काठमाडौं । सेयर बजारमा सामान्य गिरावट आएको छ । बुधरबार २२ अंकले घटेको नेप्से आज ३० अंकको उतरचढावका बीच १ अंकले घटेर बन्द भएको छ ।
बजार खुलेदेखि लगातार ओरालो लागेको नेप्से २० अंकले घटेको थियो भने २:४५ बजेसम्म १० अंकले बढेको थियो । फेरि ओरालो लागेको नेप्से १ अंकले घटेको हो ।
बिहीबार नेप्से १.०८ अंकले घटेर १९७२.२९ विन्दुमा आइपुगेको छ । नेप्सेका अनुसार २२५ कम्पनीको १ अर्ब ३८ करोड ३४ लाख ६२ हजार १६२ रुपैयाँ बराबरको ३९ लाख ५५ हजार ८८६ कित्ता सेयर किनबेच भएको छ ।
आज कारोबारमा आएका १३ वटा उपसमूहमध्ये ७ समूहको परिसूचक बढेको छ भने ६ समूहको घटेको छ । फाइनान्स समूह सबैभन्दा धेरै १.३१ प्रतिशतले बढेको छ ।
आज नेपाल टेलिकमको सर्वाधिक कारोबार भएको छ । यसको १२ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ । त्यस्तै, हिमालयन एभरेष्ट इन्स्योरेन्सको साढे ५ करोड र नेष्डो लघुवित्त पौने ५३ करोड बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।
झिनो अंकले घटेको बजारमा आज हिमालयन एभरेष्ट इन्स्योरेन्सको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यसका सेयरधनीले ठ्याक्कै १० प्रतिशत कमाएका छन् ।
त्यसैगरी, अपर हेवाखोला ६.५८, महुली लघुवित्त ५.८४, सप्तकोशी डेभलपमेन्ट बैंक ५.२२, प्रोग्रेसिभ फाइनान्स, लिबर्टी इनर्जी र बिन्ध्यवासिनी हाइड्रोपावरको सेयर मूल्य साढे ३ प्रतिशतले बढेको छ ।