काठमाडौं । अधिकांश नेपालीहरु खानामा अचार अनिवार्य जस्तै छ । केहीले घरमै बनाएर खाने गरेका छन् भने पछिल्लो समय बजारमा पाइने तयारी अचारको खपत बढ्दो छ ।
भाटभटेनी, बिगमार्ट, सेल्सबेरी, बीगमार्ट जस्ता सुपरमार्केटमा रेडिमेड अचारको विक्री बढ्दै गएको व्यापारीहरु बताउँछन् । पछिल्लो समय घरमा बनाउनेभन्दा पनि बजारमै पाइने रिडिमेड अचारको खपत बढ्दो छ ।
बजारमा विभिन्न भेराइटीका अचारहरु पाउन थालेपछि पछिल्लो समय प्रायजसोले घरमै आलु, मूला, काँक्रोको अचार बनाउनेभन्दा पनि बजारमा पाइने धेरै प्रकारको अचार खाना थालेका छन् । भान्छामा सधैं बन्नेभन्दा भिन्न स्वादमा बजारमा फरकफरक स्वादका अचार पाइने हुँदा अचारको मागसँगै भेराइटी पनि बढेको छ ।

अहिले बजारमा दर्जनौं भेराइटीका रेडिमेड अचार पाइन्छ । नेपालमै उत्पादन हुने गुन्द्रक, मूलादेखि नेपालमा उत्पादनै नहुने सामुन्द्रिक जीवहरुको मासुको समेत अचार पाइन्छ ।
बजारमा सामान्य मूला, काँक्रो, टिमुर, कागती, खुर्सानीदेखि मटन, चिनेक, बफ, पोर्क, सुकुटी, सिद्रा, प्राउन फिस हरेक परिकारको अचार पाइन्छ ।
बजारमा रेडिमेड अचारको माग बढेसँगै अचार मात्र उत्पादन गर्ने उद्योगहरु पनि खुल्न थालेका छन् । यसले कृषि उपजको खपतसँगै रोजगारी समेत बढाएको छ ।
कुन अचारको मूल्य कति ?
भाटभटेनीमा टिमुरदेखि चिकेन, मटन सबै प्रकारको अचार पाइन थालेका छन् । भाटभटेनीमा दशैंलाई लक्षित गर्दै १२५ रुपैयाँदेखि १८०० रुपैयाँ पर्ने अचार समेत विक्रीका लागि राखिएको छ ।
टिमुरको छोप २ सय ग्रामको ३०४ रुपैयाँ रहेको छ । अन्जिर (भुटुका) को चार ४०० ग्रामको १३२ रुपैयाँ रहेको छ । भेज मिक्स अचारको मूल्य १६५ रुपैयाँ रहेको छ ।

तामाको अकबरे मिसाएको अचार ३८० ग्रामको ५२० रुपैयाँमा विक्रीका लागि राखिएको छ । आपको मसला अचार ४५० ग्रामको १९० रुपैयाँ रहेको छ । कागतीको अचार ४०० ग्रामको १२५ रुपैयाँ मात्र रहेको छ । लसुनको अचार ४०० ग्रामको २१५ रुपैयाँ रहेको छ । तिते करेलाको अचार ४०० ग्रामको १६५ रुपैयाँ रहेको छ ।
त्यसैगरी, बफ ड्राइ मिट २५० ग्रामको ९६० रुपैयाँ रहेको छ । माछाको अचार २०० ग्रामको ४२५ रुपैयाँ रहेको छ । बफ टिमुरको छोपको ३०० ग्रामको ६३७ रुपैयाँ रहेको छ । पोर्कको ४०० ग्रामको ४४० रुपैयाँ रहेको छ। चिकेनको अचारको मूल्य ८७४ रुपैयाँ रहेको छ । मटनको अचार ४०० ग्रामको १ हजार ८०० रुपैयाँ रहेको छ ।
त्यस्तै, प्राउन माछाको अचार २०० ग्रामको ३१० रुपैयाँ रहेको छ । झिङगे माछा लसुन हालेको अचारको २०० ग्रामको ३८० रुपैयाँ रहेको छ । बफको अचार ४०० ग्रामको ९६५ रुपैयाँ रहेको छ ।