काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिना(साउन)मा जीवन बीमा कम्पनीको व्यवसाय घटेको छ । गत वर्षको मसान्तदेखि सुस्ताएको अर्थतन्त्र, वित्तीय प्रणालीमा तरलता अभाव र जथाभावि बीमा पोलिसी विक्री गरेर सरेन्डर गर्नेक्रम बढ्दा व्यवसाय घटेको हो ।
बीमा समितिले सार्वजनिक गरेको तथ्यांक अनुसार साउनमा १९ वटा जीवन बीमा कम्पनीको बीमा शुल्क संकलन ९.३५ प्रतिशतले घटेर १५ अर्ब ५ करोड रुपैयाँमा सीमित भएको छ ।
गत वर्षको सोही अवधिमा बीमा कम्पनीहरुले १६ अर्ब ६१ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका थिए । नयाँ कम्पनीहरुको व्यवसाय बढ्दा पछिल्लो समय पुराना कम्पनीहरुको व्यवसाय लगातार खस्कदो छ ।
बीमा क्षेत्रमा भइरहेको अस्वस्थ प्रतिस्प्रर्धाले यसको पहुँच विस्तारको साटो पोलिसी सरेन्डले उल्लेख्य रुपमा बढ्न सकेकोे छैन् । कम्पनीहरु सहरी क्षेत्रमा केन्द्रीत हुँदा ठूलो मात्रामा ग्रामीण क्षेत्रको जनसंख्या बीमाको दायरा बाहिर छ । गत महिना मात्र कम्पनीहरुले ७ लाख १० हजार बीमालेख जारी गरेको समितिले जनाएको छ ।
यस अवधिमा सबैभन्दा धेरै व्यापार बढाउनेमा लाईफ इन्स्योरेसन कर्पोरेसन नेपाल रहेको छ । यस कम्पनीले गत साउनको तुलनामा ८८.४९ प्रतिशतले बीमा शुल्क संकलन वृद्धि गरेर १ अर्ब ८८ करोड रुपैयाँ पुर्याएको छ । साउनमा सबैभन्दा धेरै व्यवसाय घट्नेमा राष्ट्रिय बीमा संस्थान रहेको छ ।
यस कम्पनीको बीमा शुल्क ३ अर्ब ७३ करोड रुपैयाँबाट ८६.५४ प्रतिशतले घटेर ५० करोडमा सिमित भएको छ । यसैगरी प्रभु इन्स्योरेन्सको व्यवसाय ३०.९८,रिलायबल नेपालको २.६३ र मेट लाईफको १.३८ प्रतिशतले घटेको छ ।
जीवन बीमा कम्पनीमा आक्रामक व्यवसाय विस्तार गदै आएको नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको व्यवसाय साउनमा ०.२९ प्रतिशतले मात्र बढेको छ । गत वर्षको नाफा समेत उल्लेख्य गिरावट आएको यस कम्पनीले पछिल्लो समय व्यवसाय विस्तार गर्न सकेको देखिदैन् ।

नयाँ बीमा कम्पनीहरुले बजारमा प्रभाव जमाउँदा लामो स्थापित कम्पनीको व्यवसायमा लगातार गिरावट आइरहेको छ । एजेन्टहरुले जथाभावि बीमा लेख विक्री गर्ने र सो लेख बिचमै सरेन्डर गर्दा बीमा शुल्कमा धक्का पुगेको देखिन्छ । कम्पनीले गत साउनमा ४ अर्ब ७७ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको छ ।
गत वर्षको सोही अवधिमा यस कम्पनीले ४ अर्ब ७६ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको थियो । सो महिना कम्पनीले ८ हजार ३०१ बीमा लेख जारी गरेको समितिको तथ्यांकले देखाउँछ ।
कुन कम्पनीले कति गरे प्रिमियम संकलन ?
सबैभन्दा धेरै प्रिमियम संकलन गर्नेमा नेपाल लाइफ इन्स्योरेन्स पहिलो नम्बरमा छ । दोस्रोमा नेपाल इन्स्योरेन्स कर्पोरेसनले १ अर्ब ८८ करोड रुपैयाँ संकलन गरेको छ ।
यसैगरी, सबैभन्दा कम बीमा शुल्क संकलन गर्नेमा महालक्ष्मी लाइफ पहिलोमा छ । यस कम्पनीले १६ करोड रुपैयाँ संकलन गरेको छ । यसैगरी,सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले १८ करोड रुपैयाँ रकम संकलन गरेको छ ।
प्रभु लाइफले २३ करोड,रिलायबल नेपाल २९ करोड,रिलायन्स ३०,गुँरास ४०, मेट लाइफ ४८, आइएमई ३८,प्राइम ४६, ज्योती ४० र सन नेपाल लाइफ इन्स्योरेन्सले ३९ करोड रुपैयाँ साउनमा बीमा शुल्क संकलन गरेको छन् ।