बुटवलमा बहुतले पार्किङ बन्ने, अध्ययन अघि बढ्यो

काठमाडौं । बुटवलमा बहुतले पार्किङस्थल निर्माणका लागि अध्ययनको प्रक्रिया अघि बढेको छ ।

बुटवल उपमहानगरपालिका, नगर विकास कोष र परामर्शदाता कम्पनीका बीचमा विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयारीका लागि सम्झौता भएको छ ।

बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयको उपस्थितिमा प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थी र परामर्शदाता कम्पनी मल्टिडेफोर्ट हार्मोनिक जेभीका प्रतिनिधि विजयलाल न्याछ्योंबीच सम्झौता भएको हो ।

सम्झौताअनुसार परामर्शदाता कम्पनीले बुटवलस्थित लुम्बिनी बस टर्मिनलको क्षेत्रभित्र बहुतले कार पार्किङका लागि लगानी र डिजाइनको काम गर्ने बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पन्थीले जानकारी दिए ।

बस टर्मिनल क्षेत्रको दक्षिणपट्टिको भागमा बहुतले पार्किङ भवन बनाउनका लागि लागत र डिजाइन तयार भइसकेपछि पुनःनिर्माणका लागि बोलपत्र प्रक्रिया अघि बढाउने उनले बताए । कोषको ९० प्रतिशत लगानी र उपमहानगरपालिकाको १० प्रतिशत लगानी हुने गरी बुटवलमा बहुतले पार्किङ तयार हुने उनको भनाइ छ ।

परामर्शदाता कम्पनीले चार महिनाभित्र बहुतले पार्किङको ‘डिजाइन स्टिमेट’ र बोलपत्र ‘डकुमेन्ट’समेतको काम गर्ने सहरी पूर्वाधार महाशाखा प्रमुख सुमन श्रेष्ठले बताए ।

बुटवलमा बढ्दो सहरीकरणका कारण बढ्दै गएको ट्राफिक व्यवस्थापनका लागि बहुतले पार्किङस्थल उपयोगी हुने उपमहानगरपालिका प्रमुख पाण्डेयले बताए। उनले भने, ‘बुटवलमा बहुतले पार्किङ भवन आवश्यक भएकाले संयुक्त लगानीमा भवन निर्माण हुने छ ।

काठमाडौं महानगरले संचालनमा ल्यायो अत्याधुनिक दमकल, यस्ता छन् विशेषता Read Previous

काठमाडौं महानगरले संचालनमा ल्यायो अत्याधुनिक दमकल, यस्ता छन् विशेषता

४४६ स्थानीय तहमा पूर्ण विद्युतीकरण, ३५ पालिकामा अझै पुगेन बिजुली Read Next

४४६ स्थानीय तहमा पूर्ण विद्युतीकरण, ३५ पालिकामा अझै पुगेन बिजुली