काठमाडौं । आधा दर्जन लघुवित्त वित्तीय संस्थाहरुले थप साधरण सेयर (एफपीओ) निष्काशन गर्न नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन् । मर्जर तथा प्राप्तिमा गएका लघुवित्तहरुले संस्थापक र साधरण सेयरको अनुपात मिलाउन एफपीओ निष्काशन गर्न लागेका हुन् ।
हालको व्यवस्था अनुसार लघुवित्तहरुमा कम्तीमा ३० प्रतिशत साधरण सेयर हुनुपर्ने व्यवस्था छ । मर्जर तथा प्राप्तिमा गएका लघुवित्तहरुको उक्त अनुपात नपुग्ने भएकाले एफपीओ जारी गरी सेयर संरचना मिलाउन लागेका हुन् ।
एफपीओ निष्काशन गर्न बोर्डमा किसान लघुवित्त, मिर्मिरे लघुवित्त, युनिक नेपाल लघुवित्त, उन्नति सहकार्य लघुवित्त, समता घरेलु लघुवित्त र नयाँ सारथी लघुवित्त वित्तीय संस्थाले आवेदन दिएका हुन् ।
६ लघुवित्तले कुल ३२ करोड २० लाख ३ हजार रुपैयाँ बराबरको २५ लाख २६ हजार ५४१ कित्ता एफपीओ जारी गर्न आवेदन दिएका हुन् । ६ मध्ये ५ लघुवित्तले अंकित मूल्य १०० रुपैयाँमा थप प्रिमियम जोडेर एफपीओ जारी गर्न लागेका हुन् ।
कुनको कति कित्ता आउँदै ?
एनआरएन र दिव्या लघुवित्तलाई आफूमा गाभेको किसान लघुवित्तले प्रतिकित्ता १२५ रुपैयाँ दरले १२ लाख ९८ हजार २५९ कित्ता सेयर निष्काशन गर्न माग गरेको हो ।

त्यसैगरी, बुद्धज्योति र नागबेली लघुवित्तलाई प्राप्ति गरेको मिर्मिरे लघुवित्त वित्तीय संस्थाले प्रतिकित्ता १७७.८ रुपैयाँमा ५१ हजार ३१६ कित्ता एफपीओ निष्काशन गर्ने भएको हो ।
त्यस्तै, घोडाघोडीसँग मर्जर गरेको युनिक नेपाल लघुवित्तले अंकित मूल्य १०० रुपैयाँमा ३ लाख ७९ हजार ४२५ कित्ता, उन्नति लघुवित्त र सहकार्य लघुवित्त मर्ज भइ बनेको उन्नति सहकार्य लघुवित्तले प्रतिकित्ता १५९ रुपैयाँमा १ लाख ७८ हजार ४५१ कित्ता एफीओ निष्काशन गर्न बोर्डमा आवेदन दिएको छ ।
त्यसैगरी समता लघुवित्त र घरेलु लघवित्त मर्जर भई बनेको समता घरेलु लघुवित्तले १५९.०७ रुपैयाँमा २ लाख ८९ हजार ४४० कित्ता र नयाँ नेपाल लघुवित्त र सारथी लघुवित्त बीच मर्ज भई बनेको सारथी नेपाल लघुवित्तले प्रतिकित्ता ११६ रुपैयाँमा ३ लाख २९ हजार ६४९ कित्ता एफपीओ निष्काशन गर्न लागेको हो ।