प्रतिशत रहेको छ ।