काठमाडौं । नेपाल राष्ट्र बैंकले प्रभु बैंक र सेन्चुरी बैंकलाई प्राप्ति (एक्वायर)का लागि सैद्धान्तिक सहमति दिएको छ । साउन १५ मा बसेको राष्ट्र बैंकको संञ्चालक समिति बैंठकले एक्विजीसनका लागि सहमति दिएको हो ।
दुई बैंक बीच १ः१ सेयर अनुपातमा एक्वायर गरिने सम्झौता साउन १५ मा भएको थियो । सम्झौताअनुसार मर्जरपछि बन्ने संस्थाको नाम प्रभु बैंक हुनेछ । सञ्चालक समितिको अध्यक्षमा सेञ्चुरी बैंकका अध्यक्ष राजेश श्रेष्ठ हुनेछन् ।
यस्तै प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रभु बैंकका सीईओ अशोक शेरचन र सेञ्चुरी बैंकका सीईओ मनोज न्यौपाने डेपुटी सीईओ बन्ने सम्झौता भएको थियो ।
सञ्चालक समितिमा ४ जना प्रभुबाट र तीन जना सेन्चुरीबाट रहने सहमति भएको छ । हाल प्रभु बैंकको चुक्ता पूँजी १२ अर्ब ७० करोड रुपैयाँ छ भने सेन्चुरीको ९ अर्ब ५५ करोड रुपैयाँ छ । बराबरी सेयर हैसियतमा मर्जर हुँदा नयाँ बैंकको चुक्ता पूँजी २२ अर्ब २५ करोड रुपैयाँ पुग्नेछ ।
नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत मर्जरमा गई एकीकृत कारोबार गर्ने बैैंक तथा वित्तीय संस्थाले मात्रै छुट तथा सुविधाहरु पाउने व्यवस्था गरेको छ। सोही व्यवस्था अनुसार छुट सुविधा पाउन दुई बैंक मर्जरमा गएका हुन् ।