काठमाडौं महानगरले संचालनमा ल्यायो अत्याधुनिक दमकल, यस्ता छन् विशेषता

काठमाडौं । काठमाडौँ महानगरपालिकाले विपद व्यवस्थापन विभागलाई नयाँ दमकल हस्तान्तरण गरेको छ । काठमाडौंका मेयर बालेन्द्र शाह (बालेन)ले विभागलाई नयाँ दमकलको साँचो हस्तान्तरण गरेका हुन् ।

उनले दमकल हस्तान्त्रणका क्रममा आगलागीजन्य विपदलाई तत्काल सम्बोधन गर्न दमकल सेवालाई विस्तार गर्ने भएका थिए ।

दमकल खरिदका लागि २०७७ फागुन महिनामा बोलपत्र आह्वान गरिएको थियो । त्यसमा इन्डोनेसियामा काम गरिरहेको जर्मन कम्पनी जिग्लर इन्डोनेसिया छनोट भएको थियो । कम्पनीले करबाहेक ७ करोड २१ लाख रुपैयाँ मूल्यमा इन्डोनेसियाबाटै सामान पठाएको हो ।

नयाँ दमकलको इञ्जिन क्षमता २७० हर्सपावर हो । दमकलमा प्रतिमिनेट ३ हजार लिटर पानी तान्न र फाल्न सक्ने क्षमता छ । यस्तै ६० मिटर टाढासम्म पानीको फोहोरा हान्न सक्छन् । एकैपटक ४ वटा डिस्चार्ज लाइनबाट प्रेसरका साथ पानी फाल्न र २ वटा सक्सन लाइनबाट पानी तान्न सक्छन् ।

३ हजार लिटर पानी र ५०० लिटर फोमको ट्याङक रहेको दमकलले पानीमा फोम आफैँ मिसाउन सक्छ । पानी फाल्ने मोनिटर ३६० डिग्रीमा वरिपरि घुमेर र ८० डिग्री सिधा माथि पानी फाल्न सक्छ । ८ हजार किलोग्रामभन्दा धेरै तौल भएका यी दमकलहरु एन्टिलक ब्रेक सिस्टक (एबीयस) हुन् । ३ वर्ष वारेन्टी भएका दमकलहरूमा एबीसी टाइपका फायर इस्टीङग्वीसर, ४ वटा ब्रिदिङ् एपारटर्स, ५ मिटर लामा २ वटा अल्मुनियमका भर्याङ्, २ हजार वाट क्षमताको एउटा जेनेरेटर, २ वटा स्पट लाइट, नाइलनको डोरी, पाइप तथा नोजल लगायत सामाग्री तथा उपकरण छन् ।

८ मिटर लम्बाइ र २.५ मिटर चौडाइ भएका दमकलले घरमा लागेको, पेट्रालियम पदार्थ लागेको र ग्याँसमा लागेको आगो निभाउन सक्छन् ।

घना बस्ती भएकाले काठमाडौँ आगलागी जस्ता विपदका कोणबाट जोखिममा छ । आगलागीका समयमा क्षति कम गराउन काम गर्नुपर्ने पक्षसँगै अग्नि दुर्घटना हुनै नदिनु सबै भन्दा उत्तम विकल्प हो । विपद व्यवस्थापन विभागका प्रमुख रविनमान श्रेष्ठ भने, ‘विभागले सचेतनाका कार्यक्रममार्फत घटना हुनै नदिनेतर्फ ध्यान दिएको छ ।‘

नयाँबाहेक महानगरसँग अहिले पूर्ण क्षमतामा काम गर्न सक्ने २ वटा र सहयोगका लागि प्रयोगमा ल्याउन सकिने ३ वटा गरी ५ वटा दमकल सञ्चालनमा छन् । जुद्धबारुण यन्त्र कार्यालय काठमाडौँका प्रमुख चन्दन श्रेष्ठकाअनुसार नयाँ सडक बारुण यन्त्र कार्यालयमा एउटा पूर्ण क्षमताको र २ वटा सहयोगका लागि प्रयोग गर्न सकिने दमकल छन् । त्यस्तै रामहिटीमा एउटा पूर्ण क्षमताको र एउटा सहयोगका लागि प्रयोग गर्न सकिने दमकल छन् ।

त्यस्तै ३० मिटरको लामो एउटा र २५ मिटर लामो एउटा गरी २ वटा ल्याडर छन् । रेस्क्युका लागि एउटा ट्रक र एउटा जीप छन् । जनशक्ति ओसारपसार गर्न एउटा भ्यान र एउटा जीप छन् । यसैगरी ५ वटा फायर मोटरसाइकल सञ्चालनमा छन् । दकमलमा पानी थप्न एउटा पानी ट्याङकर छ । यस्तै पानी तानेर फाल्नका लागि ५ वटा पम्प छन् ।

बजारमा दूधको अभाव, भारतबाट आयात गर्न माग Read Previous

बजारमा दूधको अभाव, भारतबाट आयात गर्न माग

बुटवलमा बहुतले पार्किङ बन्ने, अध्ययन अघि बढ्यो Read Next

बुटवलमा बहुतले पार्किङ बन्ने, अध्ययन अघि बढ्यो