नारायणगढ-बुटवल सडकमा काम नगर्ने ठेकेदारलाई ‘उपहार’, १ वर्ष म्याद थप

काठमाडौं । नारायणगढ–बुटवल सडक विस्तारको ठेक्का अवधि १ वर्ष थप गरिएको छ । काम सम्पन्न गर्नुपर्ने बेलासम्म जम्मा १८ प्रतिशत काम सके पनि चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनको म्याद पुनः १ वर्ष थपिएको हो ।

निर्माण कम्पनीले नारायणगढ–बुटवल खण्डको विस्तारको काम २०७९ साउन २२ गतेभित्र सक्नु पर्ने थियो । सम्झौता म्याद सकिँदा समेत १८.४४ प्रतिशत मात्र भौतिक प्रगति गरेको उक्त कम्पनीको ठेक्का अवधि सरकारले थप गरेको हो । २०७५ चैतमा ठेक्का पाएको चाइना स्टेट कन्स्ट्रक्सनले सम्झौताको म्याद सकिए पछि पुनः १ वर्षका लागि म्याद थपिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पूर्वी खण्डमा ३८६ र पश्चिम खण्डका लागि ३६५ दिनका दागि म्याद थप गरिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राईले एक पटकका लागि वार्निङ मात्र दिइए पनि दोस्रो पटक समेत काम नगरे ठेक्का तोड्ने बताएका छन् ।

‘नारायणघाट बुटवलमा काम धेरे सुस्त भएको हो, हामीले विदेशी ठेकेदार कम्पनी भएकाले पहिलो पटकमा वार्निङ दिएका छाैं, भनेको मानेन र समयमा काम नसक्ने हो भने ठेक्का रद्द गरेर आफ्नै लगानीमा भए पनि बनाउछाैं, ’ मन्त्री राईले भने ।

यस आयोजना अन्तर्गत हालसम्म २४ किलोमिटर सडक चौडाइ मात्र ग्राबेल भएको छ । आयोजना निर्देशक शुशिलबाबु ढकालले ठेकेदारको लापरबाहीका कारण सडकहरू व्यवस्थित रूपमा निर्माण हुन नसकेको बताए । उनले विदेशी निर्माण कम्पनी भएकाले तत्काल ठेक्का तोडिए पनि धेरै चुनौती भएका कारण १ वर्षका लागि म्याद थपेर काम अगाडि बढाइएको बताए ।

आयोजना अन्तर्गत ११३ किलोमिटर सडक विस्तार गर्ने लक्ष्य रहेको थियो । सो मध्ये हालसम्म २८ किलोमिटर सडक मात्र ग्राभेल गरिएको छ । अन्य स्थानहरूमा सडक खनेर अलपत्र पारिएको छ ।

आयोजनाको पूर्वी खण्डमा चाइना स्टेट कन्सट्क्सन इन्जिनीयरिङ कर्पोरेसनले ९ अर्ब १३ करोड रुपैयाँ लगानीमा ठेक्का पाएको थियो । उक्त खण्डमा कुल ६४.४ किलोमिटर लम्बाइ रहेको छ । जसमा शहरी क्षेत्रमा १७.६ लिोमिटर, गैर शहरी क्षेत्रमा ४२.७ किलोमिटर, दाउन्ने सेक्सनमा ४.१ किलोमिटर र बक्स कल्भर्ट २१४ वटा रहेको छ ।

पूर्वी खण्डमा १७.७३ प्रतिशत भौतिक प्रगति भएको छ । वित्तीयतर्फ १५.१७ प्रतिशत यानी १ अर्ब ३८ करोड रुपैयाँ खर्च भइसकेको छ । यस खण्ड अन्तर्गत २१५ वटा कल्भर्ट मध्ये १३१ वटा कल्भर्ट सम्पन्न भएको छ । २२ वटा मध्ये १५ वटा माइनल पुल निर्माण पूरा भएको आयोजनाले जनाएको छ । १२ वटा मध्ये १० वटा मेजर पुल निर्माणाधीन अवस्थामा रहेका छन् भने २ वटाको निर्माण पूरा भइसकेको छ ।

यस्तै, पश्चिम खण्डमा सोही कम्पनीले ७ अर्ब ८६ करोड रुपैयाँ भ्याटसहित लागतमा निर्माणका लागि ठेक्का पाएको छ । सो खण्डमा १९ प्रतिशत मात्र भौतिक प्रगति भएको छ । यस खण्डमा १०.७१ प्रतिशत वित्तीय खर्च भएको छ । उक्त रकम ८९ करोड ५७ लाख रुपैयाँ हुन आउनछ ।

यस आयोजना अन्तर्गत १२० कल्र्भट मध्ये ७९ वटा कल्भर्ट सम्पन्न गरिएको छ । २१ वटा माइनर पुल मध्ये १३ वटा पुल सम्पन्न गरिएको आयोजनाले जनाएको छ । यस खण्डमा पर्ने ९ वटा मध्ये ६ वटा मेजर पुलहरू निर्माणाधीन अवस्थामा रहेका छन् भने ३ वटा पुल निर्माण पूरा भइसकेको छ ।

यस खण्डमा कुल ४८.५ किलोमिटर लम्बाइमा काम भइरहेको छ । सो मध्ये शहरी क्षेत्रमा ११.६ किलोमिटर पर्छ । गैर शहरी क्षेत्रमा २७ किलोमिटर पर्छ भने दाउन्ने सेक्सनमा ९.९ किलोमिटर सडक विस्तार गर्नुपर्नेछ । यस खण्डमा कुल ३० वटा पुलहरू रहेका छन् भने २२८ वटा कल्भर्ट रहेका छन् ।

एडीबीको ऋण सहयोगमा निर्माणाधीन रहेकोमा यस आयोजनालाई दातृ निकायबाट ऋण समाप्ति मिती २०२४ जुलाई ३० गतेसम्मका लागि थप गरिएको छ । २०१८ डिसेम्बर १९ मा ठेक्का सम्झौता भई ठेक्का पाएको उक्त कम्पनीले २०१९ फ्रेब्रुअरी ७ बाट मात्र आयोजनाको फिल्डमा काम सुरु गरेको थियो ।

आयोजनाको म्याद २०२२ अगस्ट ७ गतेसम्मका लागि मात्र थियो । उक्त म्याद सकेपछि कोभिडका कारण काम गर्न नसकेकोमा १ वर्ष म्याद थप भई थप १ वर्ष काम गर्न पाउने व्यवस्था गरिएको छ ।

 

जीवन बीमा कम्पनीको प्रिमियम संकलन ९ प्रतिशतले घट्यो, कुनको कति  ? Read Previous

जीवन बीमा कम्पनीको प्रिमियम संकलन ९ प्रतिशतले घट्यो, कुनको कति ?

श्रृजनशील लघुवित्तको आइपीओ भर्ने आज अन्तिम दिन Read Next

श्रृजनशील लघुवित्तको आइपीओ भर्ने आज अन्तिम दिन