काठमाडौं । चाडपर्वको सिजन सुरु भएसँगै बजारमा दूधको अभाव हुन थालेको छ । अन्य समयभन्दा चाडपर्वको सिजनमा दूधको खपत धेरै हुन्छ । मागको तुलनामा उत्पादन बढ्न नसक्दा बजारमा दूधको अभाव हुन थालेको हो ।
साउनपछि बजारमा दूधको माग बढेको व्यवसायीहरु बताउँछन् । धेरैले साउनमा माछामासु नखानुका साथै अन्य चाडपर्व पनि लगातार परिरहेकाले दूधको माग बढेको हो ।
हाल देशभर दैनिक करिब १० लाख लिटर दूधको माग भए पनि ७ देखि ८ लाख लिटर मात्र दूध संकलन भइरहेको छ । मागभन्दा २ लाख लिटर दूध अपुग भइरहेको राष्ट्रिय दुग्ध विकास बोर्डले जनाएको छ ।
बजारमा मागको तुलनामा २० प्रतिशत दूध अपुग भएको सरकारी स्वामित्वको डेरी दुग्ध विकास संस्थान (डीडीसी)ले जनाएको छ । डीडीसीका महाप्रबन्धक सञ्जीव झा दूधको माग धान्न धौधौ परिरहेको बताउँछन् ।
उनले वैशाख यता दूधको माग पूरा गर्न नसकेको बताए । विगतमा दैनिक १ लाख ८० हजार लिटर दूध बजारमा पठाउने गरेको भए पनि हाल अभावका कारण १ लाख १० हजार लिटर मात्रै पठाउने गरेको उनले बताए ।
‘अहिले चाडवाडको सिजन छ । यो समयमा दूधको खपत गाउँगाउँमा बढ्ने भएको कारणले हो, माग अनुसारको दूध बजारसम्म पर्याउन सकिरहेको छैन,’ महाप्रबन्धक झाले चाणक्य पोष्टसँग भने ।
उनका अनुसार पछिल्लो समयमा डीडीसीसँग धुलो दूध र चिज स्टकमा नहुँदा समेत दूधको माग पूरा गर्न सकिएको छैन । कोभिडको समयमा दूधको खपत घटेर पाउडर दूध र चिजको स्टक धेरै भएर घाटामा पुगेको डीडीसीले हाल भने पाउडर दूध र चिज एक थोपै बाँकी नरहेको उनले बताए ।
भारतबाट ल्याउन माग
स्वदेशमा उत्पादित दूधले माग धान्न नसकेपछि दुग्ध उद्योगीहरूले भारतबाट आयातका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयसँग माग गरेका छन् ।राष्ट्रिय दुग्ध विकास बोर्डका प्राविधिक निर्देशक बालक चौधरीले माग पूरा गर्न भारतबाट दूध ल्याउन माग गरिएको बताए ।
उनले दुग्ध उद्योगीहरूले केही साता अघि मात्र कृषि मन्त्रालयमा पत्र पठाएको बताए । ‘दूधको अभाव पूरा गर्न उद्योगीहरूले केही समयका लागि दूध आयात गरी पाउँ भनेर मन्त्रालयमा माग गरेका छन्,’ चौधरीले भने, ‘अब उद्योगीको माग बारे कृषि मन्त्रालयले उद्योग वाणिज्य मन्त्रालयलाई पत्र पठाउने छ ।’
डीडीसीका महाप्रबन्धक झा भारतबाट काँचो दूध ल्याएर प्रशोधन गरेर भए पनि माग पूरा गर्नु पर्ने बताउँछन् । ‘दूधको अभाव पूर्ति गर्न भारतबाट झोल दूध आयात गर्न मन्त्रालयमा पत्र पठाएका छौँ,’ उनले भने ।
व्यवसायीले दूध आयातका लागि माग गरे पनि अनुमति पाउने/नपाउने भन्ने टुंगो भने उद्योग वाणिज्य मन्त्रालयले लगाउने छ । हाल नेपालमा दूध आयात प्रतिबन्ध छ ।